‘गणतन्त्र जोगाउन बहुमतको सरकार आवश्यक’

Puspakamal-Dahalबर्दिया, २६ कात्तिक । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान सभा निर्वाचनमा आफ्नो पार्टीलाई ठूलो पार्टी मात्र नभई बहुमत दिन आग्रह गरेका छन् ।

मेची–महाकाली राष्ट्रिय जागरण अभियानअन्र्तगत सोमबार बर्दिया सदरमुकाम गुलरिया आइपुगेका अध्यक्ष दाहालले चुनावी सभालाई सम्बोधन गर्दै स्थानीय बासिन्दासाग यस्तो आग्रह गरेका हुन् । दाहालले कांग्रेस र एमाले जनताको अधिकार र संघीयताको पक्षमा नरहेको आरोप लगाए ।
संघीयता र गणतन्त्र आफूहरूकै एजेन्डा भएको उल्लेख गर्दै उनले एमाओवादीबाहेक अन्य सबै दल बास्तविक रूपमा संघीयता र गणतन्त्रविरोधी भएको जिकिर गरे । उनले जसको एजेन्डा उसकै नेतृत्व र जसको नेतृत्व उसैको सरकार हुनु आवश्यक रहेको धारणा व्यक्त गरे ।
‘१० वर्षसम्म माओवादीले गर्भमा बोकेर जन्माएको गणतन्त्र कांग्रेस र एमालेको कहिल्यै हुन सक्दैन,’ उनले भने, ‘त्यसैले गणतन्त्र जोगाउन बहुमतको सरकार आवश्यक छ ।’
आफ्नो पार्टीले १० वर्षसम्म गरेको आन्दोलनका कारण मुलुकमा युगान्तकारी परिवर्तन आएको बताउँदै उनले दुईतिहाई बहुमत दिए मुलुकको मुहार नै फेर्ने दाबी गरे । करिब १५ मिनेटको आफ्नो सम्बोधनमा उनले अधिकांश समय एमाले र कांग्रेसप्रति आक्रोशित देखिएका थिए । पहिलो संविधानसभा चुनावअघिका चुनावमा जनताको मतलाई सम्बोधन गर्न नसकेकाले कांग्रेस र एमाले जनताको माझबाट पतन भइसकेको उनको भनाइ थियो ।
उनले आफ्नो पार्टीको सरकार बने विकासको पहिलो सूचीमा बर्दियालाई प्राथमिकतामा राख्ने आश्वासन दिँदै एमाओवादीले १५ वर्षमा गरिवी र बेरोजगारीको समस्या अन्त्य गर्ने, २० बर्षमा दक्षिण एसियाकै धनी देशको रूपमा स्थापित गर्ने र ४० बर्षमा संसारकै सबैभन्दा सम्बृद्ध देश बनाउने लक्ष्य लिएको उल्लेख गरे ।
मेचीको काँकडभिट्टाबाट सुरु भएको जागरण अभियान मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा पुगेर सम्पन्न हुने एमाओवादीले जनाएको छ । दाहालले बर्दियाको मैनापोखर, गुलरिया, सानोश्री र राजापुरमा आयोजित कार्यक्रमलाई संवोधन गरेका थिए ।

प्रतिक्रिया