एक्लिँदै खनाल

JNकाठमाडौं, ३१ वैशाख । चार वर्षअघि महाधिवेशनबाट एमाले अध्यक्षमा निर्वाचित झलनाथ खनाल पार्टीभित्र एक्लिँदै गएका छन् । पार्टीका मुद्दामा अडान लिन नसकेको भन्दै विपक्षी खेमाले र्‍याखर्‍याख्ती पारिरहेका बेला खनालकै कोटरीका नेताहरूले पनि संरक्षण नगरेको भन्दै साथ छाड्न थालेका छन् ।
पार्टी अध्यक्ष र सरकारको नेतृत्व गर्दासमेत संरक्षण नगरेको गुनासो खनालका सहयोगी मानिने नेताहरूको छ । पार्टीको आन्तरिक संघर्षमा त्यस्ता नेताहरू स्वतन्त्र धारका रूपमा उदाएका छन् ।
पार्टी महाधिवेशनमा महासचिव ईश्वर पोखरेल, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा र स्थायी समिति सदस्य भरतमोहन अधिकारीलगायतका पुराना नेताहरू खनालको पक्षमा थिए । युवा नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, विजय पौडेल, प्रकाश ज्वाला, सुरेन्द्र पाण्डे र अरुण नेपाललगायतका नेताहरू खनालका सबैभन्दा विश्वासपात्र मानिएका थिए ।
तर, आफू नेतृत्वको सरकार गठन गर्दा खनालले पार्टीलाई थाहै नदिई एकीकृत माओवादीसँग सात बुँदे सम्झौता गरेदेखि महासचिव पोखरेल खनालसँग अलग छन् । अन्य पार्टीहरूसँग हुने संवादहरूमा कमजोर रूपमा प्रस्तुत हुने र पार्टीको नीतिगत निर्णय विपरीत सहमति गरेर आउने गरेको भन्दै पछिल्लो समय अनुशासन आयोग अध्यक्ष बोहोरा र अधिकारी पनि अध्यक्ष खनालसित रुष्ट भएका छन् ।
युवा नेताहरू भुसाल र भट्टराईको समूहले खनालको निकटता तोडेर आफूलाई गुट निरपेक्ष बनाउँदै लगेको छ । पार्टीको मुख्य नेतृत्व असफल भएकोले शीर्ष नेताहरू पदबाट हट्नु पर्ने उनीहरूको निष्कर्ष छ । ‘सधैँ एक ठाउँमा हुनु स्थायी गुटबन्दी हो हामी स्थायी गुटबन्दीको गैर माक्र्सवादी व्यवहारका पक्षमा छैनौँ’,नेता भट्टराईले सौर्यसँग भने, ‘एजेन्डाका आधारमा विरोध वा समर्थन हुन्छ, माक्र्सवादले हामीलाई आलोचनात्मक दृष्टि राख्न सिकाएको छ ।’
खनालको इतर पक्षले अगाडीदेखि नै माओवादीको एजेन्डा बोकेर आफ्नो स्वार्थका लागि पार्टीलाई कमजोर बनाउँदै लगेको आरोप लगाउँदै आएको छ । पछिल्लो पटक पार्टीको आन्तरिक एकता घोषणामा खनालले एमाओवादीलाई हेर्ने आफ्नो पुरानो दृष्टिकोण परिवर्तन गरेका थिए ।
खनाल निकटका नेताहरू अहिले खनाललाई पदले मात्रै नेता भएको बताउन थालेका छन् । राजनीतिक दृष्टिकोण र व्यवहारमा शीर्ष तहका सबै नेता असफल भएको उनीहरूको निष्कर्ष छ । ‘नेतृत्व तहमा रहेकाहरू अध्यक्ष मात्रै होइन, सबै यथास्थितिवादी छन् र अरू प्रगतिशील छन्’ भट्टराईले भने, ‘झलनाथ खनाल मात्रै होइन, उनीसँग प्रतिस्पर्धा गरेर नेतृत्वमा स्थापित हुन खोज्नेहरू पनि उस्तै देखिएका छन् । कुनै पनि हिसाबले फरक देखिएनन् ।’
खनाल निकट रहेर विगतमा विपक्षी समूहसँग टक्कर लिने नेताहरू अहिले पार्टीको भविष्यका लागि शीर्ष नेतृत्व तह सबैलाई बिदा गर्नुपर्ने बताउन थालेका छन् । ‘असफल भएको शीर्ष नेतृत्व तह सबैलाई बिदा गर्नु समयको माग हो, तर संगठनात्मक अवस्थाले त्यो नहोला यस्तो हुनु भनेको फेरि पार्टीले दु:ख पाउनु हो’, भट्टराईले भने ।
चार वर्षअघि सम्पन्न पार्टीको आठौँ महाधिवेशनमा खनाल र माधव नेपाल तथा केपी ओलीको ध्रुवमा बाँडिएका नेता कार्यकर्ताहरू पार्टीको निर्णय कार्यान्वयन लगायतका विषयमा सबै शीर्ष नेताको विपक्षमा उभिन पुगेका छन् । तलदेखि माथिसम्म विभाजित एमालेको अन्तरविरोध नेताको विपक्षमा कार्यकर्ता बन्न थालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति र प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने निर्णयमा केन्द्रीय कमिटीले समर्थन नगर्नु र नेताहरू समर्थनका लागि वाध्य हुन त्यसैको परिणामको रूपमा दोस्रो पुस्ताका नेताहरूले लिएका छन् ।
खनाल निकट रहेका नेताहरूले अलग धार निर्माण गरेर उनलाई छाडे पनि वरिष्ठ नेता माधव नेपाल र केपी शर्मा ओली पक्षीय नेताहरू भने आफ्नो समूहमै प्रतिवद्ध देखिएका छन् । अध्यक्ष खनालमा रहेको एमाओवादीपरस्त लाइन हाल पराजित भए पनि उनले विगतमा लिएका एमाओवादी परस्त लाइनले पार्टीलाई क्षति पुगेको निष्कर्षमा उनीहरू छन् ।
‘धेरै मुद्दाहरूमा उहाँ(खनाल)ले एमाओवादीको लाइन बोकेर हिँड्नुभयो र त्यसैमा टेकेर एमाओवादीले आफूलाई सुदृढ गर्ने अवसर पायो, अहिले त्यसको स्वीकारोक्ति भए पनि पार्टीमा त्यसको असर बाँकी नै छ’ केन्द्रीय सदस्य कर्णबहादुर थापाले सौर्यसँग भने, ‘पार्टी नेतृत्व चुकेका इस्युहरूमा अब करेक्सन गर्दै लैजानुपर्छ र नेतृत्वलाई ठीक ठाउँमा ल्याउनु पर्छ ।’

प्रतिक्रिया