बुद्धिजीवीको भूमिका भनेको चाकडी गरेर खाने वर्ग होइन । आफ्नो बुद्धिद्वारा जीविकोपार्जन गर्ने वर्गलाई बुद्धिजीवी भनिन्छ । राष्ट्रनिर्मातामाथि त्यसरी लान्छना लगाउँदा ताली पिट्ने या मौन बस्ने वर्गलाई कसरी बुद्धिजीवी भन्ने ? नेकपा एमालेको बुद्धिजीवी परिषद् चाकडीबाजहरूले भरिएको स्पष्ट हुन्छ । नेकपा एमालेभित्र बौद्धिक अभ्यास अब एकादेशको कथा बन्ने संकेत यो घटनाले देखाएको छ ।
गत जेठ १७ शनिबार आयोजित एक सार्वजनिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उछितो काढ्न नेपाली भाषामा भएका कुनै पनि शब्द बाँकी राखेनन् । उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई, पुरातनपन्थी, अदूरदर्शी, मिचाह, तानाशाह, अविवेकी भन्दै गर्दा कतिपय सहभागीले ताली पड्काए भने कतिपय मौन रहे ।
प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिद्वारा राष्ट्रनिर्मातामाथि यस्तो खालको टिप्पणी गर्नु र त्यस्ता टिप्पणी सुन्ने सहभागीहरूले तत्काल आपत्ति प्रकट गर्नुको सट्टा ताली पड्काउनु तथा मौन बस्नले हाम्रो समाज कतिसम्म कृतघ्न हुँदै गएको रहेछ ? भन्ने उजागर गर्छ । प्रधानमन्त्री ओलीद्वारा यस्ता अभिव्यक्ति आउनुभन्दा पनि ठूलो सोचनीय विषय भनेको उक्त कार्यक्रममा सहभागीहरूको मौनता हो । किनकी पृथ्वीनारायण शाहले देश निकाला गरेका इसाई जासुसद्वारा आयोजित कार्यक्रममा ओलीले यो कुरा बोलिरहेका थिएनन्, नेपाल एकीकरण भएकोमा नोक्सान पुगेको शक्तिद्वारा आयोजना गरिएको कार्यक्रम पनि थिएन त्यो । नेकपा एमालेका बुद्धिजीवीहरूद्धारा आयोजित कार्यक्रम थियो त्यो ।
बुद्धिजीवी भनेको चाकडी गरेर खाने वर्ग होइन । आफ्नो बुद्धिद्वारा जीविकोपार्जन गर्ने वर्गलाई बुद्धिजीवी भनिन्छ । राष्ट्रनिर्मातामाथि त्यसरी लान्छना लगाउँदा ताली पिट्ने या मौन बस्ने वर्गलाई कसरी बुद्धिजीवी भन्ने ? नेकपा एमालेको बुद्धिजीवी परिषद् चाकडीबाजहरूले भरिएको स्पष्ट हुन्छ । नेकपा एमालेभित्र बौद्धिक अभ्यास अब एकादेशको कथा बन्ने संकेत यो घटनाले देखाएको छ । आफू नेपाली भएकोमा गौरव गर्ने, नेपालको प्रतिष्ठा वृद्धि भएको देख्न चाहने जो कसैले पनि पृथ्वीनारायण शाहलाई पुरातनपन्थी, अदूरदर्शी, मिचाह, तानाशाह, अविवेकी भन्दैन ।
३०० वर्ष अघिको कुरा ल्याएर पृथ्वीपथ भन्ने ? भन्दै प्रधानमन्त्री ओली कुर्ले । नेपाल एकीकरण गर्ने क्रममा बलको प्रयोग भएकै हो, कतिपय ठाउँमा जबरजस्ती र छलकपट पनि भएकै हो । तर त्यतिबेलाको परिस्थिति तथा घटनालाई अहिले प्रचलनमा आएको मानवअधिकारका मूल्य–मान्यतासँग जोडेर एकांकी विश्लेषण गर्ने हो भने पृथ्वीनारायण शाहलाई मिचाह भन्न सकिएला । प्रधानमन्त्री ओलीले समय निरपेक्ष भएर बोल्ने क्रममा नानाथरी आरोप लगाए । तर समयसापेक्ष विश्लेषण गरिनुपर्छ भन्ने सुझाव कसैले दिएनन् ।
