भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

मुम्बई । पहलगाम आतंकवादी हमलापछि भारतमा सबै पाकिस्तानी कलाकारहरूको सामाजिक सञ्जाल खाताहरू प्रतिबन्धित गरिएको थियो । अब उनीहरूको सामाजिक सञ्जाल खाताहरूमाथिको प्रतिबन्ध हटाइएको छ । यद्यपि, हानिया आमिर र माहिरा खानजस्ता धेरै सेलिब्रेटीहरू छन् जसको खाताहरू अझै पनि प्रतिबन्धित छन् । बलिउड फिल्म ‘सनम तेरी कसम’मा देखिएकी पाकिस्तानी अभिनेत्री मावरा होकेनको इन्स्टाग्राम अहिले भारतमा सक्रिय देखिन्छ । उनीबाहेक सबा कमर, युम्ना जैदी, दानिश तैमुर, अहद रजा मीरजस्ता कलाकारहरूको खाता पनि सक्रिय भएको छ ।


दिलजीत दोसाँझसँग फिल्म ‘सरदारजी–३’ मा देखिएकी अभिनेत्री हानिया आमिरको इन्स्टाग्राम खाता भारतमा अझै प्रतिबन्धित छ । उनको खाता खोल्दा ‘यो खाता भारतमा उपलब्ध छैन । कानुनी अनुरोधका कारण यी सामग्रीहरू प्रतिबन्धित गरिएको छ’, भन्ने सुनिन्छ ।


हानियाबाहेक फवाद खान, माहिरा खान, अली जफर र आतिफ असलमको खाता पनि उपलब्ध छैन । पहलगाम आतंकवादी हमलापछि भारत सरकारको कानुनी अनुरोधका कारण पाकिस्तानी कलाकारहरूको खाताहरू प्रतिबन्धित गरिएको थियो ।
यसबाहेक, गृह मन्त्रालयको सिफारिसमा भारत सरकारले १६ पाकिस्तानी युट्युब च्यानलहरू प्रतिबन्ध लगाएको छ । सरकारी स्रोतका अनुसार यी च्यानलहरूलाई भारत, भारतीय सेना र सुरक्षा एजेन्सीहरू विरुद्ध भड्काउने, साम्प्रदायिक र भ्रामक समाचार फैलाएको आरोप लगाइएको थियो ।


सन् २०१६ मा उरी आक्रमणपछि सबै पाकिस्तानी कलाकारहरूलाई भारतमा काम गर्न प्रतिबन्ध लगाइएको थियो । यही कारणले गर्दा माहिरा खान, फवाद खानजस्ता कलाकारहरूले धेरै भारतीय फिल्महरू छोड्नुपरेको थियो । सन् २०२३ मा, बम्बई उच्च अदालतले पाकिस्तानी कलाकारहरूलाई प्रतिबन्ध लगाउने याचिका खारेज गर्दै राजनीतिक तनावका कारण कलाकारहरूलाई सजाय दिन नसकिने बताएको थियो ।


सन् २०२३ मा प्रतिबन्ध हटेपछि, पाकिस्तानी कलाकारहरूले फेरि हिन्दी सिनेमामा काम पाउन थाले । हानिया आमिरले दिलजित दोसाँझसँग फिल्म सरदार ३ मा काम पाएकी थिइन् भने फवाद खान फिल्म अबीर गुलालबाट बलिउडमा पुनरागमन गर्न लागेका थिए । तर, २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि फवादको चलचित्र ‘अबीर गुलालको’ रिलिज रोकियो, जुन ९ मेमा रिलिज हुने तय थियो ।


अर्कोतर्फ, फिल्म ‘सरदार जी–३’ भारतको सट्टा विदेशमा रिलिज भएको छ । हानियासँग काम गरेकोमा दिलजीतमाथि देशद्रोहको आरोप लगाइएको छ । उनको नागरिकता रद्द गर्न पनि माग गरिएको छ । मावरा होकेन फिल्म ‘सनम तेरी कसम–२’ मा देखिने भनिएको थियो, तर विवादपछि फिल्मका मुख्य अभिनेता हर्षवर्धन राणेले यदि मावरा फिल्ममा रहे भने उनी फिल्मको हिस्सा नहुने घोषणा गरे ।


फिल्म फेडरेसन अफ वेस्टर्न सिने इम्प्लोइज ले हालै सूचना तथा प्रसारण मन्त्रालयलाई पत्र लेख्दै यदि कुनै भारतीयले पाकिस्तानी कलाकारहरूसँग काम गरेमा उनीविरुद्ध देशद्रोहको मुद्दा दायर गरिने स्पष्ट पारेको थियो । साथै, पाकिस्तानी कलाकारहरूसँग काम गर्ने व्यक्तिलाई भारतीय उद्योगबाट प्रतिबन्ध लगाइने बताइएको थियो ।

प्रतिक्रिया