काठमाडौं २५, माघ । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको एमालेले पनि प्रधानमन्त्री मनोनयन फारम लगेको छ । एमाले सभासद् रामवीर मानन्धरले संसद् सचिवालयबाट शनिबार अपराह्न फारम लगेका हुन् । संसद् सचिवालयले दिएको जानकारीअनुसार कांग्रेसका आनन्दप्रसाद ढुंगानाले मनोनयनको फाराम लगेका हुन् । तर, शनिबार अबेरसम्म कसैको पनि मनोनयन दर्ता गरेका छैनन् । मनोनय फारमका बारेमा मानन्धरसँग कुराकानी गर्दा उनले यसबारेमा केही पनि बताउन चाहेनन् ।
सचिवालयले भने मानन्धरले फाराम लगेको जानकारी दिएको छ । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेसले सरकारको नेतृत्व नगरे आफ्नो दल तयार रहेको बताउँदै आएका छन् । एमालेले मनोनयन फारम लिए पनि प्रधानमन्त्रीको उम्मेदवार भने पार्टीले टुंगो लगाएको छैन । एमालेको केन्द्रीय कमिटीले प्रधानमन्त्रीको उम्मेदवार कसलाई तोक्ने भन्ने निर्णय गरिसकेको छैन ।
शनिबार साँझ प्रधानमन्त्री चयनलगायतका विषयमा छलफल गर्न बानेश्वरको एभरेस्ट होटलमा नेता ओली, एमाले सचिव विष्णु पौडेललगायत जम्मा भएका थिए । यस विषयमा पौडेलसँग सम्पर्क गर्दा उनले खासै नयाँ कुरा केही नभएको प्रतिक्रिया दिए ।
व्यवस्थापिका–संसद्ले आगामी सोमबार हुने प्रधानमन्त्रीको निर्वाचनका लागि शनिबार र आज मनोनयको समय तोकेको छ । आइतबार साँझ ५ बजेसम्म मनोनयन गर्न पाइनेछ । एमालेले पनि प्रधानमन्त्री मनोनयनको फारम लगेपछि सोमबार कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने सम्भावना न्यून भएको छ । एमालेले शुक्रबार मात्रै पनि कांग्रेससँग मिलेर सरकार बनाउनका लागि बटमलाइन राष्ट्रपतिको निर्वाचन भएको बताएको थियो । सरकार गठनमा सहमति जुटाउनका लागि शनिवार अबेरसम्म पनि कांग्रेस र एमालेका नेताहरू बीच वार्ता भए पनि कुनै निष्कर्ष निस्कन सकेन ।
शनिबार बिहान प्रधानमन्त्रीमा समर्थन जुटाउन कांग्रेस सभापति कोइरालाले नेता आनन्द ढुंगानालाई एमाले अध्यक्ष झलनाथ खनालसँग भेटघाट गर्न पठाएका थिए । सो भेटमा अध्यक्ष खनालले प्रधानमन्त्रीमा मात्र समर्थन गरेर संविधान बन्न नसक्ने भएकाले संविधान निर्माणलगायत सबै विषयमा प्याकेजमा नै सहमति खोजिनुपर्ने बताएका थिए । एमालेले सहयोग नगरेको अवस्थामा सभापति कोइरालालाई एमाओवादी र केही साना दलले समर्थन गर्नुपर्ने हुन्छ ।
सरकारमा जान एमाओवादी लचिलो
काठमाडौं । एकीकृत माओवादीले सम्मानजनक अवसर आए सरकारमा सहभागी हुनसक्ने संकेत गरेको छ ।
एक साताअघि सम्पन्न केन्द्रीय समितीको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरे पनि एमाओवादी प्रतिपक्षको दोस्रो दल भएर नबस्ने भन्दै सम्मानजनक स्थान पाए सरकारमा जाने निष्कर्षमा सो पार्टी पुगेको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा शनिबार बिहान बसेको केही नेताहरूको बैठकमा सरकारमा सहभागी हुने विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीको निर्वाचन नजिकिँदै गर्दा एमाओवादीले पनि सरकारमा जाने विषयमा आन्तरिक छलफल सुरु गरेको हो । एमाओवादीले सत्ता समीकरणमा कुरा मिले कांग्रस वा एमाले जुनसुकै दलको नेतृत्वमा पनि सरकारले जाने तयारी गरेको स्रोतको भनाइ छ । यदि एमाले र कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बने एमाओवादी प्रतिपक्षमा बस्ने तयारीमा रहेको बुझिएको छ । एमाओवादीका एक वरिष्ठ नेताका अनुसार संविधान निर्माण र सत्ता समीकरणमा कुरा मिले माओवादी सरकारमा जानेछ । तर, एमाले प्रतिपक्षमा बस्ने अवस्था आए एमाओवादी कांग्रेस नेतृत्त्वको सरकारमा सहभागी हुने उनले बताए ।
‘हामी प्रतिपक्षमा पनि दोस्रो दल भएर बस्दैनौँ,संविधान निर्माण र सत्ता समीकरणमा कुरा मिले कांग्रेस वा एमाले दुवैको नेतृत्वमा सरकारमा जान सक्छौँ । ’ ती नेताले सौर्यसँग भने ।
यसअघि एमाओवादीका नेताहरूले आफ्नो दल प्रतिपक्षमा बस्ने बताउँदै आएका थिए ।
एमाओवादी अध्यक्ष दाहालले शुक्रबार महोत्तरीमा एमाले सरकारमा नगए संकट फुकाउनकै लागि आफ्नो दल सरकारमा जान सक्ने बताइसकेका छन् ।
एमाओवादीका अर्का नेता टोपबहादुर रायामाझीले पनि शनिबार एक कार्यक्रममा कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको ऐजन्ण्डा नछाडे आफ्नो दलले एमालेलाई सघाउने बताएका छन् । कांग्रेसले अडान नत्यागे एमाले नेता केपी ओलीलाई एमाओवादीले प्रधानमन्त्रीमा सघाउने नेता रायमाझीले बताए ।
एमाओवादी र एमालेले राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहित अन्य शक्ति बाँडफाँडमा सहमति हुनुपर्ने बताउँदै आएका छन् । शक्ति बाँडफाँडमा कुरा नमिलेका कारण सरकार गठनसमेत ढिलाइ भइरहेको छ । प्रधानमन्त्री चयनका लागि सोमबार संसदमा निर्वाचन हुँदै छ ।
प्रतिक्रिया