राष्ट्रपतिको निर्वाचन असान्दर्भिक : माले

काठमाडौं : नेकपा (मालेले राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा अहिले चलिरहेका चर्चा असान्दर्भिक रहेको बताएको छ । नेकपा मालेले शनिवार एक विज्ञप्ती जारी गर्दै असान्दर्भिक विषय बस्तु नउठाउन सम्बन्धित सवैलाई आग्रह पनि गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– हाल राष्ट्रपति र उपराष्ट्रपतिको पुन:निर्वाचनका चर्चा चलिरहेका छन् । जताबाट यस्ता चर्चा चलाइए पनि तत्कालका लागि यो कुरा सान्दर्भिक छैन । आजको आवश्यकता भनेको राष्ट्रिय सहमति नभए न्यूनतम सहमतिमार्फत सरकार गठन गर्नु हो र समस्त दलहरुको ध्यान संविधानसभामार्फत संविधान निर्माणतर्फ केन्द्रित हुनु हो । संविधानसभा निर्वाचनको सिलसिलामा मतदान स्थलदेखि मतगणनासम्म कतिपय स्थानमा भएका अनियमितता तथा धाँधली र मतदान अवधिमा कतिपय मतदान केन्द्रमा गरिएको कब्जालाई स्वतन्त्र रुपमा गठित छानबिन समितिमार्फत छानबिन गराउन माग गरेको छ ।
हालै युरोपेली संघले नेपालका जहाज युरोप उडानका लागि अयोग्य घोषित गर्नुले पार्टीको गम्भीर रुपमा ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
नेकपा (माले) को शनिवारदेखि पोलिटब्युरोको बैठक प्रारम्भ भएको छ । पार्टी महासचिव सिपी मैनालीको अध्यक्षतामा केन्द्रीय कार्यालय रातोपुलमा सुरु भएको सो बैठकमा महासचिवद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा छलफल, संविधानसभा निर्वाचनका लागि सञ्चालन गरिएको निर्वाचन अभियान तथा त्यसबाट प्राप्त उपलब्धि, माले र समाजवादी जनता पार्टीको एकतापछि सांगठनिक सुदृढीकरण एवं संविधानसभामा पठाइने सभासद् छान्ने एजेन्डामा छलफल गरी निर्णय लिइने बताइएको छ ।

प्रतिक्रिया