वागमतीमा खाद्य बालीको क्षेत्र र उत्पादन घट्यो, कृषि कर्जा बढी काठमाडौँ केन्द्रित

काठमाडौँ । बढ्दो सहरीकरण तथा युवा जनशक्ति पलायनको कारण अन्य प्रदेश जस्तै बागमती प्रदेशको कृषि क्षेत्र खुम्चिँदै गएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययनको अर्धवार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा खाद्य बालीले ढाकेको कुल क्षेत्रफल ५ दशमलव ३ प्रतिशतले घटेको हो । गत वर्ष थोरै बढेको खाद्य बालीले ढाकेको क्षेत्रफल यो वर्ष निकै घटेको हो ।

समीक्षा अवधिमा धान बालीले ढाकेको क्षेत्रफल २ दशमलव ९ प्रतिशत, गहुँ बालीले ढाकेको क्षेत्रफल ४ दशमलव ९ प्रतिशत, कोदो बालीले ढाकेको क्षेत्रफल ५ दशमलव १ प्रतिशतले मकै बालीले ढाकेको क्षेत्रफल ६ दशमलव ६ प्रतिशत, फापर बालीले ढाकेको क्षेत्रफल १६ दशमलव १ प्रतिशतले र जौ बालीले ढाकेको क्षेत्रफल २५ दशमलव ६ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा तरकारी बालीले ढाकेको क्षेत्रफल १३ दशमलव ७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा उक्त क्षेत्रफल ११ दशमलव ६ प्रतिशतले बढेको थियो । फलफूलले ढाकेको क्षेत्रफल २० दशमलव ५ प्रतिशतले घटेको छ भने, अर्कोतर्फ मसला बालीले ढाकेको क्षेत्रफल ४ दशमलव ९ प्रतिशतले बढेको छ ।

खाद्य बालीले ढाकेको क्षेत्रफलमा सिन्धुपाल्चोक जिल्लाको हिस्सा सबैभन्दा बढी (१३ दशमलव ८ प्रतिशत) र रसुवा जिल्लाको सबैभन्दा कम (१ दशमलव ३ प्रतिशत) रहेको छ । तरकारी बालीले ढाकेको क्षेत्रफलमा धादिङ जिल्लाको हिस्सा सबैभन्दा बढी (३० दशमलव २ प्रतिशत) र भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम (३ दशमलव ४ प्रतिशत) रहेको छ । यसैगरी, फलफूल बालीले ढाकेको क्षेत्रफलमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी (४९ दशमलव ८ प्रतिशत) र भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम (शून्य दशमलव २ प्रतिशत) रहेको छ । मसला बालीले ढाकेको क्षेत्रफलमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी (२७३ प्रतिशत) र काठमाडौँ जिल्लाको हिस्सा सबैभन्दा कम (१ दशमलव १ प्रतिशत) रहेको छ ।

जिल्लागत उत्पादन

राष्ट्र बैंकको प्रतिवेदनअनुसार खाद्य बालीको उत्पादनमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी (१५ दशमलव ६ प्रतिशत) र रसुवा जिल्लाको हिस्सा सबैभन्दा कम (शून्य दशमलव ९ प्रतिशत) रहेको छ । तरकारी तथा बागवानी उत्पादनमा ललितपुर जिल्लाको हिस्सा सबैभन्दा बढी (२६ दशमलव शून्य प्रतिशत) र रामेछाप जिल्लाको हिस्सा सबैभन्दा कम (१ दशमलव ८ प्रतिशत) रहेको छ । यसैगरी, फलफूल बालीको उत्पादनमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी (३८ दशमलव ४ प्रतिशत) रहेको छ भने भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम (शून्य दशमलव ४ प्रतिशत) रहेको छ । मसला बालीको उत्पादनमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी (४५ दशमलव १ प्रतिशत) रहेको छ भने रामेछाप जिल्लाको हिस्सा सबैभन्दा कम (शून्य दशमलव ३ प्रतिशत) रहेको छ ।

खाद्य बालीको उत्पादन घट्यो

समीक्षा अवधिमा वागमती प्रदेशमा खाद्य बालीको उत्पादन ४ दशमलव ३ प्रतिशतले घटेको छ, भने फापर उत्पादन ४ दशमलव ४ प्रतिशतले बढेको छ । धान उत्पादन १ दशमलव १ प्रतिशतले, मकै उत्पादन ३ दशमलव ७ प्रतिशतले कोदो उत्पादन ५ दशमलव १ प्रतिशतले गहुँ उत्पादन १५ दशमलव ५ प्रतिशतले र जौ उत्पादन ३६ दशमलव शून्य प्रतिशतले घटेको छ । गत वर्ष धान, कोदो र जौ उत्पादन बढेको थियो, भने मकै, गहुँ र फापर उत्पादन घटेको थियो ।

तरकारीको उत्पादन बढ्यो

समीक्षा अवधिमा तरकारीको उत्पादन २१ दशमलव ८ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा तरकारी उत्पादन १ दशमलव ३ प्रतिशतले बढेको थियो ।

फलफूल उत्पादन घट्यो

समीक्षा अवधिमा फलफूलको उत्पादन २२ दशमलव शून्य प्रतिशतले घटेको छ । फलफूलहरू मध्ये स्याउ उत्पादन १३ दशमलव ६ प्रतिशतले बढेको छ, भने सुन्तला उत्पादन ३६ दशमलव २ प्रतिशतले, आँप उत्पादन ४ दशमलव ७ प्रतिशतले केरा उत्पादन ४ दशमलव ५ प्रतिशतले र अन्य फलफूल उत्पादन १५ दशमलव ४ प्रतिशतले घटेको छ ।

