फेरि एमालेको सक्रिय राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फेरि एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन् । शनिबार मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसर एवं भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘जबजका तीन दशक’ का विचार गोष्ठीमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अबको समय फेरि एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने घोषणा गरेकी हुन् ।

‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

उनले एमालेमा रहेर राजनीति यात्रालाई निरन्तरता दिए पनि आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा भने नभएको बताइन् । ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो, जननेताले भन्ने गर्नुहुन्थ्यो, जनता भनेका भगवान हुन्, साथै उहाँले भन्नुभएको थियो, राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भनिन्, ‘आज तपाईंहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’

कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमसख अतिथि थिए । पार्टीमा फर्केपछि आफ्नो विशिष्ट आकांक्षा नभएको पनि उनले बताइन् ।

पार्टी जिम्मेवारीमा फर्किएको घोषणाअघि भण्डारीले आफू राष्ट्रपतिबाट बाहिरिएको दुई वर्षको अन्तरालमा आफूले मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको उनले बताइन् ।

‘यसबाट सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने मेरो निष्कर्ष छ,’ उनले भनिन् । पार्टी राजीनीतिमा फर्किएको घोषणा गर्दै गर्दा भण्डारीले मदन भण्डारीको भनाइ सम्झिइन् ।

प्रतिक्रिया