सिद्धान्ततः भुल सुधार्नु भनेको उच्च मानवीय संस्कारका साथ प्रगतिपथमा बढ्नु हो । विचरा हाम्रा पाको र अनुभवी भरिया करवीरले पनि भुल स्वीकार गरेनन् । उनको भुललाई तर्कसहित विरोध गर्ने क्षमता हामीमा भएन ।
तेलढल्ली खान पार गरेपछि हामी मल्ल लेकको धारैधार अगाडि बढ्यौँ । यात्राको १३औँ दिन दिउँसो १ बजेको थियो । ७ घण्टा त तेलढल्ली खान (४ हजार ५०० मिटर) सहित हिमालयका अन्य कठिन पखेरामा हिँडिसकेका थियौँ । हामी अङ्गिर खान र तेलढल्ली लेक नाघेर पूर्वपश्चिम फैलिएको पर्वतको धारको पश्चिम भागमा थियौँ । भोक र तिर्खाले खुट्टा काम्न थालेका थिए । अनुहार सेप्रो भएको थियो । थुम्कोमा बसेर मकै र भटमास चपायौँ । दिनको उज्यालोमा साइपालदेखि नजिकको गाउँ धुली पुग्ने आशामा प्रफुल्ल थियौँ ।
केहीबेरको हिँडाइपछि उत्तरतिर हलुका भिरालो र दक्षिणतिर ठाडो भिर भएको ठाउँमा ५ जना यार्सागुम्बा खोज्ने मित्रहरू फेला परे । म अरूभन्दा पछि थिएँ । मुकुन्दले उनीहरूसँग धुली जाने बाटोबारे सोधपुछ गर्दा उनीहरूले धुली जानका लागि धारैधार पूर्व गएर उत्तरतिरको तल्लो खानमा पुग्नुपर्ने सुझाव दिएछन् ।
करवीरले अनुभवको बाइनाकुलरले उत्तरतिर दृष्टि फिँजारे । उत्तरबाट ४ हजार २०० मिटरमा आपूm उभिएको पखेरो हेरेँ । त्यो पखेरोको तल्लो आधारभूमि १ हजार ७०० मिटरमा हुँदो हो । उनले यार्सारुले भनेको बाटो समातेनन् । सिधै पखेराबाट झरे, जहाँ बाटोको कुनै डोब देखिँदैनथ्यो । करिब १०० मिटर ठाडै झरेर त्यही पखेराको पूर्व लाग्यौँ र फेरि झ¥यौँ । त्यो उत्तर फर्केको पखेरोमा २ फिट अग्लो धूपको बाक्लो झाडी थियो । दक्षिण पखेरोमा घाँस थियो जहाँ यार्सागुम्बा पाइन्थ्यो । यार्सा खोजारु त्यस पखेरोमा थिएनन् । बाटोको डोब भेटिएको थिएन । पथप्रदर्शक देवेन्द्र र भरिया करवीर रोकाया हिमचितुवा देख्दा झारल हामफाल्दै झरेझैँ तल हामफाल्दै गए । बाटामा एउटा सानो खोलो भेटियो; त्यो झर्दै गरेको पखेराको बरफ पग्लेर बगेको थियो । मुकुन्द र ज्ञानेन्द्र हिमचितुवाले भेट्ला कि भन्ने डर भए जत्तिकै गतिमा हामफाल्दै झरे बिनाबाटो, बिनागोरेटो, बिनाबहस । म पनि बिनाकुनै तर्क माउभेडा भिरबाट हामफाल्दा अन्य भेडा हामफालेँझैँ हामफालेँ अज्ञात गन्तव्यतिर ।
