नेतालाई गाउँ फर्कन निर्देशन

Congress-flagकाठमाडौं, ३० भदौ । नेपाली कांग्रेसले २ सय ५ क्षेत्रबाटै उम्मेदवारको नामावली केन्द्रमा आइपुगेको जनाएको छ ।
सभापति सुशील कोइरालानिवास महाराजगन्जमा शनिबार बसेको पदाधिकारी र राजधानीमा उपलब्ध सदस्यहरूको अनौपचारिक बैठकपछि जारी विज्ञप्तिअनुसार सबै निर्वाचन क्षेत्रका उम्मेदवारको नामावली र जिल्लाको राय आइपुगेको जनाइएको हो । कांग्रेसले सोही नामावलीबाट उम्मेदवारको टुंगो लगाउने जनाएको छ ।
कांग्रेसले मंसिर–४ को संविधानसभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नामावली तथा जिल्लाबाट राय माग गरेको थियो । निर्वाचन आयोगको कार्यतालिकाअनुसार असोज ९ र १० गते प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयन दर्ता गर्नु पर्नेछ । समानुपातिकको बन्दसूची ११ गते आयोगको केन्द्रीय कार्यालयमा बुझाउनुपर्छ ।
‘संविधानसभा निर्वाचनका लागि निर्वाचन क्षेत्रबाट उम्मेदवारको नामावली तथा जिल्लाबाट राय मागिएकोमा सबै जिल्लाबाट उम्मेदवार सिफारिस भई केन्द्रमा आइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले छिट्टै संसदीय समितिको बैठक बसेर उपयुक्त निर्णय लिने जनाएको छ । कहिलेसम्म निर्णय गर्ने भन्ने विज्ञप्तिमा खुलाइएको छैन ।
स्रोतका अनुसार समितिले उम्मेदवारको नाम टुंगो लगाउन नसके पदाधिकारी र केही प्रभावशाली नेताको बैठक बसेर उम्मेदवारको टुंगो लगाइनेछ । केन्द्रले तोकेभन्दा क्षेत्रले बढी उम्मेदवारको नाम सिफारिस गरेपछि कांग्रेसलाई टाउको दुखाइ भएको छ ।
क्षेत्रको सिफारिसमा कतिपय जिल्लाले ७० जनासम्म उम्मेदवारको नाम सिफारिस गरेका छन् । कांग्रेसले प्रत्यक्षमा तीन र समानुपातिकमा पाँच जनासम्मको नाम एउटा क्षेत्रबाट सिफारिस गर्न निर्देश गरेको थियो ।
केही जिल्लामा उम्मेदवारको सिफारिसमा नपरेपछि विवादसमेत उत्पन्न भएको छ । सोलुखुम्बुबाट केन्द्रीय सदस्य बलबहादुर केसी सिफारिसमा नपरेपछि उनले आºनो नाम राखेर केन्द्रमा पठाएका छन् । त्यस्ता उदाहरण विभिन्न जिल्लामा छन् ।
कांग्रेसले सम्पूर्ण पार्टी नेतृत्व र कार्यकर्तापंक्तिलाई निर्वाचनमा जुट्न पनि निर्देशन दिएको छ । टिकटका लागि भनसुन गर्न भन्दै केन्द्रमा जिल्लाबाट नेता केन्द्रमा ओइरिएपछि कांग्रेसलाई टिकट बाँड्न समस्या भएको छ । उसले केन्द्रमा रहेर पार्टी कार्यालय र नेताहरूका ढोका चहार्ने कार्य तत्काल बन्द गरेर आºनो क्षेत्रमा गई चुनावी अभियानमा लाग्न निर्देशन दिएको छ ।
सभपाति कोइराला, नेता शेरबहादुर देउवा र प्रभावशाली नेताहरूको निवासमा दैनिक पुग्ने हुलका हुल नेताको भिडले समस्या भएपछि कांग्रेसले केन्द्रमा नबस्न सबैलाई भनेको हो । टिकटकै लागि तराईका जिल्लाबाट भारतीय नम्बर प्लेटका बोलेरो, टाटा सुमो तथा पहाडी जिल्लाबाट बस रिजर्भ गरेर नेताहरू दलबलसहित राजधानीमा एक सातायता जम्मा भएका छन् ।
‘सम्पूर्ण शक्ति निर्वाचनको तयारीमा जुट्नुपर्ने यस महत्वपूर्ण समयमा जिल्ला र क्षेत्रबाट काठमाडौं आउनुभएका साथीहरूले नेताहरूको आवास र केन्द्रीय कार्यालयमा भेटघाट गर्ने कार्यले निर्वाचन सम्बन्धी तयारीको कार्यमा बाधा उत्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला, क्षेत्र, नगर, गाउँमा पार्टीको संगठन परिचालन तथा निर्वाचन गतिविधिमा कठिनाइ उत्पन्न भएको छ ।’
बैठकमा संसदीय समिति गठन गर्ने विषयमा पनि छलफल भएको थियो । यद्यपि, सो विषयमा ठोस सहमति हुन सकेन । नेता शेरबहादुर देउवाले समितिमा आफूसहित सात जना सम्म सदस्य माग गरे पछि कुरा नमिलेको स्रोतको भनाई छ । समितिमा हाल सभापति, उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष र प्रवक्ता सदस्य छन् ।
टिकट वितरणको समय नजिकिँदै जाँदा समेत समितिले पूर्णता पाउन नसके पछि नेतृत्वको आलोचना पनि हुन थालेको छ । समितिले पूर्णता पाउन नसकेमा आगामी बिहीबार सम्ममा पदाधिकारीहरू बसेर उम्मेदवारको टुङगो लगाउने सभापति कोइरालाको दाउ छ । कोइरालाको चाल बुझेपछि नेता देउवा पनि सतकै छन् ।

प्रतिक्रिया