बहुमतीय सरकारको कसरत

काठमाडौं, १८ माघ । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । तर, राष्ट्रपतिले आह्वान गरेको एक साताको समयभित्र राजनीतिक दलहरूले सहमतीय सरकार गठन गर्न सकेनन् । सहमतीय सरकार गठनको विषयमा छलफल गर्न शनिबार कांग्रेसले बोलाएको बैठकसमेत निष्कर्षविहीन भएको छ । राष्ट्रपति यादवले संसद्मा प्रतिनिधित्व गर्ने ३० दललाई सहमतीय सरकार गठनका लागि आजसम्मको म्याद दिएका थिए ।
दलहरूको आन्तरिक र बाह्य विवादकै कारण उक्त समयावधिमा सहमतीय सरकार बन्न सकेन । यसअघि कांग्रेस सभापति सुशील कोइरालाले १९ माघभित्रै सहमतीय सरकारको प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका थिए । सहमतीय सरकारको सम्भावना लगभग समाप्त भएपछि प्रमुख दलहरू बहुमतीय सरकार गठनको कसरतमा जुटेको बताइएको छ ।
सहमतीय नभए बहुमतीय सरकार निर्माणको प्रक्रियामा अघि बढ्ने कांग्रेस महामन्त्री प्रकाशमान सिंहको दाबीले पनि त्यसको पुष्टी गरेको छ । कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा रहेको नेकपा एमालेले सम्मानजनक प्रस्ताव खोजेको छ । तर, एमालेले सरकारमा सहभागी हुने औपचारिक निर्णय भने लिइसकेको छ ।
यता संविधानसभामा तेस्रो दलको रूपमा रहेको एमाओवादीले भने हाललाई सरकारमा सहभागी नहुने निर्णय गरेको छ । तर, आवश्यक परे सरकारमा सहभागी हुन सकिनेसमेत सो पार्टीका नेताहरूले बताउँदै आएका छन् ।
चौँथो शक्ति राप्रपा नेपालले पनि प्रतिपक्षमा नै बस्ने निर्णय गरिसकेको छ । सरकारको नेतृत्त्व गर्ने तयारीमा रहेका कांग्रेस सभापति कोइरालाले विभिन्न दलका नेतासँग बेग्ला बेग्लै र सामूहिक भेटघाट गरे पनि सरकार गठनको प्रािक्रयाअगाडि बढ्न सकेको छैन । मुख्य दलहरूको बीचमा शक्ति बाँडफाँडका विषयमा नै कुरा नमिलेको बताइन्छ । एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनु पर्ने आफ्नो अडान छाडेको छैन ।
‘कांग्रेस एजेन्डामा स्पष्ट नभएकाले सरकार गठनमा ढिलाइ भएको हो,’ एमालेका एक नेताले भने, ‘पार्टीभित्रकै जटिलता र अन्य कारणले कांग्रेसले सरकार गठनको पहलकदमी लिन सकेको छैन ।’
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा समेत कांग्रेसमा पछिल्लो समय विवाद देखिएको छ । वरिष्ठ नेता शेरबहादुर देउवा समूह निर्वाचनको पक्षमा र कोइराला समूह विपक्षमा छ । तर कांग्रेसका नेताहरू एमालेले अनावश्यक बखेडा झिकेका कारण सरकार गठनमा ढिलाइ भएको आरोप लगाइरहेका छन् । एमालेको शुक्रबार बसेको स्थायी समिति बैठकले सम्मानजनक भूमिका नपाए प्रतिपक्षमा बस्ने चेतावनीलाई कांग्रेसले ‘पावर बार्गेनिङ’ का रूपमा लिएको छ ।
‘हामी एमालेसँग नै सहकार्य गरेर जाने भनिरहेका छौँ,’ कांग्रेसका एक नेताले भने, ‘सहकार्य गर्ने भन्ने अनि सबै शक्ति आफैँलाई मात्र चाहिन्छ भन्ने एमालेको तरिका ठीक छैन ।’

प्रतिक्रिया