काठमाडौं । भिजिट भिसा प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभामा बैठक बहिष्कार गरेका छन् ।
निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए ।
सभामुख घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्ने समय दिएका थिए । उनले यो सरकार नढलोस् भनी केही महिनाअघि भनेको उल्लेख गर्दै कुलिङ अफ पिरियडका बारेमा सभापतिले संसदमा प्रस्ताव गरेकोभन्दा फरक विषय पारित हुनु दुःखद भएको बताए ।
‘जुन दलसँग सम्बन्धित दलका नेताका बारेमा प्रश्न उठेको थियो । ती दलका नेताको संयोजकत्वमा समिति गठन नगर्ने सहमति एक वर्षअघि भएको थियो, तर यसपटक त्यसै गर्न खोजिएको छ, यो हामीलाई मान्य छैन,’ उनले भने ।
राप्रपाका सांसद दीपकबहादुर सिंहले निजामती विधेयकमा कुलिङ पिरियडको पनि संसदीय समिति बन्न लागेको उल्लेख गर्दै भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी जोडिएकाले यस बारेमा छानबिन गर्न संसदीय समितिको माग गरे ।
यस विषयमा किन संसदीय छानबिन समिति गठन नगरेको भनी प्रश्न गर्दै उनले राप्रपाले आजको बैठक बहिष्कार गर्ने बताए । रास्वपा र राप्रपाले आजको बैठकबाट बाहिरिएका छन् ।
प्रतिक्रिया