जथाभावी गर्नेलाई कारवाही हुने

भक्तपुर, २८ फागुन  । होली पर्वमा विकृति फैलाउँदै जथाभावी लोला हान्ने, पानी छयाप्ने लगायतका कार्य गर्नेलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी सार्वजनिक मुद्धा लगाउने भएको छ ।
होली पर्वका नाममा जथाभावी गर्नेलाई पक्राउ गरी सार्वजनिक मुद्धा लगाउने जानकारी भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले जानकारी दिए ।  प्रहरी प्रशासनले होली पर्वलाई विकृतिमुक्त बनाउनका लागि सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको छ । उनका अनुसार होलीका नाममा जथाभावी नगर्न प्रहरीले मोवाइल टोली मार्फत चोक चोकमा नेपाली र नेवारी भाषामा माइकिङ पनि गर्ने गरेको छ । विगत केही दिन देखी प्रहरीले भक्तपुरका मुख्य मुख्य चोकमा माइकिङको ब्यवस्था मिलाएको पनि उपरिक्षक श्रेष्ठले जानकारी दिए ।
अहिलेसम्म जथाभावी लोला हान्ने केही बालबालिकालाई प्रहरीले पक्राउ गरेपनि उनीहरुलाई अभिभावक बोलाएर जिम्मा लगाइ पठाइएको पनि उनले जानकारी दिए । मोबाइल टोलीले भक्तपुरमा जथाभावी लोला हान्नेहरुको निगरानी पनि शुरु गरेको छ । होलीको दिनमा समेत कसैको इच्छाविपरीत होलीको नाममा फोहोर पदार्थ फाल्ने, रङग दल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय हुने प्रहरीले जनाएको छ ।
लोला लागेर कानको जाली फुट्ने,आँखा फुट्ने, घाइते हुने भएको र लोला हान्दा ज्यानै जान सक्ने पनि भएकाले यस्ता कार्यमा संलग्न हुनेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने प्रहरीले जनाएको छ । हरेक वर्ष होली पर्वका नाममा विकृति बढ्ने र होली आउन नपाउँदै जथाभावी रुपमा फोहोर पदार्थले हान्ने, महिलालाई हिँड्डुलमा समेत समस्या पर्ने र होली पर्वमा महिला तारो बन्नुपर्ने अवस्था आउने भएपछि प्रशासनले तिनै कुरालाई दृष्टिगत गदै होली पर्व नआउँदै सचेतना जगाउने कार्य गरेको हो । प्रहरी प्रशासनले होली पर्वलाई विकृत हुन नदिन सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको बताइएको छ ।  यसवर्षको फागु पूणिर्मा २ चैत्रमा गते परेको छ ।

प्रतिक्रिया