दाहाललाई चुनौती दिँदै लम्बिनीमा…प्रस्ताव

Madhav-nepal-1नयाँ दिल्ली, १२ साउन । एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारत–नेपालमा फैलिएको बौद्ध पर्यटन स्थललाई जोड्न प्रस्ताव गरेका छन् ।
भारतीय टेलिभिजन एबीपी न्यूजको अनलाईन संस्करणका अनुसार नेता नेपालले दुबै देशका बौद्ध पर्यटन स्थललाई जोडेर ‘लुम्बिनी सर्किट’ बनाउन भारतसँग प्रस्ताव गरेका हुन् ।
इण्डियन काउन्सिल फर वल्र्ड अफेयर्स (आईसीडब्ल्यूए)ले शुक्रबार सप्रू हाउसमा आयोजना गरेको कार्यक्रममा नेपालले ‘लुम्बिनी सर्किट’ले लाखौं बौद्ध तीर्थयात्रुलाई आकर्षित गर्ने बताए । उनले भारत र नेपालमा दुई अलग–अलग सर्किट बनाउन भनेका छन् ।
भारतमा सारनाथ, बोधगया अलग ‘बुद्ध सर्किट’ बनाउनु पर्ने उनको भनाई छ । त्यसै गरी, नेपालमा बुद्धको बाल्यपनका लागि लुम्बिनी र कपिलवस्तुस्थित ‘पैतृक घर’ एवं अन्य स्थानलाई सर्किटमा राख्न सकिने उनको भनाई छ ।
‘दुबै देश बौद्ध सर्किटका साथ बौद्ध तीर्थयात्रीलाई आकर्षित गर्न सक्ने छन्,’ नेपालले भनेका छन्, ‘लाखौं तीर्थयात्री आकर्षित गर्ने योजनालाई अगाडि बढाउनु पर्छ ।’
अघिल्ले बर्ष नोवेम्वरमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको लुम्बिनीसँग सम्बन्धि समितिले हङकङको एउटा एनजीओ एशिया प्यासिफिक एक्सचेन्ज एण्ड कोऑपरेशन (एपीईसी) फाउंडेशनसँग सम्झौता समेत गरिसकेको छ ।
सो एनजीओले लुम्बिनीको विकासका लागि ३ देखि ५ अरब अमेरिकी डलर खर्च गर्ने सहमति पत्रमा हस्ताक्षर समेत गरेको थियो । यद्यपि सो योजना अहिले सम्म शुरु हुन सकेको छैन ।
नेता नेपालले दाहाल संयोजकत्वको सो समितिलाई ओझेलमा पार्ने गरी लुम्बिनीका लागि ‘बौद्ध सर्किट’को प्रस्ताव भारतसँग गरेका हुन् । नेता नेपालको यो प्रस्तावलाई भारतीय सञ्चारमाध्यमहरुले जोडतोडका साथ प्रसारण गरेका छन् ।
नेता नेपाल भारतीय सरकारको औपचारीक निमन्त्रणामा हाल भ्रमणमा छन् । उनका साथ महासचिव ईश्वर पोखरेल र विदेश विभाग सदस्य राजन भट्टराई पनि छन् ।

प्रतिक्रिया