काठमाडौँ । काठमाडौं जिल्ला अदालतमा पत्रकार दिलभूषण पाठकको बयान थालिएको छ । न्यायाधीश खेमराज भट्टको इजलासमा बिहीबार (असार १९) बयान सुरु गरिएको हो । बयानपछि त्यही इजलासमा आजै पाठकको थुनछेक बहस हुनेछ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय मागदाबी गर्दै सोमबार (असार १६) मुद्दा दायर गरेको थियो ।
उक्त दफाअनुसार एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । गएको जेठ २८ गते पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटेल खरिद गर्न लागेको भिडियो सामग्री प्रसारण गरेका थिए । युट्युबाट सार्वजनिक उक्त भिडियो आधारहीन रहेको दाबीसहित जयवीरले उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
तर, असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यही कारण पाठकलाई पक्राउ नगरी मुद्दा दायर गरिएको हो ।
प्रतिक्रिया