राष्ट्रपतिले भोट नहाल्ने

Rambaranकाठमाडौं : राष्ट्रपति डा. रामवरण यादव संविधानसभाको दोस्रो चुनावको मतदानमा सहभागी नहुने भएका छन् । राष्ट्रपति डा. यादव राष्ट्राध्यक्षको हैसियतमा तटस्थ भूमिकाका लागि भोट नहाल्ने निर्णयमा पुगेका हुन् ।
राष्ट्रपति राष्ट्राध्यक्षका हैसियतले सबै राजनीतिक दललाई समान व्यवहार गर्ने लक्ष्यका साथ मतदानमा तटस्थ रहने प्रेस सल्लाहकार राजेन्द्र दाहालले सौर्यलाई बताए । ‘राष्ट्रपति संविधानसभा चुनावको मतदानमा तटस्थ रहनुहुन्छ,’ प्रेस सल्लाहकार दाहालले भने । अघिल्लो चुनावमा धनुषा–५ बाट संविधानसभा सदस्य निर्वाचित डा. यादव नेपालको पहिलो राष्ट्रपति बनेका हुन् ।
उपराष्ट्रपति परमानन्द झाले भने काठमाडौं–४ स्थित गुह्येश्वरी सेतो सत्तल मतदानकेन्द्रमा भोट खसाल्ने भएका छन् । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाडौं–१ मा पर्ने सानोगौचरन मतदानकेन्द्रमा मतदान गर्नेछन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल मतदानका लागि गृहजिल्ला चितवन पुग्ने भएका छन् । दाहालका सहयोगी शिव खकुरेलका अनुसार उनले भरतपुर नगरपालिकाको लक्ष्मी उच्च मावि मतदानकेन्द्रमा मतदान गर्नेछन् । कांग्रेस सभापति सुशील कोइरालाले बाँके–३ को वन कार्यालयमा रहेको मतदानकेन्द्रमा मतदान गर्ने भएका छन् । एमाले अध्यक्ष झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ मा पर्ने फिक्कल–५ मा मतदान गर्ने उनका सहयोगीले बताएका छन् ।

प्रतिक्रिया