चाँदनीको पुस्तक लोकार्पण

काठमाडौँ । महिला अधिकार र लैंगिक समानताको क्षेत्रमा सक्रिय चाँदनी जोशीको संस्मरणात्मक पुस्तक ‘वेभिङ माइ साउथ एसियन टेपेस्ट्री’ सार्वजनिक गरिएको छ । जोशीकी छोरी सृष्टि जोशी मल्ल र छोरा प्रणय जोशीले ८० वर्षमा प्रवेश गरेकी आमालाई सम्मान गर्दै उत्सव आयोजना गरी सो कृति लोकार्पण गरिएको बताए । ललितपुरमा सम्पन्न विमोचन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुपति केदारभक्त माथेमा लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

बुकहिलले प्रकाशन गरेको सो पुस्तक लोकार्पणमा शिक्षाविद केदारभक्त माथेमाले आफ्नी सहपाठी जोशीको खुलेर प्रशंसा गरे । ‘जीवनका कठिन अवस्थामा निडर रही एक विद्रोही नारीको भूमिका निर्वाह गर्नुभयो र उहाँले जीवनमा आज यो सफलता प्राप्त गर्नुभएको हो’, माथेमाले भने ।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमीले नेपालमा मात्रै नभएर संसारभरका नारीका लागि चाँदनी जोशी प्रेरक रहेको बताए ।
सानैमा पाल्पाबाट बाबुआमाका साथमा काठमाडौँ आएर कलेज अध्ययन गरी पद्मकन्या कलेजबाट लेक्चरर जीवनको सुरुआत गरेकी जोशीले महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा ६० वर्ष बिताएकी छन् ।

प्रतिक्रिया