दुध र मासुको उत्पादनमा वृद्धि

त्यस्तै, पशुपक्षी उत्पादनतर्फ चालु आवको ६ महिनामा दुध उत्पादन २ दशमलव २ प्रतिशतले मासु उत्पादन ३ दशमलव १ प्रतिशतले र अन्डा उत्पादन शून्य दशमलव ४ प्रतिशतले बढेको छ । छाला उत्पादन शून्य दशमलव ६ प्रतिशतले र ऊन उत्पादन शून्इ दशमलव ९ प्रतिशतले घटेको छ ।

गत वर्षको सोही अवधिमा दूध उत्पादन ३ दशलमव ३ प्रतिशतले मासु उत्पादन २ दशमलव ४ प्रतिशतले, अण्डा उत्पादन २ दशमलव ७१ प्रतिशतले, ऊन उत्पादन ८ दशमलव १ प्रतिशतले बढेको थियो भने छाला उत्पादन २ दशमलव ३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा माछा उत्पादन शून्य दशमलव १ प्रतिशतले बढेको छ, भने गत वर्षको सोही अवधिमा माछा उत्पादन ८ दशमलव ६ प्रतिशतले बढेको थियो । वनजन्य उत्पादनतर्फ औषधिजन्य उत्पादन ३६ दशमलव ७ प्रतिशतले बढेको छ, भने काठ र दाउरा उत्पादन घटेको छ ।

पशुजन्य उत्पादन कुन जिल्लामा कति ?

काभ्रेपलाञ्चोक जिल्लामा सबैभन्दा बढी (७२ दशमलव ७ प्रतिशत) दुध उत्पादन भएको छ भने रसुवा जिल्लामा सबैभन्दा कम (शून्य दशमलव १ प्रतिशत) दूध उत्पादन भएको छ । मासु उत्पादनमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी (१७ दशमलव ५ प्रतिशत) र रसुवा जिल्लाको हिस्सा सबैभन्दा कम (१ प्रतिशत) रहेको छ ।

अन्डा उत्पादनमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी (३८ दशमलव ६ प्रतिशत) र रसुवा जिल्लाको हिस्सा सबैभन्दा कम (शून्य दशमलव १ प्रतिशत) रहेको छ । यसैगरी, माछा उत्पादनमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी (७८ दशलमव ४ प्रतिशत) र रसुवा जिल्लाको हिस्सा सबैभन्दा कम (शून्य दशमलव १ प्रतिशत) रहेको छ ।

बागमतीको ३४ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वागमती प्रदेशको कुल खेतीयोग्य क्षेत्रफल ५ लाख ६७ हजार ३७ हेक्टरमध्ये ४ लाख २६ हजार ३२८ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । साथै, कुल १ लाख ४५ हजार ६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । यस प्रदेशमा कुल खेती गरिएको क्षेत्रफलमा ३४ दशमलव शून्य १ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । समीक्षा अवधिमा यस प्रदेशको कुल सिञ्चित क्षेत्रफल ५ दशमलव ७ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा सिञ्चित क्षेत्रफल ९ दशमलव ५ प्रतिशतले बढेको थियो ।

कृषि कर्जा बढ्यो, कर्जा केन्द्रीकृत रूपमा प्रवाह

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट वागमती प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव ४ प्रतिशतले वृद्धि भई १ खर्ब २० अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जामा ६ दशमलव २ प्रतिशतले कमी आएको थियो । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश ३ दशमलव ७ प्रतिशत रहेको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौँ जिल्लाको अंश सबैभन्दा बढी ४८ दशमलव ६ प्रतिशत तथा दोलखा जिल्लाको अंश सबैभन्दा कम शून्य दशमलव ५ प्रतिशत रहेको छ । यसैगरी, चितवनको अंश २४ दशमलव ७ प्रतिशत, मकवानपुरको अंश ५ दशमलव ३ प्रतिशत, काभ्रेपलाञ्चोकको अंश ४ दशमलव ५ प्रतिशत, धादिङको अंश ३ दशमलव ५ प्रतिशत, नुवाकोटको अंश ३ दशमलव ३ प्रतिशत, ललितपुरको अंश ३ दशमलव १ प्रतिशत, भक्तपुर जिल्लाको अंश २ दशमलव ७ प्रतिशत, सिन्धुली जिल्लाको अंश १ दशमलव ८ प्रतिशत, सिन्धुपाल्चोक जिल्लाको अंश शून्य दशमलव ९ प्रतिशत, रामेछाप जिल्लाको अंश शून्य दशमलव ६ प्रतिशत र रसुवा जिल्लाको अंश शून्य दशमलव ६ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयहरूको कर्जा प्रवाह गर्ने सीमा तोकिए बमोजिम हुने भएकाले सो भन्दा बढी रकमको कर्जा केन्द्रीकृत रूपमा काठमाडौँ अवस्थित सोही संस्थाका केन्द्रीय कार्यालयबाट प्रवाह हुँदा काठमाडौँ जिल्लाको अंश केही बढी रहेको देखिएको बताइएको छ ।

प्रतिक्रिया