रौतहट, २६ असार । रौतहत जिल्लास्थित लालबकैया र बागमती नदीमा आएको बाढीले आ–आफ्ना किनार र असपासको क्षेत्रमा कटान शुरु गरे पछि स्थानीय त्रसित भएका छन् ।
लालबकैया नदीले इनरवा–७ र गौर–७ को टिकुलियामा कटान तिब्र बनाएको छ । आज (बुधबार) बिहानदेखि नदीमा बाढीको बहाव पनि तिब्र रुपमा बढेको छ । लगातार जलस्तरमा वृद्धि भएपछि कटान हुन थालेको हो । सो क्षेत्रमा तीनदिनदेखि लाल बकैया नदीले कटान गरिरहेको छ ।
यसैबीच, लाल बकैया नदीमा पानीको बहाव अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । इनरवामा यो नदीले १० कठ्ठा र टिकुलियमा झण्डै ८ कठा जग्गा कटान गरिसकेको छ ।
नदीले आफ्नो धार परिवर्तन गर्दै बस्ती छेउको बाँधमा क्षति पुर्याउन थालेको छ । नदीको बहावले बाँधको किनारमा लगाइएका तारजालीसमेत बगाएको प्रहरीले जनाएको छ ।
कटान शुरु गरे पछि सुरक्षाकर्मीले बाँध बचाउन पहल थालेका छन् । कटान रोक्ने प्रयास भए पनि सोंचे अनुसारको उपलब्ध हुन सकेको छैन ।
कटान तीब्र भएपछि प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरे, प्रहरी उपरीक्षक गोबिन्दराम परियार, सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेल, नेपाली सेनाका गुल्मपती सरोज अधिकारीलगायतको टोलीले निरीक्षण गरेका छन् ।
‘सुरक्षाकर्मीहरुले तत्काल बाँध सुरक्षित राख्न र थप कटान हुन नदिन काम गरिरहेका छन्,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘नदीको बहाव झन् उग्ररुपमा छ । सदरमुकाम गौरलाई पनि खतरा छ ।’
इनरवा, देवाही, करुनिया, भसेडवा, कर्कच कर्मैयामा क्षति पुर्याइरहेको छ भने बागमती नदीले बडहरवा, समनपुर, धर्मपुर, गम्हरीया पर्साको लक्ष्मीपुर गाविसमा खतरा उत्पन्न गरेको छ ।
उता, बागमती र बकैयासँगै पूर्वपश्चिम महेन्द्र राजमार्गको चाँदी खोलाको लच्का, पसहालगायतका खोलाहरुमा पनि बाढी आएको छ । बाराको दुधौरामा रहेको पक्की पुलमा बाढीले क्षति पुगे पछि यातायात समेत प्रभावित बनेको छ ।
प्रतिक्रिया