पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । बिहीबार साइबर अपराधको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलासले पत्रकार पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको हो । पाठक आज बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए ।

आजै बकपत्र गराएर थुनछेक बहस भएको थियो । पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको सामग्री युट्युबमा प्रसारण गरेको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरेको थियो ।

उक्त कार्यक्रम भिडिओ, स्क्रिनसट, कागजातहरू पनि अभियोग पत्रका साथ पेस गरिएको छ । प्रहरीले पाठकलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिए पनि उच्च अदालत पाटनले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।

सोही कारण पाठकको बयानसमेत नगराई अदालतमा अभियोग पत्र बुझाइएको छ । उनलाई विद्युतीय कारोबार ऐन९२०६३ अन्तर्गत सजाय माग गरिएको छ । उनीविरुद्ध देउवा परिवारले उजुरी दिए पनि अभियोग पत्रमा जाहेरवालाको नाम उल्लेख छैन ।

विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुरमा सजाय हुन माग दाबी गरिएको छ । यस्तै हाल फरार भनिएका पाठकलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ५७ बमोजिम अदालतबाट पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ ।

प्रतिक्रिया