काठमाडौं : १० वर्षे सशस्त्र युद्ध सुरु भएको दिनको स्मरण गर्दै दुवै माओवादीले बिहीबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।
पार्टी एक हुँदा अघिल्ला वर्षहरूमा काठमाडौंको खुलामञ्चमा विशाल कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाइने गरिए पनि यो वर्ष दुवै थरीले छुट्टछुट्टै रूपमा सानो कार्यक्रम गरेर ‘जनयुद्ध दिवस’ मनाए । एनेकपा माओवादीले पार्टी कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गर्यो । उता मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले पार्टीको नेवा: राज्य कार्यालय कुपन्डोलमा एक कार्यक्रमको आयोजना गरेको थियो ।
पेरिसडाँडामा आयोजित कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालले क्रान्तिकारी शक्तिबीचको एकतामा जोड दिए । संघीय संविधान बनाउन मुद्दा मिल्नेहरू बीचमा एकता हुनुपर्ने भन्दै दाहाले जो जहाँ भए पनि एकता हुनुपर्छ भनिरहेको बेला कुपन्डोलमा आयोजित कार्यक्रममा वैद्यले माओवादीले जनताप्रति घात गरेको आरोप लगाएका थिए । जनयुद्धको मर्म र भावना बिर्सेर जनताप्रति घात गरेको भन्दै अध्यक्ष वैद्यले जनताका अधिकारहरू एकपछि अर्को गर्दै खोसिएका दाबी गरे । कार्यक्रममा अध्यक्ष वैद्यले वर्तमान संविधानसभाबाट राजनीतिक निकास ननिस्कने ठोकुवासमेत गरे ।
यता, एमाओवादी अध्यक्ष दाहालले पनि एक वर्षभित्र संविधान जारी हुनेमा शंका व्यक्त गरे ।
अध्यक्ष दाहालले अहिलेको संविधानसभा राष्ट्रिय पञ्चायतको जस्तो देखिएकोसमेत टिप्पणी गरे । पञ्चायतजस्तो देखिए पनि संविधानसभामार्फत नै संविधान बनाउनुपर्ने उनको भनाइछ ।
‘जनयुद्ध दिवस’ अवसरमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा–माओवादीका सचिव देव गुरुङले जनयुद्धले उठाएका मुद्दा अझै पनि सम्बोधन नभएकाले नयाँ शीराबाट आन्दोलन सुरु गर्नुपर्ने बताए । जनयुद्धकै क्रममा नेताहरूले राष्ट्रिय स्वाधीनताको मुद्दालाई पाखा लगाएको उनको तर्क थियो । उपाध्यक्ष सिपी गजुरेलले जनयुद्धको उपलब्धि एमाओवादी अध्यक्ष दाहाल र डा.बाबुराम भट्टराईले गर्भमै तुहाएको भन्दै दुवै जना षड्यन्त्रकारी र गद्धार भएको आरोपसमेत लगाए ।
प्रतिक्रिया