काठमाडौं ७ फागुन । एमालेसँग सहमति भए पनि वा नभए पनि नेपाली कांग्रेसले शुक्रबार मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । गृहमन्त्रालयमा एमालेसँग सहमति भए एमालेसहितको नभए एक्लै पनि शुक्रबार मन्त्रिमण्ल विस्तार गर्ने सहमति नेताहरूबीच भएको बताइएको छ । बिहीबार एमालेसँग वार्ता गरेर सहमतिको आधार तयार गर्ने र शुक्रबार बिहान संसदीय बोर्डको बैठक बसेर आफ्नोतर्फबाट मन्त्रीहरूको सूची तयार गर्ने कांग्रेसको तयारी छ । विनाविभागीय मन्त्री डा. रामशरण महतले कांग्रेस शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको बताए । नेता डा. महतले भने– एमालेसँग सहमति हुने र त्यही आधारमा मन्त्रिमण्डल विस्तार हुने दाबी गरे । गृहमन्त्रालय एमालेलाई दिने वा नदिने विषयमा कांग्रेसभित्रको विवाद अझै कायम छ । उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंहलगायत नेताहरू एमालेलाई गृह दिन नहुने अडानमा छन् । यता अर्का महामन्त्री कृष्णप्रसाद सिटौला, नेतृ सुजाता कोइरालालगायत भने एमालेलाई गृह दिएर भए पनि सहमति गर्नुपर्ने अडानमा छन् । यता एमाले भने गृहमन्त्रालय नपाएसम्म आफ्नो दल सरकारमा सहभागी नहुने अडानमा कायमै छ ।
एमालेसहितको सरकार बन्ने : सिटौला
आगामी शुक्रबारसम्ममा एमालेसहितको मन्त्रिमण्डल विस्तार हुने दाबी नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको छ । बुधबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै सिटौलाले प्रधानमन्त्री सुशील कोइरालाले एमालेका शीर्ष नेताहरूसँग यस विषयमा छलफल गरिरहेको र चाँडै सहमति हुने विश्वास व्यक्त गरे । नेता सिटौलाले गृहमन्त्रालय एमालेलाई दिने विषयमा कुनै सहमति नभएको दाबी गरे ।
गृहमन्त्रालय एमालेलाई दिने विगतमा कुनै सहमति नभएको बताउँदै उनले सरकारभन्दा ठूलो संविधान भएकाले एमाले र कांग्रेसको एकताबाट नै संविधान जारी हुने दाबीसमेत गरे । सिटौलाले अन्तरिम संविधान परिमार्जन गरी दलहरूको सहमतिमा आगामी ६ महिनाभित्र स्थानीय निर्वाचन गर्ने विश्वास व्यक्त गरे ।
कांग्रेस–एमाले मिल्नुपर्नेमा जोड
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुका साथै संविधान निर्माणमा पनि सहमति कायम गर्नुपर्ने बताएका छन् । बुधबार हेटाँैडामा आयोजित कार्यक्रममा नेता केसीले कांग्रेस र एमालेलाई मिलाउनकै लागि जनताले पहिलो र दोस्रो शक्तिका रूपमा स्थापित गरेको बताए । दुवै दल मिलेर अघि बढ्दा देशमा विद्यमान धेरै समस्या समाधान हुने पनि उनले बताए ।
गृहविना एमाले सरकारमा नजाने
काठमाडौं : नेकपा एमालेका सचिव युवराज ज्ञवालीले गृहमन्त्रालयविना आफ्नो दल सरकारमा सहभागी नहुने बताएका छन् ।
बुधबार राजधाजीमा आयोजित एक कार्यक्रममा नेता ज्ञवालीले गृहमन्त्रालय एमालेलाई दिने बारेमा कांग्रेससँग मौखिक सहमति भएको दाबी गरे । उनले भने, ‘एमालेलाई गृहमन्त्रालय दिन कांग्रेसले अलिखित सहमति जनाएकै हो । लिखित सम्झौता नगर्नु हाम्रो कमजोरी हो तर भएको सहमति कार्यान्वय नगर्नु कांग्रेसको गैरजिम्मेवार व्यवहार हो ।’ राष्ट्रपति, प्रधानमन्त्री, गृह र अर्थलगायत मन्त्रालय कांग्रेसलाई दिएर एमाले सरकारमा सहभागी हुन नसक्ने स्पष्ट पार्दै ज्ञवालीले गृह पाएको खण्डमा सरकारमा जाँदा पार्टीको नेतृत्व उपाध्यक्ष वामदेव गौतमले नै गर्ने बताए ।
ज्ञवालीले एक वर्षभित्रमा संविधान जारी गर्नका लागि दुई ठूला दल कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सातबुँदे सहमतिबाहेक गृहमन्त्रालय एमालेलाई दिने बारेमा कुनै सहमति नभएको दाबी गर्दै सरकारमा आउन एमालेलाई आग्रह गरे ।
एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले एक वर्षभित्रमा संविधान निर्माण गर्नका लागि पनि कांग्रेस ठूलो पार्टी भएको हैसियतले सबै दललाई समेटेर लैजानुपर्ने हुँदा एमाले र कांग्रेसबीचको गृह विवाद समाधान गरी सरकारलाई पूर्णता दिन आग्रह गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लोपटक देखिएको सत्ता संघर्षले विगतको नियति दोहोरिएका कारण एक वर्षभित्रमा संविधान नबन्ने खतरा देखिएको आशंका व्यक्त गरे ।
प्रतिक्रिया