करवीरसँग भारी थियो त्यसैले मैले उनलाई पछ्याउन सक्थेँ । मैले बीच–बीचमा सोध्थेँ ‘के मूल बाटो भेटिन्छ त ?’ उनले ‘अलि तल पुगेपछि तेर्सो गोरेटो भेटिन्छ, त्यसपछि पहाडको धारबाट झरेको मूल बाटोमा पुगिन्छ’ भन्थे तर हामी बिनाडोरेटो पखेरामा झरिरहँदा मनमा शंका र डर उब्जिरह्यो । ‘कतै हामी संकटको भुँमरीमा परिने त होइन ?’ मैले सोधिरहेँ तर करवीरले ‘भेटिन्छ’ भन्ने जबाफ दिइरहे । हामी त्यति तल झ¥यौँ कि वृक्षविहीन पखेरो नाघेर, हरियो वन, चिमाल र र काँडे झाडीमा प्रवेश ग¥यौँ । त्यसबेला हामी सबै ज्ञान, अनुमान, लक्ष्य, तर्कदेखि धेरै टाढा साँच्चिकै भेडाजस्तो एकसुरे भएर भिर खोज्दै झरिरहेका थियौँ ।
त्यति हुँदा पनि होसमा फर्केनौँ । देवेन्द्रलाई बाटो हेर्न पठाएर हामी पखेरामा बसेको भए पनि त हुन्थ्यो । सबैजना अनाहकमा भिर र झाडीमा हामफाल्नुपर्ने थिएन । त्यो दिन, त्यो समय हामी सबैको दिमाग शून्य भयो । ४ महामूर्ख विद्वानले भोको बाघमा प्राण हालिदिएर आफ्नो प्राण नै खतरामा पारेको दन्त्यकथाको पात्र हामी ५ महामूर्ख भिरतिर जाँदै थियौँ । घरिघरि बादल पन्छाएर हाम्रो दिनदशा साइपाल चुलीले भने देखेकै हो ।
अगाडि हिँड्ने मुकुन्द र सहयोगी देवेन्द्र भिर खोज्दै, सोचविचार नगरी चिमालको घना वनमा छिरे । म र करवीर पनि जबरजस्ती छि¥यौँ । बारम्बार मलाई अचम्मै लाग्छ कति मूर्ख भयौँ त्यो दिन हामी ! त्यो चिमालको वन कस्तो थियो भने मुख्य फेद एक फुट गोलाइको हुँदो हो । त्यसको उचाइ १५–२० फिट थियो तर त्यसका बाक्लै हाँगाहरू सिधै माथि नगई एकमाथि अर्कोसँग जोल्टिएर भुइँदेखि नै फिजारिँदै गएको थियो । एउटाको हाँगो अर्कोसँग जेलिएको थियो । बीचको खाली भागमा १–२ इन्च मोटाइका काँडाको झाडी थियो; त्यो काँडा चिमालको हाँगाबीच रहेको चेपमा गाँसिएका थिए ।
अपी आधार शिविर जाँदा मैले ती चिमालको रूखमा फुलेका विभिन्न रङका पूmलको तस्बिर लिएको थिएँ । तर त्यस दिन म ती चिमालको हाँगा पन्छाउँदै, बटारिएर जेलिएका तिनका हाँगोभित्र मेरो झोला छिराउँदै लठ्ठी बचाउँदै चिमालको पूmलसँग आफ्नै मूर्खताको कारण झर्किंदै थिए । म हतार गर्दै झर्दै गएँ । ५ महामूर्ख त्यो जंगलमा पाँचतिर भयौँ । मैले करवीरलाई नदेख्दा चिच्याएर पर्खन भन्थेँ । त्यसबेलासम्म उनले बाटो बिराएको भन्नेमा निश्चित भएका थिए तर गल्ती स्वीकार गर्दा सानो हुने मनोवैज्ञानिक अहंको कारण गल्ती स्वीकार गर्न मानेका थिएनन् । उनले गल्ती पटक्कै स्वीकार गरेनन् । त्यसैले ‘बाटो भेटिन्छ’ भनिरहे । झुटो बोलिरहे ।
मलाई अचम्मै लाग्छ, हाम्रोमा गल्ती स्वीकार गरियो भने प्रलय नै हुन्छ भन्नेजस्तो मानिन्छ । राजनीति गर्नेले पलपलमा अक्षम्य गल्ती गरेका हुन्छन् तर मरिगए गल्ती भयो भन्दैनन् । भरखरै प्रतिनिधिसभालाई नै झुक्याएर पारित गरेको विधेयकभन्दा आफ्नो स्वार्थ अनुकूल हुने गरी (कुलिङ अफ पिरियड सम्बन्धमा) दफा नै छिराए । कस्तो खतरनाक र डरलाग्दो खेल खेल्न सक्दा रहेछन् त उच्च पदमा रहने स्थार्थी राष्ट्रसेवकहरू र त्यसलाई भित्रभित्रै बलदिने राजनेताहरू ? हुन त आफ्नै नागरिकलाई भुटानी शरणार्थी बनाएर बेच्ने, भिजिट भिसामा गरिब नागरिकलाई बिल्लिबाठ पार्ने पनि यिनै सैतान हुन् । त्यस्तै राष्ट्रसेवक भएर होइन र ‘प्रजातन्त्र आउँदै छ’ भनेर सिक्किमका नागरिकलाई झुक्याएर स्वतन्त्र, सार्वभौम राष्ट्रलाई भारतमा गाभेको ? हेर्दै जाउँ । देखिएला । मलाई लाग्छ त्यो विधेयकमा गरेको गल्ती कसैले स्वीकार्ने छैन । जित प्रतिनिधिसभा जस्तो गरिमामय संस्थालाई झुक्याउने अपराधीहरूकै हुनेछ ।
सिद्धान्ततः भुल सुधार्नु भनेको उच्च मानवीय संस्कारका साथ प्रगतिपथमा बढ्नु हो । विचरा हाम्रा पाको र अनुभवी भरिया करवीरले पनि भुल स्वीकार गरेनन् । उनको भुललाई तर्कसहित विरोध गर्ने क्षमता हामीमा भएन । हामी यात्री तर्कहीन मूर्ख भएको कारण त्यस बेला साइपाल हिमालको दक्षिणतिरको मल्ल लेकको अति विकट पर्वतमा सेती नदीको पश्चिम पखेरामा एक प्रकारले भन्ने हो भने हरायौँ ।
एकपटक पाखुरामा काँडाले दरफराएपछि म मूर्ख होसमा आएँ । बाटो बिराएर हराएको, संकटको भुमरीमा परेको, त्यहाँबाट नफर्किने हो भने रात जोखिमपूर्ण हुने कुरा मेरो मनमा तरंगित भयो । मैले चिच्याउँदै भने ‘साथीहरू बाटो बिरायौँ । जंगलमा फस्यौँ । अब हामी छुट्टाछुट्टै नहिँडौँ । तुरुन्तै फर्कौं ।’
मैले देवेन्द्रलाई बोलाएँ । उनको जबाफी आवाज त्यो घना वनमा आएन । त्यसपछि म मनमनै डराएँ । देवेन्द्र बाटो खोज्ने बेलामा कतै पहरोमा चिप्लेर खसे कि ? गहिरो भड्खालोमा परे कि ? सानो खोलाको झरनानजिक चिप्लेर झरनासँगै तल खसे कि ? घाइते भए कि ? कथम्कदाचित् त्यस्तो दुर्घटना भएमा अब कसरी चैनपुरसम्म लैजाने होला ? त्यहाँ त हेलिकोप्टरको सम्भावना नै छैन । हामी त हिमालयको विकट क्षेत्रमा छौँ भन्ने तर्कना मनमा आयो । त्यसमा पनि म जो यो अपी र साइपाल हिमालको पदयात्रा गर्ने योजना आयोगको अध्यक्ष थिएँ, म बढी जिम्मेवार थिएँ । यद्यपि मैले त स्थानीय साथीहरूसँगको समन्वयमा उनीहरूले नै व्यवस्था गरेका सहयोगी देवेन्द्र र करवीरलाई साथ लिएर यात्रा गरेको थिएँ । मुख्य कुरा दुर्घटना नहोस् भन्ने चाहना हो ।
मैले ज्ञानेन्द्र, म, करवीर नछुट्टिने, तल नझर्ने, साथीहरूलाई माथि बोलाउने र फर्कने निर्णय गरेँ । चिच्चाउने क्रममा करिब ७० मिटर तल पूर्वी झाडीबाट मुकुन्दको आवाज आयो । मन ढुक्क भयो । त्यसपछि मुकुन्दले देवेन्द्रलाई त्यतैबाट चिच्च्याए । पश्चिम कुनोबाट देवेन्द्रको आवाज आयो ।
ती दुवै जनाले ‘त्यस पखेरोको तल्लो खण्डको झाडी तल सेती नदीसम्म नै फैलिएको, त्यसको ठीक तल अग्लो पहरो रहेको, दायाँबायाँ कतै छिर्न नसकिने’ जानकारी दिए । त्यसपछिको विकल्प फर्कनु नै थियो । त्यो भनेको केही समय पहिले झरेको झाडी, वृक्षहीन पर्वत हुँदै त्यही खुकुरीको जस्तै धारमा पुग्नुपर्ने थियो । बझाङको उत्तरी खोँचमा पाँचैजना सुरक्षित हुनु थियो ।
१ हातमा २ लठ्ठी र पिठ्युमा रुकस्याकसहित त्यो झाडीमा ओर्लनभन्दा उक्लन अचाक्ली कठिन भयो । चिमालको बटारिएर सुतेको हाँगा र काँडाको झाडीलाई एक हातले पन्छाउँदै, त्यसभित्र झोला छिराउँदै उक्लनुपथ्र्यो । हामी ४ हजार २०० मिटरबाट ३ हजार २०० मिटरमा झरेका रहेछौँ । करिब ३०० मिटर त हामी जंगली जनावर पनि नछिर्ने जस्तो झाडीमा फसेछौँ । उकालो फर्किन थालेपछि म एकप्रकारले हतोत्साहित भएँ । खुट्टा लुला भए । सामान्य खाजाबाहेक बिहानैदेखि तातो कुरा कसैको पेटमा परेको थिएन । १० घण्टा त ४ हजार ५०० देखि ३ हजार २०० मिटरको लेकमा तलमाथि गरिसकेका थियौँ । भोकले पेट हल्लिने, तिर्खाले घाँटी सुक्ने भयो । सबैलाई त्यस्तै भएको थियो ।
निकै मिहिनेतसाथ झाडी खण्ड पार भयो । पखेरो देखियो । अलि साहस आयो । सम्भावित पहिलो दुर्घटनाबाट जोगियौँ भन्ने मनमा लाग्यो । चिमालघारी नाघेर खुला ठाउँमा पुग्यौँ । झोलामा भएको दालमोठ, चिउरा, पानीसँग खायौँ । धन्य, महामूर्खहरूसँग खानेकुरा बाँकी नै थियो ।
त्यसपछि ५०० मिटर उकालो चढेर धारमा पुग्नुपर्ने थियो । मैले मेरो क्यामेरा पनि देवेन्द्रलाई बोक्न दिएँ । दुवै लठ्ठीलाई छोटो बनाएँ । हिमबन्चरोले हिउँमा क्वाक्दै बाटो बनाउँदै उक्लने तरिकाले लठ्ठी पखेरामा गाड्दै त्यसको सहारामा चढ्दै गएँ । लठ्ठीले धेरै मद्दत ग¥यो । बाक्लो हुस्सु लागेको थियो, नजिकैको साथी पनि देखिदैनथ्यो ।
मनमा अब त दुर्घटनामा परिन्न कि भन्ने विचार जन्म्यो तर धुली वा बिहान चढेको तेलढल्लीको खान सम्झँदा डर लाग्थ्यो । न धुली पुगिन्थ्यो न त बिहान हिँडेको पखेरोमा । त्यो डर किन उब्ज्यो भने हामीसँग धेरै समय थिएन । पाल त थियो तर त्यहाँ पाल टाँग्न मिल्ने समथर ठाउँ थिएन । त्यस्तै कुरा मनमा खेलाउँदा खेलाउँदै ५ बजे हामी जुन ठाउँबाट विपरीत बाटो लागेका थियौँ; त्यसै ठाउँमा पुग्यौँ ।
त्यहाँबाट फटाफट धुलीको लागि पूर्व लाग्यौँ । त्यो त्यहीमाथि भने जस्तै खुकुरी धार आकारको थियो । कतै बाटोको डोब हो कि जस्तो देखिन्थ्यो अनि हराउँथ्यो । साँझ ५ः३० बजे यस्तो ठाउँमा पुगियो कि जहाँ डोरेटोको डोब नै देखिएन । त्यो हिमालय पर्वतको धार पूर्वतिर गएको थियो । बाटो नदेखिए पनि धुली जाने बाटोचाहिँ त्यही नै थियो । धेरै टाढा एउटा थोरै काटिएको खान देखिएको थियो । त्यसैबाट झरेर सेती नदीमा पुग्नुपर्ने थियो । अँध्यारो हुन लागेकोले मन तड्पियो । त्यस बेला ४ हजार ४०० मिटरमा पर्वतको टुप्पोमा थियौँ ।
मुकुन्द सबैभन्दा अगाडि थिए । उनले भने ‘दाइ बाटोको डोब देखिन छोड्यो । भिर झन् ठाडो, कठोर र डरलाग्दो देखियो । रातमा अनकन्टार भिरको बीचमा फसिन्छ जस्तो छ । फर्कौं ।’ उनीसँगै बानियाँ थिए । उनी पनि सहमत भए । हामी पर्वतको बीचमा थियौँ । दिउँसो बाटो बिराएकोले कुनै न कुनै दुर्घटना त हुनैपर्ने थियो । दुर्घटना हुन मर्नै पर्ने, अंगभंग हुनैपर्छ भन्ने पनि त छैन । हामी धुली जान सक्दैनथ्यौँ; त्यो कता हो कता भयो । समयले नेटो काटेको बेला, अन्धकारले पदभार सम्हाल्दै थियो । मुकुन्दको प्रस्तावलाई बिनातर्क मैले पनि स्वीकारेँ ।
वास्तवमा फर्केर हामी कहाँ जाने हो भन्ने बारे म शून्य थिएँ । पारिको पखेरोमा बिहान पाल देखिएका थिए तर ती त २ पहाड नाघेर जानुपथ्र्यो । अर्को विकल्प तेलढल्ली खान पुग्ने, जहाँ बिहान उक्लँदै गर्दा एउटा पाल भेटिएको थियो । त्यो ठाउँ पुग्न तेलढल्लीको धुरीमा पुगेर चिप्लो बरफको आधा पर्वत झर्नुपथ्र्यो । त्यो धेरै कठिन थियो । रातमा चिप्ल्यो भने कहाँ पुगिने हो थाहै हुँदैनथ्यो । त्यहाँ पुग्न त कम्तीमा ४ घण्टा लाग्थ्यो । मैले त्यो मात्र विकल्प देखेको थिएँ । पाल टाँग्ने ठाउँँ पनि थिएन । त्यस्तो कठिन अवस्थामा ओहोरदोहोर गर्दा अर्को १ घण्टा त्यत्तिकै बित्यो । साँझ पर्न थालेको मन अत्तालिँदै झन् छिटोछिटो बिनामार्ग कुद्थ्यो ।
साँझको ६ बज्यो । अब हामीसँग मुस्किलले ९० मिनेट बाँकी थियो । त्यो बीचको जीवन अनिश्चित थियो । कतै छुस्स ठक्कर लाग्यो भने गुडुल्किँदै कता हो कता अनकन्टार भड्खालोमा पुगिन्थ्यो । ‘जिउँदै शरीर कम्पायमान हुने ठाउँमा रातमा के होला ?
हिउँमा चिप्लेपछि रातमा कसरी कसले मद्दत गर्न सक्छ र ? लास भेटिने ठाउँ छैन । हुन त लास पनि किन चाहियो र ? हैन, लास त चाहियो नि, अन्तिम संस्कार कर्मका लागि । अन्यथा, हामी सबैको विश्वास त्यही नै छ कि भूत बनेर आत्मा भौतारिन्छ र आफन्तलाई सताउँछ । मान्छे वा कुनै पनि प्राणीको मृत्युपछि उसको अन्त हुन्छ । भूत, प्रेत, पुनर्जन्मको रूपमा जन्म लिन असम्भव छ भन्ने सत्य र यथार्थ कुरामा हामी विश्वास गर्दैनौँ । दार्शनिक चार्वाकले भनेको ‘भस्मिभूतस्य देहस्य ः पुनारागमनम् कुतः ?’ जलेर खरानी भएको शरीर फेरि फर्केर कहाँ आउँछ आउँदैन भन्ने सत्य स्वीकार्न डराउँछौँ ।
‘हत्तेरिका के यात्रा गरिएछ ? के आजको रात बाँचिएला ? आज कतै दुर्घटनामा परिएन भने त पक्कै बाँचिएला । अघिल्लो रात बा सपनामा आउनुको कारण त्यही खतराको संकेत गर्न आउनुभएको हो त ?’ पाइला चाल्दाचाल्दै त्यस्ता डरलाग्दा कुरा मेरो मनमा खेले । होसियार हुनुपर्छ भन्ने सन्देशको लागि मैले यी कुरा लेखेँ । बीचमा पुगेपछि मुकुन्दसँग जिज्ञासा राखेँ ‘पारि पखेरामा देखिएका छाप्रोमा पुग्न सकिएला त ? त्यो टाढा र कठिन ठाउँमा छ । अब हामी तेलढल्ली खानबाट झर्ने त हो नि । मलाई डर लागेको छ । सँगसँगै जाऊँ है ।’
‘दाइ, त्यहाँ जान त कहाँ सक्नु ? बिहान तपाईंले चिच्याएर हामीलाई रोक्नुभएको ठाउँ जहाँ हामी बसेका थियौँ, त्यो धारभन्दा केही तल मैले पाल देखेको थिएँ । हामी त्यहीँ जाने हो दाइ, उता गयौँ भने त हामी कोही पनि बाँच्दैनौँ नि दाइ ।’ मुकुन्दले भने । त्यसपछि भने मैले राहत महसुुस गरेँ । ‘त्यसो हो भने त बाँचिन्छ कि क्या हो’ भन्ने कुरा मनमा खेल्न थाल्यो । सुखद् पक्ष त्यहाँ हिउँ र बरफ थिएन । बढीमा २ घण्टामा त्यहाँ घस्रेर भए पनि अवश्य पुगिनेछ भन्ने मनमा आशा जाग्यो । मैले सकिनसकी बढाएको गतिलाई धिमा पारेँ ।
एउटा अग्लो पखेरो उक्ल्यौँ । त्यो घेचोमा पुग्यौँ जहाँ बिहान बाटो बिराएर दक्षिणतिर लागेका थियौँ । त्यो ठाउँमा पुगेपछि त्यत्तिकै साहस थपियो । आशा लाग्यो । त्यसबेला साँझको साढे ७ बज्यो । त्यो शुक्ल तृतीयाको साँझ रहेछ, २०८१ वैशाख २९ को ।
पश्चिममा बादलको भुल्को थियो । देब्रे हातले भित्तोको भर लिएँ । दाहिने हातमा २ लठ्ठी र पिठ्युँमा झोला थियो । ‘घुमीफिरी रुम्जाटार भनेझैँ’ हामी दिउँसो हिँडेको ४ हजार २०० मिटरको धारमा थियौँ । त्यस खण्डमा हरियो वन त्यस्तै ३ हजार मिटर तल थियो । त्यसभन्दा माथि घाँस थियो जहाँ बिहान यार्सागुम्बा टिप्नेहरू टाँसिएका थिए । ती सुकेका खरको गाँजमा अचानक चमक देखियो । बादलभित्रबाट तृतीयाको जुनको प्रकाश फुत्त बाहिर निस्केर सुकेको फुस्रो खरमा प¥यो । खर चमक्क चम्क्यो । जहाँ अत्यन्त कठिन थियो ठिक त्यही ठाउँमा प्रकाशको प्रतिछायाले बाटो देखाइदियो । त्यस बेला मलाई त्यो एउटा चमत्कारजस्तो लाग्यो । प्रकृति नै सृष्टिको मुख्य तŒव हो भन्नमा विश्वास गर्ने मलाई प्रकृतिले साथ थियो । त्यसबेला जुनको प्रकाशले पखेरो उज्यालो बनाएझैँ मेरो हृदय पनि हर्षले तरंगीत भयो ।
