आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च जाँदै महान्यायाधिवक्ता कार्यालय

काठमाडौँ । बम विष्फोटका घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने जनकपुर उच्च अदालत, वीरगन्ज इजलासको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले उच्च सरकारी वकिलको कार्यालय, वीरगन्जमा पुनरावेदनका लागि पठाउन भनिसकेको छ भने केही दिनभित्रै सर्वोच्चमा उक्त मुद्दा दर्ता हुने सर्वोच्चले जानाएको छ ।

न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जेठ १४ गते आलमलाई इँटाभट्टामा जिउँदै जलाएको विषयमा सफाइ दिने फैसला गरेको थियो । तर, उच्चको त्यो फैसला नै विवादमा परेको थियो । फैसला सुनाउने न्यायाधीश थारू र अर्जुन महर्जनविरुद्ध न्याय परिषद्मा उजुरीसमेत परेको छ भने मृतक त्रिलोकप्रताप सिंह ‘पिन्टु’का बुबाले अन्यायपूर्ण फैसलाविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएका थिए । हाल दुवै न्यायाधीशमाथि न्याय परिषद्ले छानबिन अघि बढाएको छ र उनीहरूलाई काजका लागि सर्वोच्च अदालतमा तानिएको छ ।

यसअघि आलमसहित ४ जनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको थियो । २०६४ सालमा रौतहटमा भएको बम विष्फोटपछि घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोपमा उनीहरूलाई जन्मकैदको सजाय सुनाइएको थियो । तर, जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत वीरगन्जले आलमसहित सबैलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया