राजदूतहरू नेताको घर–घरमा

Ranjit-Rae

रञ्जित रे

काठमाडौं, १२ मंसिर । दोस्रो संविधानसभा चुनावको सम्पूर्ण मतपरिणाम आइनसक्दै नेपालस्थित विभिन्न देशका राजदुतहरूको सक्रियता ह्वात्तै बढेको छ । चुनावको प्रत्यक्षतर्फको परिणामप्रति असन्तुष्टि जनाउँदै संविधानसभामा भाग नलिने घोषणा गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेपछि राजदूतहरूले दिनदिनै आफ्नो सक्रियता बढाएका हुन् ।

समानुपातिकको अन्तिम मतपरिणाम आउन बाँकी रहेको बेला भारत, अमेरिका, युरोपियन युनियनमा आबद्ध र चिनिया राजदूतहरूले दिनदिनै नेताहरूको निवासमा पुगेर सरकार गठन र संविधान निर्माणका प्रक्रियामा चासो जनाइरहेका छन् । राजनीतिक दलहरू बहुमतीय कि सहमतीय प्रणालीमा अघि बढ्ने भन्ने स्थितिमा रहेको बेला राजदूतहरूको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अमेरिकी राजदूत पिटर डब्लु बोडे मंगलबार बिहानै कांग्रेस सभापति सुशील कोइरालासँग भेट गर्न कोइराला निवास महाराजगन्ज पुगे । राजदूत बोडेले चुनावमा कांग्रेसले पाएको सफलताका लागि बधाई ज्ञापन गर्दैै सबै राजनीतिक दललाई सहमतीमा लिएर छिटोभन्दा छिटो संविधान लेखनमा लाग्न सुझाव दिए ।
कोइरालाले सबै दललाई विश्वासमा लिएर नयाँ संविधान लेखन कार्य अघि बढाउने विषयमा छलफल भइरहेको जवाफ दिएका थिए । उनले एमाओवादी नेतृत्वसँग छलफल जारी रहेको उल्लेख गर्दै संविधानसभामा एमाओवादीको सहभागिता हुने विश्वाससमेत बोडेलाई दिलाएका थिए ।
चिनिया राजदुत वु चिन्ताईले कांग्रेस उपसभापति रामचन्द्र पौडेलसंग चुनावपछिको अवस्थाका विषयमा छलफल चलाए । उपसभापति पौडेललाई भेट्न बोहोराटार पुगेका चिनियाँ राजदुत चिन्ताईसंगको भेट चुनावपछिको राजनीतिक अवस्था र दलहरूबीच भइरहेको सहमतिको प्रयासमा केन्द्रित भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए । भेटमा चिनियाँ राजदूतले संविधान निर्माण र स्थिरताको मार्गमा नेपाल अघि बढोस् भन्ने चीनको धारणा सुनाएका थिए ।
एमाले अध्यक्ष झलनाथ खनाल र भारतीय राजदूत रञ्जित रेबीच पनि मंगलबार नै भेटवार्ता भयो । खनालका सहयोगी रामबावु अधिकारीका अनुसार डल्लुस्थित खनाल निवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान लेखनका विषयमा छलफल भएको थियो । चिनियाँ राजदूत चिन्ताईले पनि मंगलबार नै एमाले अध्यक्ष खनाललाई भेटी चुनावमा निर्वाचित भएकोमा बधाई दिँदै अबको राजनीतिक परिस्थितिबारे चासो राखेका थिए ।
अमेरिकी राजदूत बोडेले एमाओवादी नेता डा. बावुराम भट्टराईलाई भेटी पछिल्लो राजनितिक अवस्थाबारे चासो जनाएका थिए । ललितपुरस्थित भट्टराई निवासमा भएको छलफलमा राजदुत बोडेले संविधानसभा चुनावका सम्बन्धमा एमाओवादीबाट आएका सार्वजनिक अभिव्यक्तिबारे जिज्ञासा राखेका थिए ।
भट्टराईले आफूहरू सहमतीका आधारमा अघि बढ्ने जवाफ दिएका थिए । भट्टराईका सहयोगी विश्वदिप पाण्डेका अनुसार भट्टराईले चुनावका क्रममा विभिन्न ठाउमा भएका धाधलीका घटनाको सम्बन्धमा छानविन हुनुपर्ने पार्टीको धारणा रहेको जानकारी गराएका थिए । उनले एमाओवादी शान्ती र संविधान निर्माणको प्रक्रियाबाट भने बाहिर नजाने जानकारी बोडेलाई गराएका थिए । चिनियाँ राजदूतले पनि मंगलबारै भट्टराईलाई भेट गरेका थिए ।
केही दिनअघि अमेरिकी राजदूत पिटर बोडे र युरोपियन युनियनमा आबद्ध राजदूतहरूले एमाओवादी अध्यक्ष दाहाललाई भेट गरी संविधानसभामा सहभागिता नजनाउने घोषणालगायतका विषयमा चासो व्यक्त गरेका थिए । त्यस्तै मात्र पनि सोमबार युरोपियन युनियनसम्बद्ध राजदूत र भारतीय राजदूतले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया