हुँदै नभएको विद्यालयका नाममा भ्रष्टाचार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमा नै नभएको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । डोल्पाको जिल्ला प्राविधिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढामाथि बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

डोल्पाको तत्कालीन दुनै गाविसमा दुर्गा प्रावि तिप्ला नामको विद्यालयको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको आरोप उनीहरूमाथि लगाइएको छ । जबकि उक्त विद्यालय अस्तित्वमा नै नभएको आयोगले जनाएको छ । हालको ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामा श्री लालीगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा छ । तर, लालीगुराँसका नाममा आर्थिक वर्ष २०६७÷६८ मा भवन निर्माणका लागि कुनै पनि बजेट विनियोजन नभएको र भवन पनि नबनेको पाइएको अख्तियारले जनाएको छ ।

आरोपपत्रमा पजियारसहित तत्कालीन लेखापाल कुर्मी, दुर्गा प्राथमिक विद्यालयको २ कोठे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा, कोषाध्यक्ष संगीता बुढालाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले गरेको अनुसन्धानका क्रममा उनीहरूले तत्कालीन समयमा काल्पनिक विद्यालयको उपभोक्ता समिति गठन गरी जस्ता–छानासहितको २ कोठे भवन निर्माणका नाममा नक्कली कागजात तयार पारेर चेकमार्फत् ७ लाख ६० हजार रुपैयाँ जिल्ला प्राविधिक कार्यालयबाट भुक्तानीसमेत लिएको पाइएको छ ।

प्रतिक्रिया