काभ्रे । बेरोजगार युवामा नयाँ आशा र रोजगारदाता संस्थामा आवश्यक जनशक्तिको खोज मिलाउन काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले आगामी असार २६ र २७ गते विशेष ‘रोजगार मेला’ आयोजना गर्ने भएको छ । नगरपालिका बैठक कक्षमा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत मेलाको औपचारिक घोषणा गर्दै विभिन्न पक्षहरूबीच समन्वयका तयारीहरू सार्वजनिक गरिएका छन् ।
रोजगारी सिर्जना, क्षमता पहिचान र नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको मेला धुलिखेल नगरपालिकाको नेतृत्वमा, समग्र नगरका व्यवसायिक र शैक्षिक क्षेत्रसँग सहकार्यमा हुने बताइएको छ ।
रोजगारी मेलामा के–के रहनेछ ?
मेलामा रोजगारदाता कम्पनीहरू, उद्योग व्यवसायी, सीप आधारित संस्था, अस्पताल, होटल, विश्वविद्यालय, कृषि उत्पादक, उद्यमी, युवा समूहलगायतका प्रतिनिधिहरूको उपस्थिति रहने कार्यक्रम संयोजक सम्झना शर्मा नेपालले जानकारी दिइन् ।
नगरप्रमुख अशोक ब्याज्जुका अनुसार मेलाबाट स्थानीयस्तरमै रोजगारी सिर्जना, दक्ष जनशक्तिको पहिचान र तथ्यांक संकलनका साथै अन्तरनिकाय सहकार्यलाई मजबुत बनाइने छ । उनले भने, ‘हामी हाट बजार, रैथाने खानाको ब्राण्डिङ, कोसेली घर सञ्चालन जस्ता कार्यक्रममार्फत समेत रोजगारी सिर्जनामा योगदान दिनेछौँ ।’
काउन्सेलिङदेखि सीप विकाससम्म
नगर प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीका अनुसार मेला अवधिभर करियर काउन्सेलिङ, व्यवसायिक सल्लाह, सीप विकास तालिम, कृषि उपज प्रदर्शनी, नगरमा भइरहेका रोजगार कार्यक्रमको जानकारी लगायतका स्टलहरू रहनेछन् ।
नेपाल सरकारले धुलिखेल नगरपालिकालाई नमुना रोजगार सेवा केन्द्रका रूपमा छनोट गरिसकेको सन्दर्भमा यो मेला राष्ट्रिय स्तरमै उदाहरणीय हुने अपेक्षा गरिएको छ । मेलासँगै नगरपालिकाले स्थानीय व्यवसायिक योजना निर्माण, सहकारी सहकार्य, उद्यम प्रवर्द्धन लगायतका विषयमा पनि छलफल र कार्यान्वयन अघि बढाउने बताइएको छ ।
पत्रकार सम्मेलनमा नगरका सामाजिक विकास समितिका संयोजक धुलिखेल– ३ का वडाध्यक्ष गणेश आचार्य, नगरका वडाध्यक्षहरू, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, महिला उद्यमी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने तथा सरोकारवालाहरूको उपस्थिति थियो ।
प्रतिक्रिया