काठमाडौँ । रुपन्देहीको क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सोमबार बसेको निर्वाचन आयोगको पदाधिकारी बैठकले यसबारे निर्णय गरेको हो । आयोगका कार्यवाहक प्रवक्ता रामप्रसाद भण्डारीले आगामी कात्तिक १७ गते निर्वाचन गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिए । रुपन्देही–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको चैत १९ गते मृत्यु भएकाले त्यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । ४ मंसिर, २०७९ मा सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बोहरा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै विजयी भएका थिए ।
रुपन्देही–३ मा सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाका सबै वडासहित बुटवल उपमहानगरपालिकाका–१४, १५, १६, १७, १८ र १९, ओमसतिया गाउँपालिकाको वडा–२, मायादेवी गाउँपालिकाका वडा–७ र ८, तिलोत्तमा नगपालिका–१३ र १४ तथा सियारी गाउँपालिकाका–१, २, ३, ६ र ७ नम्बर वडा पर्छन् ।
निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै असार १७ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि मतदाता नामावली दर्ता स्थगन गरेको छ । निर्वाचन मिति घोषणा भइसकेकाले निर्वाचन प्रक्रियाका लागि मतदाता नामावली दर्ता नहुने व्यवस्था भएकाले नियमित रूपमा भइरहेको मतदाता नामावली अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उपनिर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । तर, नेकपा माओवादी केन्द्रसँगै रास्वपा, राप्रपा तथा मधेसवादी दलहरू पनि प्रतिस्पर्धामा छन् । यस पटक राप्रपाबाट त्यस क्षेत्रमा कुनै बलियो प्रतिद्वन्द्वी नभएकाले कांग्रेस–एमाले ढुक्क छन् ।
तर, २०७९ सालको निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ पाएको मत हेर्दा कांग्रेस र एमालेले ढुक्क हुन सक्ने अवस्था छैन । २०७९ सालमा त्यस क्षेत्रमा कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६ र रास्वपाले १४ हजार १५४ समानुपातिक मत पाएका थिए । रास्वपाले पहिलो पटक निर्वाचनमा भाग लिँदै गर्दा ल्याएको उक्त मतलाई सहज मानेर अघि बढ्नेमा दुवै दल छैनन् ।
उता, मधेस केन्द्रित ७ दलको संघीय लोकतान्त्रिक मोर्चाले पनि साझा उम्मेदवार अघि सार्ने विषयमा सहमति गरिसकेका छन् । साझा उम्मेदवारका लागि नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीबीच दाबी छ । २०७९ सालमा नाउपाले ६ हजार १०, जसपा नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३ र जनमतले ३ हजार ७३२ समानुपातिक मत पाएका थिए । यदि मोर्चाले उपनिर्वाचनमा मोर्चाबन्दी गरेर अघि बढे परिणामले अर्को मोड पनि लिन सक्छ ।
प्रतिक्रिया