काठमाडौं, २९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरणको ट्रान्सर्फमर खरिद प्रकरणका २२ अभियुक्तमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले ट्रान्सर्फमर खरिद प्रकरणमा ४६ करोडभन्दा बढी अनिमतिता गरेको जिकिर गर्दै शुक्रबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक डा. जिवेन्द्र झा र प्रबन्ध निर्देशक रामेश्वर यादवसहित २२ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । गुणस्तरहीन ट्रान्सर्फमर खरिद गरि राज्यको करोडाँै रकम अनिमितता गरेको अभियोगमा अख्तियारले तीन ठेकेदारसहित प्राधिकरणका उच्च कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन कार्यकारी निर्देशक डा. झा, यादव, तत्कालीन महाप्रबन्धक युगलकिशोर साह, प्रबन्धक कैलाशप्रसाद अटल, हरिबहादुर केसी, निर्देशक अर्जुनकुमार चौहान, तत्कालीन सह–निर्देशक हरिशबहादुर पाल, शशिविक्रम थापा र उपनिर्देशक महेशकुमार कार्कीविरुद्ध मुद्दा दायर गरेको छ ।
यसैगरी, तत्कालीन लेखा अधिकृत सुरेश कटुवाल, सहायक लेखा अधिकृत सुशीलप्रसाद खनाल, सहायक प्रबन्धक विद्युत् पौडेल, इन्जिनियर सुरजप्रसाद साह, निमेशकुमार पोखरेल र विनोदकुमार स्वर्णकारविरुद्धमा पनि मुद्दा दायर गरिएको छ । तत्कालीन सहायक प्रबन्धक मनोज बराल, सहायक इन्जिनियर रामविजुल मण्डल, केन्द्रीय भण्डार प्रमुख नारायणप्रसाद चौधरी, भण्डार सहायक सरोज श्रेष्ठलाई पनि अभियुक्त बनाइएको छ ।
अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ को खण्ड झअनुसार कैद सजाय र दफा ३ को उपदफा १ बमोजिम १७ करोड ९६ लाख ५२ हजार एक सय ७० रुपियाँ ८१ पैसा जरिवानाको माग गरिएको छ । मुद्दामा कार्यकारी निर्देशक झा र यादव तथा महाप्रबन्धक साहलाई थपसजायको माग गरिएको छ । चाइनिज कम्पनीसँग किनेको ट्रान्सर्फमर गुणस्तरहीन भएको जिकिर गर्दै यीनै अभियुक्तलाई यसअघि दुईवटा मुद्दा दायर गरिएको थियो ।
यस्तै, ट्रान्सर्फमर निर्यातकर्ता साहभान्त इलेक्ट्रिकल कम्पनीका प्रबन्ध निर्देशक, स्थानीय प्रतिनिधि राजन के भट्ट र नेपालका स्थानीय प्रतिनिधि एवं एपेक्स मार्केटिङका अध्यक्ष विनोदकुमार मानन्धरलाई कैदसहित ४६ करोड ४६ लाख ६३ हजार दुई सय ६३ रुपियाँ ९७ पैसा जरिवाना र बिगो जफत गर्न माग गरिएको छ । साहभान्त इलेक्ट्रिक कम्पनीसँग आधारभूत मापदण्डविपरीत खरिद सम्झौता गरेको र ट्रान्सर्फमरमा प्रयोग भएको तार सम्झौता गरे कमसल खालको भएको जिकिर अख्तियारले गरेको छ । अभियोग पत्रमा सामन खरिद गर्दा बदनियत देखिएकोले अभियुक्तलाई हदैसम्मको कारबाहीको माग गरिएको छ । १५ सय ६७ थान ट्रान्सर्फमर खरिद गर्ने यो कम्पनीसँग सम्झौता भएको थियो । यस्तो गुस्तरहीन ट्रान्सर्फमर प्रयोगबाट भएको विद्युत् चुहावटले प्राधिकरणलाई २७ करोड ४१ लाख ८७ हजार सात सय एक रुपियाँ ८८ पैसा नोक्सानी भएको अख्तियारको ठहर छ ।
विशेष अदालतमा दायर गरिएको अभियोग पत्रमा ट्रान्सर्फमर खरिदका लागि प्राधिकरणले १३ करोड ५२ लाख २७ हजार नौ सय तीन रुपियाँ तीन पैसा दिएको थियो । यसको भन्सार र कर गरी चार करोड ४४ लाख २४ हजार दुई सय ६३ रुपियाँ ७८ पैसा लागेको छ । समयमै आपूर्ति नगर्दा ठेकेदार प्राधिकरणलाई कुल ४६ करोड ७६ लाख ६३ हजार दुई सय ६३ रुपियाँ ९७ पैसा नोक्सानी भएको उल्लेख गरिएको छ ।
मुद्दा दायर भए पनि अभियुक्तको बयान समय अभावका कारण शुक्रबार सुरु हुन सकेन । २२ जनालाई मुद्दा चलाए पनि चार जना अझै फरार रहेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया