‘….यो बढ्ता बोल्दो रहेछ । यसलाई थुन्दे’

Tek-Raj-Thamiकाठमाडौं, ११ साउन । प्रेस चौतारीका केन्द्रीय सदस्य टेकराज थामीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर रिहा गरेको छ ।
नयां पत्रिका दैनिकमा कार्यरत पत्रकार थामीलाई प्रहरीले बिहीबार राति साढे आठ बजे काठमाडौंको तीनकुनेबाट पक्राउ गरी केही समय हिरासतमा राखेको हो ।
नयां पत्रिकाको कार्यालय सिनामंगलबाट त्रिपुरेशवरस्थित निवास तर्फ जांदै गरेका पत्रकार थामीलाई प्रहरीले मोटरसाईकलको बिलबुक र लाईसेन्स मागेर हिरासतमा राखेको थियो ।
तीनकुनेमा चेकिङ्मा बसेका प्रहरीले आफूलाई दुरब्यवहार गरेर थुनामा राखेको पत्रकार थामीले दाबी गरे । उनले सो विषयमा आफूले जिज्ञासा राखेका कारण पक्राउ गरेको बताए ।
‘मोटर साइकल रोक भन्यो,’ पत्रकार थामीले प्रहरीलाई उदृत गर्दै भने, ‘लाइसेन्स र बिलबुक झिक भन्यो । मैले झिकेँर दिएँ ।’
पत्रकार थामीले स्वास्थ्यले गर्दा पनि कहिल्यै मादक पदार्थ सेवन नगर्ने गरेको बताए । मादक पदार्थ सेवन गरेको छ की छैन भनेर प्रहरीले सोधे पछि मैले गरेको छैन भन्ने जवाफ दिंदा पनि आफूलाई पक्राउ गरेको उनले बताए ।
‘सर लाइसेन्स विलबुक चेक गर्ने काम त ट्राफिक प्रहरीको होइन र ?,’ थामीले प्रहरीलाई सोधेको प्रश्नका बारेमा जानकारी दिंदै भने, ‘बढ्ता बोल्छस् भनेर हिरासतमा लिईहाले ।’
प्रहरीलाई उदृत गर्दै पत्रकार थामीले भने, ‘सा…यो बढ्ता बोल्दो रहेछ । यसलाई थुन्दे ।’
आदेश पाउना साथ आफूलाई महानगरीय प्रहरी प्रभाग बानेश्वरमा हिरासतमा हत्कडी लगाएर राखेको पत्रकार थामीले बताए ।
नयां बानेश्वर बृत्तमा नायव उपरीक्षक भीम ढकाल कार्यरत छन् । नायव उपरीक्षक ढकालले पनि आफूलाई एकघण्टा थुनेर आफन्तको जिम्मा लगाउने निर्देशन दिएको थामीले बताए ।
उता, नायव उपरीक्षक ढकालले पत्रकार थामीलाई सामान्य सोधपुछ र जांच पछि आफन्तको जिम्मा लगाएर छाडिएको बताए । ‘पत्रकार थामीलाई कुनै पनि दुरव्यबहार गरिएको छैन,’ ढकालले भने, ‘सामान्य नागरिकलाई सुरक्षा दिने क्रममा गरिने चेकजांच मात्रै गरेका हौं ।’

प्रहरी हिरासतबाट छुटे पछि शुक्रबार विहान पत्रकार थामीले फेसबुकमा लेखेको स्टाटस् 

पुलिस हिरासतबाट भर्खर छुटेर कोठामा आएको अवस्था हो । करिब साढे आठ बजे कार्यालयबाट मोटर साइकलबाट कोठा आउँदै थिएँ । तीन कुनेमा सदा झै चिकिङ रहेछ । मोटर साइकल रोक भन्यो । मैले रोकेँ । लाइसेन्स विलबुक झिक भन्यो । मैले झिकेँ र दिएँ । मापसे गरेको छ की छैन भन्यो । छैन भने । यसको झोलादेखि जुत्तासम्म चेक गर भन्यो । सँगैको हवल्दारले चेकिङ गर्यो । कार्यलयबाट कोठा आउँदै गरेको माथि प्रहरीले अपराधिलाई जस्तो व्यवहार गरेपछि मैले सोधेँ–‘सर लाइसेन्स विलबुक चेक गर्ने काम त ट्राफिक प्रहरीको होइर र ?’ मैले यति के भनेको थिएँ । ‘बढ्ता बोल्छस् भन्यो’उसले भन्यो । ‘होइन मैले सोधेको मात्रै हो । मेरो लाइसेन्स विलबुक दिनुस न’ मैले भनेँ । ‘सा… यो बढ्ता बोल्द रछ । यसलाई थुन्दे ।’ उसले आदेश दियो । मलाई महानगरीय प्रहरी वृत बानेश्वर लगियो । एक छिनपछि डिएसपी भिम ढकाल हल्लिदै आए । ‘यसलाई एक घण्टा थुन अनि मान्छे बोलाएर जिम्म लगाइदे ।’ यसो भनि रहँदा डिएसपी सापको मुखबाट आएको रक्सिको गन्धले यति कडा थियो की मुखै थुन्नु पर्ने स्थिति थियो । डिएसपी साप रक्सिको नशामा कति धुत थिए, यसैबाट पष्टि हुन्थ्यो । अव मेरो तिन पुस्ते सोधपुछ भयो । हिरासतमा रहेको अर्का अभियुक्तलाई उठाइयो । उसलाई हतकडि लगाइयो । सँगै भएको मेरो हात थुतियो । र ऊसँगै हतकडि लगाइयो । तेरो स्वस्थ्य परिक्षण गर्नु छ, अस्पताल हिँड भन्यो । हतकडिसँगै कान्तिपुर अस्पताल लगियो । काउन्टरमा विल भर्न लगायो । विल भरेँ । भित्र लगियो । केही नगरि फेरी हिरासत कक्षमा लगियो । अन्तमा त्यतिकै छाडियो ।
यति बेला मेरो मथिङ्गल प्रश्नै–प्रश्नले भरिएका छन् ।
प्रहरीले मलाई किन पक्राउ गर्यो ?
मैले अपराध नै गरेको हो भने किन छाड्यो ?
ट्राफिक नियम उलंघन गरे कारवाही गर्ने अधिकार ट्राफिक पुलिसको हो, तर मेरो लाइसेन्स विलबुक अरुले नै लिएका थिए । उसको गलत काममा प्रश्न गर्नु मेरो अपराध हो ?
मेरो मोटरसाइकल नियन्त्रणमा के कारणले लिइयो र पछि किन छाडियो ?
बिनाकारण हिरासतमा लिइ हतकडि लगाउनु र मानसिक याताना दिनु यही हो, प्रहरीको मावअधिकार ?

प्रतिक्रिया