काठमाडौं, १ बैशाख । प्रदुशषणको पर्याय मानिदै आएको बागमती नदीमा सरकारका उच्च अधिकारीले स्नान गरेका छन् । बागमती नदी सफाइ अभियान सुरु भएको एक वर्ष पुगेका अवसरमा आइतबार मुख्यसचिव लीलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा र सहरी विकास मन्त्रालयका सचिव किशोर थापालगायत अधिकारीले गुह्येश्वरी घाटमा स्नान गरेका हुन् । नदी सफा भएको सन्देश दिन आयोजित कार्यक्रममा सफाइ अभियानमा निरन्तर लागेका एक सयभन्दा बढीको सहभागिता थियो ।
नुहाउने कार्यक्रम गुह्येश्वरी घाटमा आयोजना गरिएको थियो । स्नान गर्नुअघि मुख्यसचिव पौड्यालले बागमती नदी सफाइमा निरन्तर लाग्ने प्रतिबद्धतासहितको शपथ खुवाएका थिए । नदीको पानी तुलनात्मक रुपमा सफा भएको र सफाइ अभियान सफलताको दिशामा अगाडि बढेकाले कार्यक्रमको आयोजना गरिएको सचिव बाँस्कोटाले बताए ।
एक वर्ष अघिदेखि नै मुख्यसचिव पौड्यालले बागतमी सरसफाइ अभियानमा अगुवाइ गर्दै आएका थिए । उनले केही दिन अघि नयाँ वर्षको दिन आफू बागमती नदीमा नुहाउने बताएका थिए । स्वयंसेवाको अभियानका रुपमा सुरु गरिएको बागमती सफाइमा दिन प्रतिदिन नागरिक सहभागिता बढ्दै गएको अवस्थामा पछिल्लो दिनमा उल्लेख्य सुधार आएको छ ।
सकरात्मक सन्देशका लागि नागरिकमा नै स्वयंसेवाको भावना जगाउन सकिएको र ‘नदी सफाइ जीवनको सफाइ’ हो भन्ने मान्यता स्थापित भएको मुख्यसचिव पौड्यालको दावी थियो । नुहाउनका लागि गुह्येश्वरी घाटमा दुवैतर्फ नदीमा बालुवाको बोरा राखिएको थियो । बागमतीलाई नुहाउनयोग्य बनाउनका लागि नदीमा मिसाइएको ढल तथा मलमूत्रको उचित व्यवस्थापन गरिएको छ । ढल व्यवस्थापनका लागि नदीको दायाँबायाँ दुवै किनारमा ठूलाठूला ह्युमपाइप राखिएको छ ।
करिब २५ वर्ष पहिले बागमतीको पानी पिउन र नुहाउन योग्य थियो । मानव अतिक्रमण र बढ्दो सहरीकरणका कारण प्रदूषण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका अधिकांश नदी प्रदुशिष हुँदै आएका छन् । पछिल्लो दिनमा सफाइ अभियान अगाडि बढेपछि नदीमा फोहरमैला फाल्ने क्रम पनि कम हुँदै गएको छ ।
२०७० को बैशाख पहिलो सातादेखि सुरु भएको अभियानले एक वर्ष पूरा गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया