अनलाइन पत्रिका व्यवथिस्त गर्न समिति

काठमाडौं १९ मंसिर । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन पत्रिकालाई व्यवस्थित र नियमित गर्नका लागि प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको संयोजकत्वमा एक समिति गठन गरेको छ । अनलाइन व्यवस्थापन सुझाव समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले र सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला सदस्य तोकिएको छ । त्यस्तै सो समितिमा अनलाइन सञ्चालकको तर्फबाट एक जना सदस्य रहनेछन् भने समितिको सदस्य सचिवमा सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव रहने व्यवस्था गरिएको बताइएको छ । पत्रकारिता क्षेत्रमा पछिल्लो समयमा सशक्त माध्यमका रूपमा पहिचान बनाउँदै अघि बढेको अनलाइन पत्रकारितालाई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन आवश्यक सुझाव यो समितिले दिने अपेक्षा गरिएको छ । अनलाइन पत्रकारिता र अनलाइन पत्रकारको वृद्धिसँगै यस क्षेत्रमा विभिन्न समस्या, विकृति र यसको नियमनकाबारेमा प्रश्न उठेपछि मन्त्रालयले सरोकारवालासँग यसअघि नै छलफल गरेको थियो । सोही छलफल र सुझावका आधारमा समिति गठन भएको र यो समितिले अनलाइन पत्रकारितालाई व्यवस्थित सुझाव दिने विश्वास गरिएको छ ।

अनलाइन खबरलाई प्रभावकारी, नियमित र व्यवस्थित गर्नका लागि वर्तमान सञ्चार नीति र प्रचलित सम्बद्ध कानुन अध्ययन गरी दुवैतर्फ व्यवस्था गर्नुपर्ने प्रावधान र गर्नुपर्ने संशोधनका बुँदा तय गरी राय सुझाव पेस गर्न समितिलाई अधिकार दिइएको छ । समितिले राष्ट्रिय सञ्चार नीतिमा समावेश गर्नुपर्ने अत्यावश्यक प्रावधानको प्रारूप पनि तयार पार्नेछ । अनलाइन मिडिया सञ्चालक र पत्रकार आचारसंहिता पालनाको प्रारूप तयार पार्ने तथा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ समेतको प्रयोग एवम् कार्यान्वयन प्रक्रियामा यस समितिले सुझाव र सिफारिस दिनेछ । यसका साथै समितिले अनलाइन पत्रकारिताका सन्दर्भमा आवश्यक कानुन र ऐन परिमार्जन तथा तर्जुमाका लागि सुझाव दिने र सोही सुझावका आधारमा सरकारले आवश्यकताअनुसार विधेयक व्यवस्थापिका संसदमा लैजाने छ । समितिको कार्यावधि समितिले काम प्रारम्भ गरेको मितिले ४५ दिनको हुनेछ । समितिले आफ्नो कामका दौरानमा आवश्यकताअनुरूप विज्ञलाई आमन्त्रण गर्न पाउने अख्तियारी प्रदान गरिएको छ । समितिको कार्यालय सञ्चार मन्त्रालयमै रहने पनि बताइएको छ ।

प्रतिक्रिया