काठमाडौं, १६ मंसिर । सारंगीवादक जंगबहादुर गन्धर्वलाई मृत्युपर्यन्त सरकारसँग ‘सारंगी सम्राट्’ घोषणाको माग उठ्न थालेको छ ।
दलित कलाकार नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको जंगबहादुरको श्रद्धाञ्जली कार्यक्रममा उनलाई ‘सारंगी सम्राट्’ घोषणाको माग गरिएको हो । कार्यक्रमका सहभागीले गन्धर्वको सम्मानस्वरूप अक्षय कोष स्थापना गरी पुरस्कारको व्यवस्था गन पनि माग गरेका छन् ।
एमाले उपाध्यक्ष वामदेव गौतमले जंगबहादुरले गीतसंगीत क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप सरकारले ‘सारंगी सम्राट्’को उपाधि दिनुपर्ने धारणा व्यक्त गरे । ‘जंगबहादुर गन्धर्वलाई ‘सारंगी सम्राट्’ घोषणा गराउन सरकारलाई मेरोतर्फबाट दबाब दिनेछु,’ उपाध्यक्ष गौतमले भने । उनले नेपालीको राष्ट्रिय बाजा सारंगीको प्रवद्र्धनका लागि सरकारले ध्यान दिनुपर्ने धारणासमेत व्यक्त गरेका थिए ।
नेकपा–माओवादीका नेता ईश्वरचन्द्र ज्ञवालीले पनि जंगबहादुरले पुर्याएको योगदानको कदर गर्दै राज्यले ‘सारंगी सम्राट्’को उपाधिबाट सम्मान गर्नुपर्ने बताए । ‘सरकारले कलाकारको सम्मान र सम्बद्र्धनका लागि कञ्जुस्याइँ गर्नु हुँदैन,’ उनले भने ।
दाङ–काठमाडौं पत्रकार समाजका वरिष्ठ उपाध्यक्ष विमल योगीले स्रष्टाको सम्मान राज्यले जीवित छँदै गर्नुपर्ने उल्लेख गर्दै जंगबहादुरको निधनमा शोक वक्तव्य जारी गर्न नै कञ्जुस्याइँ गरेको गुनासो गरे । ‘राजनीतिलाई मात्रै ध्यान दिनु हुँदैन,’ उनले भने, ‘राष्ट्रिय गौरव बढाउन महत्त्वपूर्ण योगदान गरेका जंगबहादुरलाई पनि सरकारले सम्झनुपर्छ ।’ संगीतकार सन्तोष श्रेष्ठले पनि सरकारले वरिष्ठ सारंगीवादक जंगबहादुरलाई उपेक्षा गरेको गुनासो गरेका थिए ।
जंगबहादुरको पाँच दिनअघि काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । १० हजारभन्दा बढी नेपाली लोक, आधुनिक, दोहोरी, चलचित्रलगायत गीतमा सारंगीको धुन दिएका उनलाई राप्ती समाजलगायत संघसंस्थाले ‘सारंगी सम्राट्’को उपाधिसहित सम्मान गरिसकेका छन् ।
दाङको घोराही नगरपालिकामा स्थायी घर भएका उनी २००६ सालमा जन्मिएका थिए । उनले लामो समय गीतसंगीतमा सारंगीवादकका रूपमा काम गर्दै आएका थिए । उनले अलइन्डिया रेडियोमा समेत सारंगीको धुन दिएका थिए ।
उनको स्मरणमा अक्षय कोष स्थापनाका लागि एमाले उपाध्यक्ष गौतमले २५ हजार नगद सहयोग गरेका छन् । अक्षय कोषका लागि नेकपा–माओवादीका नेता ज्ञवालीका साथै विभिन्न संघसंस्था र व्यक्तिले पनि रकम उपलब्ध गराएका छन् ।
प्रतिक्रिया