पौने ३०० वर्षअघिको नेपाली समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई आधार बनाएर पृथ्वीनारायण शाहको बारेमा विश्लेषण गर्ने हो भने उनी पुरातनपन्थी होइनन कि अग्रपन्थी थिए । कतिपय रुढीवादी मूल्य मान्यताको अन्त्य गराए । सैन्य सेवामा संलग्न क्षेत्री तथा व्राह्मणले खाना खाने बेलामा धोती फेर्न नपर्ने परिपाटी पृथ्वीनारायण शाहले नै बसालेका हुन् । उनी जत्तिको दूरदर्शी शासक त नेपालले अहिलेसम्म पाएकै छैन भन्ने कुरा उनको दिव्योपदेशले छर्लंग पार्छ । लडाइँबाट जितेका भूभाग भाइछोरामा अंश लगाउने त्यतिबेलाको चलनलाई उनले नतोडेको भए नेपाल भन्ने देश विश्व मानचित्रमा देख्न पाइने नै थिएन ।
एकीकरणका लागि भौतिक बलको सहारा लिनुपर्ने तत्कालीन परिस्थितिमा समेत पृथ्वीनारायण शाहले ‘जाइकटक नगर्नु झिकिकटक गर्नु’ भन्ने निर्देशन दिएको देखिन्छ । सायद अहिले भन्ने गरिएको मानवअधिकार पनि प्रकारान्तरले यही हो । ‘जाइकटक नगर्नु, झिकिकटक गर्नु’ भन्ने पृथ्वीनारायण शाहले नेपालले छिमेकप्रति लिनुपर्ने निर्देशनात्मक नीति विचार नै विश्वस्तरको अनाक्रमण परराष्ट्र सिद्धान्त हो । यो निर्देशन÷विचार नेपालले मात्र होइन विश्वका हरेक राष्ट्रले तय र पालन गर्नुपर्ने विदेश नीति हो । यो हरेका राष्ट्रहरूको सहसम्बन्धको मेरुदण्ड पनि हो । यो नीति मात्र हरेक राष्ट्रले पालन गर्ने हो भने संयुक्त राष्ट्रसंघलगायत कुनै पनि अन्तर्राष्ट्रिय संघ संस्थाहरूले युद्धसम्बन्धी कुनै पनि प्रस्ताव पास गर्नुपर्ने अवस्था नै आउँदैन वा नआउन सक्छ । यो अनाक्रमण परराष्ट्र सिद्धान्त हो । अर्थात् यो युद्धविरोधी अनाक्रमण परराष्ट्र सिद्धान्त हो । र, यो आत्मरक्षाको वैधानिक अन्तर्राष्ट्रिय स्तरको सिद्धान्त पनि हो ।
प्रधानमन्त्री ओलीले आरोप लगाएजस्तै पृथ्वीनारायण शाहको पालामा संविधान थिएन । किनकी त्यतिबेला संविधान या विधान शब्दको प्रयोग हुँदैनथ्यो । तर, शासन सत्ता सञ्चालन कसरी गर्ने ? भन्ने लिखित दस्तावेजलाई संविधान भन्ने चलनलाई आधार मान्ने हो भने दिव्योपदेशका रूपमा आएको दस्तावेज नै संविधान हो । दिव्योपदेशमा धेरै मार्गदर्शनहरू छन् । पृथ्वीनारायण शाह कतिसम्म प्रजातान्त्रिक थिए भन्ने कुरा आफूले रुचाएका विराज बखेतीलाई काजी नियुक्त नगरी जनताले रुचाइएका कालु पाण्डेलाई काजी बनाइएको प्रसंगले पनि स्पष्ट हुन्छ । त्यति मात्रै होइन, ‘जनता जोदेखि राजी हुन्छन्, उसैलाई काजी बनाउनु’ भन्दै उनले लिखित नै गरे ।
