जनकपुरधाम । जनकपुरधामकी चर्चित कलाकार अनिशा (अंशा) सदा झाको रहस्यमय मृत्यु पछिल्लो समय स्थानीय, सामाजिक संजाल र कलाकारमाझ बहसको केन्द्र बन्दै गएको छ । गत असार ८ गते सोमबार जनकपुरधाम उपमहानगरपालिकास्थित नोचापुरको एक घरमा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । मृत अवस्थामा भेटिएकी अनिशा सुटिङस्थलमै नियमित रूपमा काम गर्दै आएकी थिइन् भने शारीरिक तथा मानसिक रूपमा सामान्य अवस्थामा भएको बताइएको छ ।
अनिशा सदा झाको विवाह झण्डै ६ महिनाअघि त्यही घरमा बस्ने अर्का कलाकार अभिनाश झासँग (जो युट्युबमार्फत ‘कलकतियाबाली’ को नामले चिनिन्छन्) भएको थियो । विवाहपछिको छोटो अवधिमा नै यस्तो घटनाले परिवारदेखि कलाकार समुदायसम्मलाई स्तब्ध बनाएको छ । उनका परिवारजन तथा स्थानीयले यो घटना आत्महत्या नभएर नियोजित हत्या भएको शंका गरेका छन् ।
अनिशासँगै बस्दै आएकी उनकी बहिनी मनिषा (मंशा) सदाले घटनास्थलको घर विगतदेखि नै असामान्य भएको बताउँदै आएकी छन् । उनका अनुसार, सोही घरमा पूर्वमा पनि अप्रिय घटना घटिसकेको थियो । ‘त्यही घरमा गोलगप्पा भनिने अर्का युट्युबर एकपटक अचानक बेहोस भएका थिए, अनि त्यहाँ पालिएका बोकाहरू र कुखुराहरू एकैदिन मरेका थिए,’ मंशाले भनिन्, ‘मैले बहिनीलाई धेरैपटक त्यहाँ नबस्न भनेकी थिएँ तर उनी मानिनन् । अहिले त्यहीँ झुन्डिएको अवस्थामा फेला पर्नु संयोग मात्रै होइन ।’
अनिशाका पिताले छोरी सानैदेखि डरपोक स्वभावकी रहेको र झुन्डिएर आत्महत्या गर्न सक्ने हैसियत नै नरहेको दाबी गरेका छन् । उनले कसैले नियोजित रूपमा अनिशाको हत्या गरी आत्महत्या देखाउने प्रयास भएको आरोप लगाएका छन् । साथै घटनाको गम्भीर छानबिन गरिनुपर्ने माग गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
अनिशाका पति अभिनाश झाले भने आफूले हत्या नगरेको दाबी गर्दै घटनास्थलको घरमा भूतप्रेतको प्रभाव हुनसक्ने संकेत गरेका छन् । उनका अनुसार घरको वातावरण असामान्य रहेकाले हनुमान आराधना, सत्यनारायणको पूजालगायत झारफुकसमेत गरिएको थियो । ‘एकपटक अनिशामाथि पनि भूत लागेको जस्तो देखिएको थियो । त्यसपछि मैले झारफुक गरेर उनलाई जन्तर लगाउन दिएको थिएँ,’ उनले भने, ‘घटनाको दिन उनले जन्तर लगाउन बिर्सिइन् र सम्भवतः त्यही कारणले यस्तो भयो होला ।’ अभिनाशले अनिशासँग राम्रो सम्बन्ध रहेको, दुवै खुसीसाथ बसिरहेको र हत्या गर्न सक्ने मान्छे आफू नभएको दाबी गरेका छन् । उनले आफूमाथि लागेको हत्याको आरोपप्रति आपत्ति जनाउँदै सत्य उजागर होस् भन्ने चाहना व्यक्त गरेका छन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बरुणबहादुर सिंहले अनिशाको मृत्यु प्रकरणमा गहिरो अनुसन्धान भइरहेको बताएका छन् । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त नभइसकेकोले अहिल्यै ठोस रूपमा के भन्न सकिन्छ भन्न सकिन्न’, डिएसपी सिंहले भने, ‘तर घटनाको सबै पक्षबारे छानबिन भइरहेको छ । मृतकका परिवारजन, श्रीमान, नजिकका साथीहरूलगायत सबैसँग सोधपुछ भइरहेको छ ।’ उनले घटना आत्महत्या हो वा हत्या भन्ने विषयमा यकिन गर्न केही समय लाग्ने बताएका छन् ।
युट्युबमार्फत कलकतियाबाली शृंखला चलाउँदै आएका सञ्चालक अरुण विजयले केही जनकपुरधामको नोचा पोखरीस्थित जग्गा लिजमा लिएर त्यहाँ केही फुसको घर निर्माण गरी सुटिङ स्टुडियो निर्माण गरेका छन् । त्यहीँ सबै कलाकारहरू बस्दै आएका थिए । सहरदेखि केही टाढा रहेको उक्त ठाउँमा बस्न र खानका लागि सम्पूर्ण वस्तुहरू त्यहीँ नै उत्पादन गर्दै आएका थिए भने सोही ठाउँमा दैनिक सुटिङ गरी युट्युबमा अपलोड गर्दै आएका थिए ।
मिथिला क्षेत्रका प्रसिद्ध मैथिली गायक पनि रहेको अरुण विजयले आफ्नै कथा तथा निर्देशनमा मैथिली फिल्म कलकतिबाली पनि निर्माण गरेका थिए जसको मुख्यपात्र अनिशा सदा झा र उनका श्रीमान अभिनाश झा नै रहेको थिए । जुन असार १७ गते रिलिज हुने भएको थियो । अनिशाको मृत्युपछि फिल्म रिलिज पनि रोकिएको छ । नेपाल र भारतको मैथिली भाषाभाषीहरूमा निकै नै प्रख्यात रहेको कलकतिवाली शृंखलाले त्यसमा काम गरेको सम्पूर्ण कालाकारहरूलाई ठुलै पहिचान तथा युट्युबको माध्यमबाट राम्रै आम्दानी गराएका थिए ।
युट्युबबाट प्रसारण हुने हेर्ने कथाले कलकतियाबाली टिमको शृंखला बनाई प्रस्तुत गरेपछि उनको टिमको झन् प्रख्याती बढेको थियो । सोही टिमले अभिनाश र अनिशाको प्रेमविवाहसमेत गराएको थियो । ज्ञातव्य होस् कि अभिनाश बाहुन थरका र अनिशा मुसहर (दलित) थरका थिइन् ।
धनुषाको विदेह नगरपालिका–२ दुहवी टोल निवासी अभिनाश झा कुनै समय रेडियो टुडेमा समाचार वाचकको रूपमा कार्यरत थिए । त्यस समय उनी आफूलाई सञ्चार तथा कलाकारितामा स्थापित गर्ने प्रयासमा थिए । त्यसै क्रममा, गायक अरुण विजयसँग सहकार्य गर्दै उनले युट्युबमार्फत मैथिली हास्य शृंखलाहरू प्रस्तुत गर्न थाले । यस सहकार्यपछि उनी र उनको टिमले जनप्रियता हासिल गर्दै युट्युबमा व्यापक सफलता पाए । अभिनाश झाले अरुण विजयसँग मिलेर दर्जनौँ मैथिली गीतहरूमा समेत स्वर दिएका छन्, जसले गर्दा उनी गायकका रूपमा पनि लोकप्रिय बनेका छन् ।
जनकपुर
प्रतिक्रिया