काठमाडौं : विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबारक्षेत्रस्थित अशोकविनायक (मरु गणेश) मन्दिरको पुनर्निर्माण भएको छ ।
अशोकविनायक गुठीद्वारा हालै आयोजित एक समारोहमा उपराष्ट्रपति परमानन्द झाले पुनर्निर्मित मन्दिरमा पूजाआजा गरेर उद्घाटन गरेका छन् । हिन्दू धर्मावलम्बीको आस्था र विश्वासका रूपमा रहेको अशोकविनायक मन्दिरको पुनर्निर्माणले यस क्षेत्रको शोभा बढाएको उपराष्ट्रपति झाको भनाइ थियो ।
उपत्यकाका प्रमुख चार गणेशका रूपमा कार्यविनायक, जलविनायक, चन्द्रविनायक र अशोकविनायकलाई लिने गरिन्छ । अशोकको रूख भएको ठाउँमा गणेश मन्दिर निर्माण गरिएकाले मरु गणेश अशोकविनायकको नामले परिचित छ । ७९ लाखको लागतमा उक्त मन्दिरको पुनर्निर्माण गरिएको गुठीले जनाएको छ । मन्दिर पुनर्निर्माणका लागि विभिन्न संघसंस्था र दाताबाट एक करोड ६ लाख आर्थिक सहयोग प्राप्त भएको गुठीका अध्यक्ष मचाकाजी महर्जनले बताए ।
समारोहमा मन्दिर पुनर्निर्माणमा २५ हजारभन्दा माथिको आर्थिक सहयोग प्रदान गर्ने दातालाई कदरपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया