कुकुरले टोकेर अस्पताल पुगे, डाक्टरले रेबिज खोप नलगाइदिँदा ४५ दिनमा संसार छाडे

रेबिजप्रति डाक्टरकै लापरबाही

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२ मा भुस्याहा कुकुरले टोकेको ४५ दिनपछि जीवनाथ घिमिरे मृत्यु भयो । ७४ वर्षीय घिमिरेलाई २४ वैशाखमा घरनजिकै भुस्याहा कुकुरले दायाँ हात र गालामा थोरै घाउ हुने गरी टोकेको थियो । कुकुरले टोकेको आधा घन्टाभित्रै उनलाई छोरा कुमारले नगर अस्पताल लगे । तर, नगर अस्पतालमा रेबिज भ्याक्सिन अभाव भएको भन्दै डाक्टरले धुलिखेल वा टेकु लान सुझाव दिए ।

परिवारले घर नजिकको सामुदायिक अस्पताल भन्दै तत्कालै धुलिखेल अस्पताल पुर्याए । अस्पतालमा पुगेपछि डा. सजन श्रेष्ठले भ्याक्सिन लगाउन सुझाव दिनुको सट्टा कुकुरको पन्जाले मात्रै हानेको भन्दै भ्याक्सिन नलगाउँदा पनि हुन्छ भनेर टिटी खोप लगाएर घिमिरेलाई घर पठाइदिए । लगत्तै २६ वैशाखमा बिरामी फेरि सोही अस्पताल पुगे । तर, डाक्टरले बिरामीलाई भ्याक्सिन लगाउन सुझाएनन् । उल्टै टाउकोको सिटी स्क्यान, एमआरआई अल्ट्रासाउन्डदेखि अन्य परीक्षण गराए । यो शृंखला असारको ५ गतेसम्म निरन्तर चल्यो ।

अचानक असार ५ गते बिरामीमा फरक लक्षण देखिन थाल्यो– बान्ता गर्ने, टाउको अत्यधिक दुख्ने, चिसो हावादेखि डराउने, पानीदेखि डराउने भएपछि परिवारले बिरामीलाई पुनः धुलिखेल अस्पताल पुर्याए । तर, त्यसबेला निकै ढिला भइसकेको थियो । बिरामीलाई डर लाग्ने, हाइड्रोफोबियादेखि अन्य थुप्रै लक्षण देखिइसकेको थियो, जुन रेबिज रोगको प्रत्यक्ष लक्षणसँग सीधा मेल खाने थियो । त्यसबीचको अवधिमा बिरामीलाई झाँक्रीकोमा समेत लगिएको थियो, तर निको भएन र पुनः अस्पताल लगियो ।

अस्पताल पुर्याएपछि डाक्टरहरूले अस्वाभाविक व्यवहार देखाएका घिमिरेलाई बाँधेर नियन्त्रण गर्नुपर्ने र थप उपचार गर्नुपर्ने भने । तर, परिवार सहमत भएन । उनीहरूले आफैँले सम्हाल्दै लक्षणअनुसार उपचार गरे । लगत्तै असार ५ गते धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका घिमिरेलाई ६ गतेबाट पुनः गाह्रो हुन थाल्यो । छोराले टेकु अस्पताल पुर्याए । तर, ढिला भइसकेको थियो । अन्ततः कुकुरले टोकेको ४५ दिनपछि असार ९ गते घिमिरेको त्यहीँ मृत्यु भयो ।

धुलिखेल अस्पतालले यो घटनाबारे बुझिरहेको बताएको छ । तर, सो घटनासँग सम्बद्ध डा. सजन श्रेष्ठ हाल विदेशमा रहेकाले स्पष्ट जानकारी हुन नसकेको अस्पतालको प्रशासनसहित हेर्ने चिकित्सक डा. सोनु श्रेष्ठले बताइन् । ‘उहाँ (डा. सजन)ले किन भ्याक्सिन होल्ड गर्नुभयो, हामी बुझिरहेका छौँ । उहाँ फर्केपछि मात्र स्पष्ट भन्न सकिएला,’ डा. श्रेष्ठले भनिन् ।

उनको मृत्युपछि बनेपा स्वास्थ्य शाखा र पशु स्वास्थ्य शाखाको संयुक्त टोली अनुगमनमा पुग्यो र बिरामीको लसपसमा संलग्नदेखि झारफुक गर्ने झाँक्रीसहित २४ जनालाई रेबिजविरुद्वको भ्याक्सिन लगाउन सुझाव दियो । उनीहरूले अहिले रेबिजविरुद्धको भ्याक्सिनको पहिलो डोज लगाएका छन् ।

काभ्रे जिल्लाको जनस्वास्थ्य कार्यालयका अनुसार काभ्रे जिल्लामा रेबिजविरुद्धको भ्याक्सिन लगाउन आउनेको संख्या बढ्दो छ । कुकुरले टोकेपछि भ्याक्सिन लगाउन आउनेको संख्यामा बढोत्तरी भए पनि सहज उपलब्ध नहुँदा यसबाट संक्रमित भई मृत्युवरण गर्नुपर्ने घटनामा भने कमी आएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतिका अनुसार जिल्लामा यो आर्थिक वर्षमा मात्रै २ जनाको रेबिज रोगका कारण मृत्यु भएको छ । जिल्लामा रेबिजविरुद्धको भ्याक्सिन निरन्तर उपलब्ध नभएकाले जोखिम रहेको बताउँदै उनले केन्द्रमा पटक–पटक भ्याक्सिन माग गर्दा पनि पर्याप्त मात्रामा नआएको बताइन् ।

प्रतिक्रिया