एमाओवादीको पक्षमा भोट हाल्न राखेपको सर्कुलर

yubaraj_lamaकाठमाडौं ४ मंसिर । निर्वाचन आचार संहिता उल्लंघन गर्दै राष्ट्रिय खेलकुद परिषदले मंगलवार हुने संविधानसभाको निर्वाचनमा एकिकृत नेकपा माओवादीको पक्षमा मतदान गर्न देशभरका सवै कर्मचारी, खेलाडी र प्रशिक्षकलाई एस एम एस मार्फत सर्कुलर गरेको छ ।

निर्वाचन आयोगले निर्वाचनको प्रचार प्रसार हुने कुनै पनि किसिमको गतिविधि नगर्न आग्रह गरेको भोलिपल्टै राष्ट्रिय खेलकुद परिषदले आफना मातहतका कर्मचारीलाई प्रभावमा पार्न खोजेको छ । आफनो नाम नबताउने शर्तमा एक जना बरिष्ठ प्रशिक्षकले आफनो मोवाइल फोनको इनबक्स खोलेर राखेपले पठाएको एसएमएस देखाए । ९८०३१७५५०२ नम्वरबाट पठाइएको एसएमएसमा देशको विकास, खेलकुदको विकास, खेलाडीलाई प्रोत्साहान, रोजगारीको ग्यारेन्टी तथा देशब्यापी पूर्वाधार विकास गर्न वर्तमान सदस्य सचिव युवराज लामाले अघि बढाएको नीति निरन्तरताको लागी एमाओवादीलाई मत दिई खेलाडी र खेल जगतको भविष्य सुरक्षित गरौं ।
खेलाडी तथा खेल परिवार भनेर लेखिएको छ । सो एस एम एस राखेप मातहतका कर्मचारी, खेलाडी र प्रशिक्षकहरुलाई पठाइएको छ । राखेपका एक जना प्रशिक्षकका अनुसार तालिम तथा प्रशिक्षक विभागका निर्देशक तिलक राउतले केही दिन अघि खेलकुद डाइरेक्ट्री बनाउने भनेर आफुहरुको फोन नम्वर मागेको बताए । एसएमएस पाएपछि मात्रै सो नम्वर किन मागिएको रहेछ भनेर आफुलाई थाहा भएको ती प्रशिक्षकले बताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले केही खेलका प्रशिक्षकलाई त फोन नै गरेर एकिकृत माओवादीको पक्षमा मत माग्न र समर्थनमा लाग्न निर्देशन समेत दिएको ती प्रशिक्षकले बताए । अन्य पार्टीको चुनावी अभियानमा लाग्ने प्रशिक्षक र कर्मचारीलाई राखेप सदस्य सचिव युवराज लामाले फोन गरेर अरु पार्टीको सर्मथनमा नलाग्नु भनेको ती प्रशिक्षकले दावी गरे । अन्य पार्टीको चुनावी अभियानमा जुटेका केही कर्मचारी र प्रशिक्षक निर्वाचन पछि कुन विकट जिल्ला जानु पर्ने हो भनेर त्रसित बन्दै हिडेका छन् ।
प्रशिक्षक र कर्मचारीलाई एस एम एस पठाएको नम्वरमा सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन । राखेपका सदस्य सचिव युवराज लामाले आफुले त्यस्तो कुनै दवाव पनि नदिएको र सर्कुलर पनि नगरेको दावी गरे । आफुलाई नियोजित रुपमा फसाउन र बदनाम गराउन कुनै समुहले त्यस्तो हल्ला फैलाएको दावी राखेप सदस्य सचिव लामाले गरे । आफुले एमाओवादीको पक्षमा समर्थन जुटाउन चाहेको भए पत्रकार सम्मेलननै गरेर सर्कुलर गर्न सक्ने भएकाले ती सवै हल्ला निराधार भएको धारणा राखेप सदस्इ सचिव लामाले राखे । तर ती प्रशिक्षकले भने आफुलाई राखेप सदस्य सचिव लामाले दवाव दिएको जीकिर गरे ।

प्रतिक्रिया