मुख्य पर्वतको बीचबाट दक्षिणतिर झरेको धारको डोरेटो भेटियो । मेरो मनमा अर्को खुसी थपियो । लामो सन्तोषको सास तानेँ । अब त्यो रात कतै दुर्घटनामा परिँदैन भन्ने विश्वासले मनमा बास बस्यो । जीवनलाई ‘कठै’ भनेर माया गर्न मन लाग्यो । ती पखेरामा खर घाँस पलाएझैँ मेरो मनमा जीवनप्रति माया पलाएर आयो । टिठ पनि लाग्यो । ‘जीवन, तैँले तेरै कारणले कष्ट भोग्नुपथ्र्यो भोगिस्, त्यति दुःख नभोगे तैँले अपी र साइपालको माया कसरी पाउँथिस्’ भन्ने लाग्यो । आशा जागेकोले करवीरलाई रोकेँ । २ मिनेट त्यही धारमा लम्पसार परेर आराम गरेँ । त्यस बेला तारागण टिलपिलाउँदै दयालु नजरले साइपाल हिमशृंखलातिरबाट मलाई हेरेजस्तो लाग्यो ।
डोरेटो नै नहुने ठाउँमा सजिलो त के हुन्थ्यो, आँट र भरोसाले सजिलो लाग्यो । अर्को पखेरोमा पुगेपछि कल्याङमल्याङ मानव आवाज सुनियो । त्यो त झन् अचम्म हुँदो रहेछ । उच्च हिमालको एकान्त ठाउँ । साँझ परेको बेला । डर, भोक, प्यास, थकानले सोत्तर परेको अवस्थामा मानव आवाजमा चामत्कारिक शक्ति हुँदोरहेछ, त्यो मैले त्यसभन्दा पहिलेका यात्रामा अनुभव गरेको थिइनँ । मानव आवाज ताराको उज्यालोभन्दा शक्तिशाली र भरपर्दो थियो । रातको ८ बजेको थियो । धार उस्तै भिरालो थियो । पाइला धिमा थिए । हामी मुख्य हिमालयको दक्षिण काखमा करिब ३ हजार ९०० देखि ४ हजार मिटरको उचाइमा थियौँ । त्यसबेला त्यो मानव आवाज सुन्दा म यति हर्षित भएँ कि यदि ठाउँ हुन्थ्यो भने म त्यहीँ देउडा गीत गाएर छमछमी नाच्ने थिएँ ।
विकट, विकराल, रात, एकान्त र बाटो हराएको परिवेश थियो । थकान, भोक, कुन र कस्तो दुर्घटनामा परिने हो कि भन्ने एक तमासको मुटु थर्थराउने त्रासले घेरेको थियो । त्यस्तो अवस्थामा टाढाबाट सुनिएको मानव आवाजको कल्याङमल्याङ सुन्दा त्यति हर्ष लाग्यो जुन कल्पनाभन्दा निकै पर थियो । मानव आवाजमा त्यो शक्ति हुँदो रहेछ भन्ने त्यो विपद्को बेला बल्ल चाल पाएँ । त्यो आवाजले मेरो मनलाई हर्षित, भिरलाई समथर, डरलाई साहस र थकानलाई फुर्तीमा बदल्यो । हामी झर्दै गयौँ । मेरो पछाडि करवीर आउँदै थिए । देब्रे हातले लठ्ठी समातेर दाहिनेले टर्चलाइट बाल्दै आफ्नोभन्दा प्रिय घर बझाङ सुर्मा गाउँका यार्सालुको छाप्रोमा पुग्यौँ । त्यो मल्ल लेकभन्दा दक्षिणमा रहेको काल्थुम जुरोको पखेरो थियो ।
प्रतिक्रिया