टिकटको दौडधुप छोडी गाउँ फर्क : एमाले

काठमाडौं, २९ भदौ । एमालेले टिकटका लागि राजधानी आएका नेता तथा कार्यकर्तालाई तत्काल आ–आफ्नो कार्यक्षेत्रमा फर्की संविधानसभा चुनावको तयारीमा जुट्न निर्देशन दिएको छ ।
चुनावका लागि उम्मेदवार सिफारिसमा परेका नेताहरू जिल्ला छाडेर टिकटको लबिङ गर्न राजधानी केन्द्रित हुन थालेपछि एमालेले गाउँ जान निर्देशन दिएको हो । पार्टी मुख्यालय बल्खुमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्देशन दिएको एक नेताले जानकारी दिए । ‘नेताको पछि–पछि कुद्ने र जिल्लै खाली गर्ने क्रम बढ्न थालेपछि त्यसको असर विभिन्न निर्वाचन क्षेत्रमा पर्ने भएकाले यस्तो निर्देशन दिनुपरेको हो,’ एक नेताले सौर्यसँग भने, ‘अब सबै नेता कार्यकर्ता आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर चुनावी माहोल बनाउन जुट्नुपर्छ ।’ उनले केन्द्र मात्र धाउने र जिल्लाका गतिविधि शून्य पार्ने प्रवृत्तिले अघिल्लो संविधानसभा चुनावको अवस्था दोहोरिन सक्ने संकेत गरे ।
टिकटको दौडधुप छोडी गाउँ फर्क : एमाले
एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ तीन/तीन र समानुपातिकमा पाँच/पाँच जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । केन्द्रको निर्देशनभन्दा धेरै जनाको नाम सिफारिसमा परेपछि उम्मेदवारका दाबेदाबरहरू आ–आफ्नो पक्षमा माहोल बनाउन राजधानी केन्द्रित हुन थालेका छन् । निर्वाचन क्षेत्रै छाडेर राजधानी आएका जिल्ला तहका नेताले आफूनिकट शीर्ष नेताहरूलाई भेटेर टिकट पाउने माहोल बनाइदिन आग्रह गर्ने गरेका छन् ।
शुक्रबारको बैठक पछिल्लो राजनीतिक अवस्था, चुनावको तयारी, उम्मेदवारको नामावली सिफारिसलगायतका विषयमा छलफल गर्न बोलाइएको थियो । तर, बैठकमा यी विषयमा छलफल नभएको एमाले स्रोतले जनाएको छ । एमालेले शुक्रबारकै बैठकमा चुनावी घोषणापत्रबारे पनि छलफल गर्ने बताएको थियो । एमालेले आगामी चुनावका लागि तयार पार्न लागेको करिब ५० पृष्ठ लामो घोषणापत्रमा सात प्रदेशको अवधारणाअघि सारेको छ । घोषणापत्रमा २० वर्षमा संवृद्ध नेपाल बनाउनेलगायत कुरालाई विषयलाई समेट्ने भएको छ । एमालेले घोषणपत्र निर्माणका लागि अध्यक्ष झलनाथ खनालको नेतृत्वमा टोली बनाएको थियो ।
तालमेलको जिम्मा जिल्लालाई
एमालेले संविधानसभा चुनावमा तालमेलको जिम्मेवारी अञ्चल र जिल्ला नेतृत्वलाई दिने भएको छ । ‘केन्द्रबाट तालमेलको सम्भावना छैन,’ एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने, ‘तर, स्थानीय तहमा हुने तालमेलको ढोका हामीले खुला राखेका छौँ ।’
सोमबार बस्ने स्थायी कमिटी बैठकले उक्त विषयमा छलफल गर्ने ज्ञवालीले जानकारी दिए । ‘आगामी चुनावमा बहुमत ल्याउन आवश्यक ठाउँमा स्थानीय तहमा तालमेल गरेरअघि बढ्न एमाले तयार छ,’ उनले भने । उनका अनुसार प्युठान, दाङलगायत जिल्लाका केही निर्वाचन क्षेत्रमा तालमेलको सम्भावना छ ।

प्रतिक्रिया