कांग्रेसले विभाग बनायो

काठमाडौं, ६ जेठ । आगामी संविधानसभा चुनावलाई लक्षित गर्दै कांग्रेसले विभागहरूलाई पूर्णता दिएको छ । पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीचको विवादका कारण विभागहरूले पूर्णता पाउन सकेको थिएन ।
चुनावलाई मध्यनजर गरी सभापति कोइरालाले वरिष्ठ नेता देउवासँगको सहमतिमा लामो विवाद टुंगो लगाउँदै विभागलाई पूर्णता दिएका हुन् । कांग्रेस मुख्यसचिव चिनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार कोइरालाले आइतबार ४१ वटा विभाग गठन गरेका हुन् । आनन्दप्रसाद ढुंगानालाई संगठन विभाग, दिलबहादुर घर्ती स्थानीय निकाय, सुजाता कोइराला अन्तर्राष्ट्रिय सम्बन्ध, मिना सुब्बा सांस्कृतिक, मीना पाण्डे महिला, मिनेन्द्र रिजाल प्रचार, पूर्णबहादुर खड्का संसदीय, शंकर भण्डारी तरुण, नविन्द्रराज जोशी विद्यार्थी, शेखर कोइराला पेसागत एवं वुद्धिजीवी, चन्द्र भण्डारी शिक्षा, सशांक कोइराला स्वास्थ्य, डा. नारायण खड्का गैरसरकारी संस्था एवं सामाजिक सेवा, महालक्ष्मी उपाध्याय डिना अनुसन्धान तथा अभिलेख, दीपकुमार उपाध्यायलाई उद्योग व्यापार विभागको संयोजक तोकिएको छ ।
त्यस्तै अजय चौरासिया यातायात तथा व्यवसाय, बालकृष्ण खाँड कृषि तथा सहकारी, पुष्पा भुसाल संवैधानिक तथा कानुन, भीष्मराज आङदेम्बे आदिवासी तथा जनजाति, अम्बिका बस्नेत अनुगमन तथा मूल्यांकन, धनराज गुरुङ खेलकुद, डा. प्रकाशशरण महत प्राकृतिक श्रोत, कमला पन्त प्रशासन, बद्री पाण्डे श्रमिक,  अर्जुनप्रसाद जोशी नेपाली जनसम्पर्क समिति समन्वय, लक्ष्मी राई वैदेशिक रोजगार क्षेत्र समन्वय, सुजाता परियार अपांग, जीवन परियार दलित, ईश्वरी न्यौपाने द्वन्द्व व्यवस्थापन, दीपक गिरी निर्माण व्यवसायी समन्वय, मो फर्मुल्लाह मंसुर मुस्लिम, कविता कुमानरी सरदार बातार वन तथा वातावरण, उमाकान्त चौधरी तराई–मधेस, किशोरसिंह राठौर पर्यटन, मिनाक्षी झा सिँचाइ तथा पूर्वाधार विकास, गगन थापा संघीय मामिला, पार्वती डिसी चौधरी शान्ति सुरक्षा र सेवा, राजनप्रसाद पन्त वित्तीय संस्था समन्वय, मनमोहन भट्टराई साहित्य, कला तथा संस्कृति, सीता गुरुङ विज्ञान तथा प्रविधि, सूर्यमान गुरुङ काठमाडौं सम्पर्क समिति समन्वय र रमेश रिजाल भूपू सैनिक विभागको संयोजक तोकिएका छन् ।
महाधिवेशनको दुई महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने प्रावधान रहे पनि कोइराला र देउवाबीच कुरा मिल्न बाँकी रहेका कारण एक सहमहामन्त्रीका साथै केन्द्रीय समिति, संसदीय समितिको टुंगो लागेको छैन । कोइरालाले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित भने गरिसके पनि केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । चार केन्द्रीय सदस्य र एक सहमहामन्त्री मनोनयन गर्न बाँकी छ । भीमबहादुर तामाङको निधनपछि केन्द्रीय समितिमा थप एक स्थान रिक्त छ ।
कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले विभाग गठनमा देखिएको समस्या समाधान भएको बताए । उनले भने, ‘विभाग गठनका विषयमा साथीहरूले उठाउनुभएका विषयलाई सम्बोधन गर्ने गरी त्यसलाई सभापतिले पूर्णता दिनुभएको छ र पूर्ण सहमतिमा विभाग गठन भएको हो ।’

प्रतिक्रिया