काठमाडौं, ९ जेठ । कांग्रेस सभापति सुशील कोइरालाले आफैंले गरेका निर्णय सातादिन नबित्दै प्राविधिक त्रुटि भन्दै भटाभट सच्चाउन थालेका छन् । पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवासँगको लामो किचलोपछि बल्लतल्ल हालै विभाग गठन गरेका कोइरालाले दुईवटा विषय प्राविधिक त्रुटि भएको भन्दै दुई दिनमा सच्चाएका हुन् ।
नेता देउवा समूहका साथै संस्थापन पक्षबाटै विरोध आउन थालेपछि ४२ विभाग गठन गरेका कोइराला अप्ठेरोमा परेका छन् । विभागीय नियुक्तिलाई पुनर्गठन गर्ने बताएका उनले दुई विभागका दुई सदस्य त्रुटिवश परेको भन्दै बुधबार सच्चाएका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव चिनकाजी श्रेष्ठले दुई दिनमा दुईवटा विज्ञप्ति जारी गरेर कोइरालाका दुईवटा त्रुटि सच्चाइ दिएका छन् । गैरसरकारी संस्था एवं सामाजिक सेवा विभागको विशेष आमन्त्रित सदस्य बनाइएका उदयपुरका सञ्जीव थापा र प्रचार विभागमा राखिएका पत्रकार जगत नेपालको निर्णयलाई सच्चाइएको हो । दुवैलाई सदस्य पदबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ ।
बुधबार जारी विज्ञप्तिमा थापालाई सल्लाहकारबाट हटाइएको उल्लेख छ । त्यसैगरी, पत्रकार नेपाललाई पनि सदस्यबाट हटाइएको जनाइएको छ । ‘प्रचार विभागको सदस्यमा यज्ञ नेपाल (बर्दिया) हुनुपर्नेमा प्राविधिक त्रुटिबस जगत नेपाल (बर्दिया) हुन गएकोमा सो सच्याइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
कोइरालाले ४ जेठमा केन्द्रीय विभागको गठन गरेका थिए । देउवा पक्षका साथै संस्थापन पक्षकै नेताहरूले आफूहरूलाई नसोधी विभाग गठन गरेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाइसकेका छन् ।
चिनियाँ राजदूतले कोइरालालाई भेटे
काठमाडौं : कांग्रेस सभापति सुशील कोइराला र चिनियाँ राजदूत उ चुन्ताइबीच बुधबार बिहान भेट भएको छ । कोइरालाको महाराजगन्जस्थित निवासमा बुधबार बिहान भएको भेटवार्तामा द्विपक्षीय हित तथा नेपालमा अब हुने संविधानसभा चुनावबारे छलफल भएको थियो ।
भेटमा कोइरालाले राजदूतलाई मंसिरभित्र चुनाव भइसक्ने र यसका लागि सबै दल छलफलमा केन्द्रित भएको जवाफ दिएका थिए । उनीहरूबीच भारत र चीनको सम्बन्धबारे पनि छलफल भएको थियो । छलफलका क्रममा कोइरालाले चीन र भारत नेपालका छिमेकी भएकाले दुई मुलुकबीचको सम्बन्ध सुधारको पक्षमा कांग्रेस रहेको बताएका थिए ।
प्रतिक्रिया