काठमाडौं, २७ फागुन । विकास खर्च गर्न अख्तियारलाई रिझाउनु पर्ने अभिमतसहित विभिन्न सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचारप्रति अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘आयोग र आयोगका माननीय प्रमुख आयुक्त स्वयम्ले बारम्बार अख्तियार विकासको बाधक नभई साधक भएको तथ्य स्पष्ट पारिरहँदासमेत राष्ट्रिय अङ्गका कतिपय जिम्मेवार व्यक्ति र निकाय, आयोगलाई विकास विरोधी संस्थाका रूपमा दोषी औँला देखाउने गैरजिम्मेवार प्रवृत्तिबाट ग्रस्त हुनु आफैँमा विडम्बनापूर्ण छ ।’
विज्ञप्तिमा जनताको खुन–पसिनाबाट निर्मित राष्ट्रिय ढुकुटीबाट विकासका निम्ति विनियोजन गरिने एक/एक पैसाको समुचित रूपमा समन्यायिक ढङ्गबाट खर्च हुनुपर्दछ र यसमा लक्ष्यित वर्गको सहज पहुँच हुनुपर्दछ भन्ने आयोगको स्पष्ट मान्यता रहिआएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजनाहरूको सञ्चालनका सन्दर्भमा समयमा निर्णय नगर्ने, निर्णयहीन अवस्थामै रहने वा दुराशयपूर्ण निर्णय गर्ने पात्र र प्रवृत्तिका हकमा भने आयोग सर्वथा कडाभन्दा कडा कारबाहीको पक्षमा रहँदै आएको छ । निर्णय नगर्ने र नलिने प्रवृत्तिविरुद्धको आयोगको यो पक्षपोषण कदाचित विकास विरोधी होइन, विकास निर्माणको शीघ्रताको निम्ति हो ।’
कतिपय जिम्मेवार पदाधिकारीद्वारा नै राष्ट्रिय हित र चासोसँग सम्बन्धित विषयमा समेत समयमै उचित निर्णय लिनुभन्दा निर्णय नगर्नु बेस भन्नेजस्ता धारणा सार्वजनिक भइरहेको विषयलाई आयोगले गम्भीरतापूर्वक लिएको जनाएको छ ।
जिम्मेवार पदाधिकारीका यस्ता गैरजिम्मेवार अभिव्यक्तिलाई सरकारले समेत गम्भीरतापूर्वक लिनुपर्ने आयोगको ठम्याइ रहेको विज्ञप्तिमा उल्लेख छ ।
वस्तुतः जायज र समन्यायिक विकास खर्च र त्यसको वितरणका निम्ति सरकारले लिने कुनै पनि तत्परतामा आयोग समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको जनाउँदै आयोगले आयोगको विकासप्रेमी भाव विपरीत विकास विरोधीका रूपमा प्रस्तुत गर्ने गैरजिम्मेवार अभिमत र प्रवृत्तिप्रति दुःख व्यक्त गरेको छ ।
प्रतिक्रिया