काठमाडौ, ११ माघ । लामो समयको छलफलमा सहमति जुटन नसकेपछि नेपाली कांग्रेसले आइतबार निर्वाचनमार्फत संसदीय दलको नेता चयन गर्ने भएको छ । संसदीय दलको नेता बन्न कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा चुनावमा भिड्ने भएका छन् ।
शनिबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा सभापति कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले उम्मेदवारी दिएपछि निर्वाचन हुने भएको हो । यसअघि संसदीय दलको नेतामा उपसभापति रामचन्द्र पौडेलले दाबी प्रस्तुत गर्दै आए पनि उम्मेदवारी दर्ताको समयमा सभापति कोइरालालाई समर्थन गरेका छन् । पौडेलले सभापति कोइरालालाई समर्थन गरे पनि दुई नेता मात्र चुनावी मैदानमा देखिएका छन् ।
कोइराला र देउवा पक्षबीच सहमति हुन नसकेपछि कोइरालाका तर्फबाट सभासद् अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका थिए भने उनको प्रस्तावक आनन्दप्रसाद ढुंगाना र समर्थक फर्मुल्लाह मन्सुर रहेका छन् । कोइरालाको उम्मेदवारी दर्ता भएको आधा घन्टापछि वरिष्ठ नेता देउवाको उम्मेदवारी नेता गोपालमान श्रेष्ठले दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ । देउवाको प्रस्तावकमा विमलेन्द्र निधी र समर्थकमा भिष्मराज आङ्देम्बे रहेका छन् ।
नेपाली कँंग्रेसमा सहमतिका लागि नेताबीच पटक–पटक छलफल गर्दा पनि सहमति जुट्न नसकेपछि दुई प्रमुख नेता चुनावी मैदानमा उत्रेका छन् । सभापति कोइरालाले आफ्नो नेतृत्वमा संविधानसभाबाट पार्टी पहिलो भएका कारण संसदीय दलको नेतामा दाबी प्रस्तुत गर्दै अन्य नेतालाई सहयोग गर्न आग्रह गरिरहेका छन् । कांग्रेसमा जुन व्यक्ति संसदीय दलको नेता चयन हुन्छ सोही व्यक्ति प्रधानमन्त्री बन्ने भएकाले आफ्नो नेतृत्व स्वीकार गर्न कोइरालाले सबैलाई आग्रह गर्दै आएका थिए ।
उता वरिष्ठ नेता देउवाले भने संसदीय दलको नेता र प्रधानमन्त्री कोइराला भए आफूूलाई पार्टीको कार्यबाहक अध्यक्ष माग गरेका थिए । देउवा पक्षलाई पार्टीको कार्यबाहक अध्यक्ष दिन कोइराला पक्षले नमानेपछि सहमति जुट्न नसकेको कांग्रेस नेताहरू बताउँछन् । देउवाले पार्टीमा आफू ४० प्रतिशत भएको दाबी गर्दै कार्यबाहक सभापति या प्रधानमन्त्रीमध्ये एक पद पाउनु पर्ने अडानमा छन् ।
त्यसैगरी, संसदीय दलको नेतामा उपसभापति पौडेलले पनि दाबी प्रस्तुत गर्दै आएका थिए । अघिल्लो संविधानसभाको निर्वाचनमा १८ पटकसम्म पार्टीले आफूलाई उम्मेदवार बनाएका कारण यो बेला नछाड्ने दाबी गरे पनि शनिबार उनले कोइरालालाई समर्थन गर्ने बताए । उम्मेदवार दिन निर्वाचन समितिबाट फारम लिए पनि उम्मेदवारी भने उनले दर्ता गराएनन् । शनिबार बिहान महाराजगन्जमा कोइरालाले संस्थापन पक्षका नेताहरूको छलफल कार्यक्रममा पौडेललाई सहयोग गर्न आग्रह गरेपछि उनी पछि हटेको स्रोतको दाबी छ । सभापति कोइराला प्रधानमन्त्री भए उपसभातिको हैसियतमा पौडेलले कार्यबाहक सभापति पाउने कोइरालाले आश्वासन दिए पछि उनी पछि हटेका हुन् ।
कांग्रेसको दुई प्रमुख नेताबीच सहमति हुन नसकेपछि निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय पनि राति १० बजेसम्मका लागि बढाएको थियो । बिहान ११ बजेदेखि उम्मेदवारी दिने समय तय गरिएको थियो भने फिर्ताका लागि ५ बजेको समय तोकिएको थियो । तर, कांग्रेस नेता डा.रामशरण महत, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधीले सहमतिका लागि अन्तिम प्रयास गर्ने बताएपछि उम्मेदवारी फिर्ता लिने समय राति १० बजे सारिएको थियो ।
संविधानसभाको निर्वाचनमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसमा १ सय ९६ सभासद् संख्या भए पनि १ सय ९४ सभासद्ले चुनावमा मतदान गर्न पाउनेछन् । कोइराला र देउवा दुवै उम्मेदवार दुई स्थानबाट विजयी भएका कारण सभासद् संख्या १ सय ९४ भएको हो । कुल १ सय ९४ मध्ये कोइराला पक्षले आफ्नो पक्षमा १ सय ११ सभासद् रहेको दाबी गरेको छ भने देउवा पक्षले पनि संसदीय दलमा आफ्नो बहुमत भएको दाबी गर्दै आएको छ ।
प्रतिक्रिया