समग्रमा भन्नुपर्दा विश्वका विभिन्न देशमा विभिन्न प्रकारले राजसंस्था स्थापना भएको पाइन्छ । कहीँ अरूको सत्ता खोसेर राजतन्त्र स्थापना भएको इतिहास छ भने कसैले देशको जन्म आफैँले दिएर राजतन्त्रलाई निरन्तर अघि बढाएको पाइन्छ । त्यसमध्ये पृथ्वीनारायण शाह कसैको गद्दी खोसेर नेपालको राजा बनेका होइनन् । किनकी वर्तमान नेपाल निर्माण गरेको शाहवंशीय राजसंस्थाले हो । नेपाल हजारौँ वर्ष पुरानो देश हो भन्ने कुरामा विवाद छैन । तर मल्ल शासनकालको उत्तराद्र्धमा नेपाल भन्ने देश अस्तित्वमा थिएन । काठमाडौँ उपत्यकालाई नेपाल भनिन्थ्यो, तर यसभित्र छुट्टाछुट्टै ३ वटा राज्य थिए । त्यसैले वर्तमान नेपालको जन्मदाता पृथ्वीनारायण शाह हुन् भनेर ढुक्कसँग भन्न सकिने अवस्था छ ।
पृथ्वीनारायण शाह नवनेपालको निर्माताका अलावा नेपालको मौलिक धर्म संस्कृतिको संरक्षक पनि हुन् । यस क्षेत्रमा परम्परादेखि चल्दै आएको धर्म, संस्कृति, भाषा, सभ्यताले निरन्तरता पाइरहनुमा उनको ज्यादै महत्वपूर्ण योगदान छ । पृथ्वीनारायण शाहको योगदान तथा उनले बनाएको मार्गचित्रलाई वाद वा विचार भन्ने कि पथ भन्ने ? विषयमा बहस हुनु स्वभाविकै हो । यो बहसलाई स्वभाविकै रूपमा लिनुपर्छ । किनकी आफ्नो दलको नामका पछाडि विभिन्न व्यक्तिका नाम तथा बादलाई झुण्ड्याउने पार्टीहरू हाम्रो देशमा धेरै छन् । प्रधानमन्त्री ओली स्वयंको पार्टीले आफूलाई माक्र्सवादी, लेनिनवादी नाम राखेको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टीले आफूलाई माओवादी राखेको छ । माओवादीले केही वर्षसम्म ‘प्रचण्डपथ’ पनि भन्ने गथ्र्यो । यही सेरोफेरोमा राजसंस्था पक्षधरहरूले पनि आफ्नो पार्टीको मार्गदर्शनका रूपमा ‘पृथ्वीपथ’ भन्न थालेका छन् । जसलाई पछिल्ला केही वक्तव्यमार्फत पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अनुमोदन गरेको पाइन्छ ।
पूर्वराजा शाहले ‘पृथ्वीपथ’ शब्द प्रयोगमा ल्याएपछि ओली र प्रचण्डको जलन सुरु भएको हो । पृथ्वीनारायण शाहले गरेको कर्म तथा उनले दिव्योपदेशमा उल्लेख गरेको मार्गदर्शन नेपालका लागि पथ हो कि होइन ? भन्ने प्रश्नको सेरोफेरोमा बौद्धिक विश्लेषण हुनु जरुरी छ । यदि पृथ्वीवाद वा पृथ्वीसिद्धान्त भनिएको भए अलि अर्घेल्याइँ पो भयो कि ? भन्न सकिन्थ्यो होला । किनकी सिद्धान्त र वादमा तार्किक कसीबाट उत्र्तीण भएर दिशानिर्देश गर्ने क्षमता भएको हुनुपर्छ । यो परिभाषाअनुसार नेपालका सन्दर्भमा पृथ्वीवाद भन्दा केही फरक नपर्ला । तर राष्ट्रनिर्माण गर्ने सिद्धान्त वा वादको आविष्कारभन्दा पनि त्यही सिद्धान्त वा वादभित्र रहेर पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेका हुन् । आफ्नो नेतृत्वमा निर्मित नेपाललाई कसरी दीर्घजीवन दिने ? भन्ने सन्दर्भमा पृथ्वीनारायण शाहले विचार पनि दिएका छन् । उनको त्यही कर्म र विचारलाई मार्गदर्शन वा पथ भनिएको हो । जुन स्वभाविकै छ ।
पृथ्वीनारायण शाहले आफ्नो जिन्दगीको २६ वर्षको युद्ध र संघर्षमा थुप्रै भुरे–टाकुरे राज्यमाथि विजय हासिल गरी नयाँ राज्यको निर्माण गर्नुको साथै यो नयाँ राज्यलाई राष्ट्रका रूपमा अगाडि लग्ने आँट हिम्मत र चिन्तन प्रस्तुत गरे । त्यही कारण उनी इतिहासका विभिन्न कालखण्डमा राज्यलाई आफ्नो बिर्ता र सम्पत्ति सम्झने योद्धा नभएर राष्ट्र निर्माताको रूपमा देखापरे । उनले नेपाललाई आफ्नो सन्तान, भाइभतिजा या अन्य नातागोतालाई बाँड्ने सम्पत्ति कहिले सम्झेनन् र यो अवधारणालाई अस्वीकार गरे । काठमाडौँलाई राजधानी बनाएर एउटा शासकीय विधि र प्रक्रिया संस्थाकरण गर्न खोजे तथा नयाँ राज्य र नेपाल राष्ट्रबीचको दुरी मेटाउन महत्वपूर्ण चिन्तन पेस गरे । यसलाई व्यवहारमा उतार्न नपाउँदै उनी बिते । तर, यिनै चिन्तनले उनलाई राष्ट्रनिर्माता बनाएको छ ।
पृथ्वीनारायण शाहका उत्तराधिकारी राजाहरूले उनको कर्म र विचारलाई के कति निरन्तरता दिए ? कहाँ कहाँ चुके ? भन्ने प्रश्न छुट्टै विश्लेषणको पाटो हो । तर नेपाल जोगाउने र नेपालको मौलिक धर्म–संस्कृति संरक्षण गर्ने अभियानमा उनका उत्तराधिकारी सफल देखिए । बरु राजतन्त्र विस्थापित गरी गणतन्त्र घोषणा गरिएसँगै नेपालको मौलिक धर्म–संस्कृति मासिएर पश्चिमा धर्म–संस्कृतिको प्रभुत्व बढ्दै गएको छ । नेताहरू सत्तापथ र धनपथमा अघि बढेका छन् । यस मानेमा देशले पुनः पृथ्वीपथ खोजेको छ ।
आधुनिक राज्यको निर्माणमा युद्धको ठुलो भूमिका र महत्व रहेको छ । २०औँ शताब्दीको मध्यसम्ममा खडा भएका अधिकांश राष्ट्रहरू लडाइँको प्रक्रियाबाट खडा भएका छन् । पृथ्वीनारायण शाह जन्मेको ३०२ वर्ष बितिसकेको छ । त्यो बेलासम्म विश्वमा बलियो देशले कमजोर देशमा आक्रमण गरी धनसम्पत्ति लुट्ने र विजित देशका जनतालाई दास बनाउने सिलसिला जारी थियो । देश बन्ने र बिलाउने प्रक्रिया द्रुतगतिमा भइरहन्थ्यो ।
त्यही सिलसिलामा अंग्रेजहरूले आफूलाई आधुनिक हातहतियार, संगठित सेना, विभिन्न प्रविधिमार्फत बलियो बनाए । विश्वलाई नै आफ्नो कब्जामा राख्ने रणनीति बनाएर एसिया महादेशतर्फ प्रवेश गरे । अंग्रेजहरूको यो रणनीतिप्रति एसियाका हजारौँ राजाहरू बेखबर रहे । खबर पाएर पनि मौन रहे । यद्यपि अत्यन्त सानो देश गोरखाका राजा पृथ्वीनारायण शाह अंग्रेजलाई धपाउन डटेर लागे । अंग्रेज धपाउने अभियानमा सफल हुन नसके पनि नेपाल निर्माणको अभियानमा उनी सफल बने । नेपाल निर्माणमा उनी सफल नभएको भए यतिबेला हाम्रो पहिचान के हुन्थ्यो होला ?
त्यतिबेला समन्तवाद विश्वकै राजनीतिक दर्शन थियो । उपनिवेशवाद क्रमशः बलियो हुँदै थियो । माक्र्सवादको त परै जाओस् पुँजीवादको समेत उदय भएकै थिएन । नेपाल राज्य र नेपाल राष्ट्रको निर्माणको जग पृथ्वीनारायण शाहले आफ्नो संघर्ष र राज्य सञ्चालनको क्रममा दिएका विचार र मार्गनिर्देशनमार्फत राखिदिएका थिए । यी चिन्तन र विचार सामन्ती तथा पुरातनवादी ठान्नेहरूले नेपालको हित गर्दैनन् । प्रचण्ड र ओली सत्ता सञ्चालन गर्न असफल हुनुको कारण यही हो । जसले पृथ्वीनारायण शाहको कर्म र मार्ग निर्देशनको मूल्य बुझ्दैन उसले नेपालको सत्ता सञ्चालन गर्ने बौद्धिक क्षमता राख्दैन ।
१७ जेठमा प्रधानमन्त्री ओलीले गरेको त्यो टिप्पणी गुगल आर्काइभमा सुरक्षित छ । त्यो टिप्पणीलाई गहिरिएर दोहो¥याइ तेह¥याइ पढ्ने वा सुन्ने हो भने उनले ‘पृथ्वीनारायण शाहले माक्र्सवाद किन अनुसरण गरेनन् ?’ भन्ने प्रश्न उठाएको देखिन्छ । ओली आफूलाई पढन्दास ठान्छन् तर हीन मनस्थितिबाट माथि उठ्ने गरी पढ्न उनले बाँकी नै रहेछ । जसले नेपालको निर्माण ग¥यो, जसले आज हामीलाई नेपाली भन्ने पहिचान दियो, त्यसलाई हेला गर्नु र त्यसको चिन्तन स्वीकार गर्न हिचकिचाउनु कि त अज्ञानता हो, कि कृतघ्नता ।
हामी नेपाली हौँ, हाम्रो देश नेपाल हो भनेर गौरव गर्नेहरूका निम्ति पृथ्वीनारायण शाह स्तुत्य छन् । नेपाल एकीकरण भएयता भारतीय उपमहाद्वीपबाट सैयौँ देशको अस्तित्व विलीन भएका उदाहरण छन् । तर नेपालको अस्तित्व बाँचिरह्यो । नेपालको अस्तित्व जीवित रहनुको श्रेय पनि शाहवंशीय राजतन्त्रलाई जान्छ । नेपालको राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्थाले निर्वाह गरेको भूमिकालाई नजरअन्दाज गर्न नहुने तर्क धेरै नेपालीको छ । र, एक हदसम्म यो वास्तविकताको नजिक पनि छ ।
प्रतिक्रिया