कृषिको विकासबिना राष्ट्रिय समृद्धि सम्भव छैन : कृषिमन्त्री

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशको कुल ग्राहस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको सर्वांगीण विकासबिना राष्ट्रिय समृद्धि सम्भव नभएको बताएका छन् । उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको कार्यशालालाई आइतबार सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारीको सिर्जना र गरिबी निवारणमा कृषि क्षेत्रबाट विगत दशकहरूदेखि नै महत्वपूर्ण योगदान रहँदै आएको र यस कार्यक्रमले कृषि क्षेत्रको दिगो विकासमा थप सहयोग गर्ने अपेरा रहेको उनले बताए । मन्त्री अधिकारीले भने, ‘कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० वटा पालिकाहरूमा सञ्चालनमा आएको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमले कृषि पारस्थितिकीय र उत्थानशील खेती प्रणालीको प्रवद्र्धनमार्फत उक्त क्षेत्रमा उच्च सम्भावना भएका उच्च मूल्य कृषि वस्तुहरूको प्रवद्र्धन गर्दै बजारीकरणमार्फत साना कृषकहरूको आय आर्जन र गरिबी निवारणमा महत्वपूर्ण योगदान प¥ुयाउने छ ।’

मन्त्री अधिकारीले विगतदेखि नै परम्परागत खेती प्रणालीबाट उत्पादन भइरहेका बालीहरूको व्यवसायीकरण गरी मूल्य शृंखलाको विकासमार्फत निर्यात प्रवद्र्धन गर्नसके कृषकहरूको जीवनस्तरमा सुधार ल्याई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने पनि बताए । नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय फन्डबीच सम्झौता भई ८ वर्ष अवधिका लागि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत २० जिल्लाका ८० पालिकाहरूमा लागू हुने यस कार्यक्रमले नाफामूलक, समावेशी र पर्यावरणीय दिगो खाद्य प्रणालीको अवलम्बनमार्फत युवा, महिला, जनजाति र आदिवासीको सशक्तीकरण गर्दै गरिबी निवारण र साना कृषकहरूको उत्थानशीलता सुधार गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममार्फत बुटवल उपमहानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको कृषि बजार निर्माण गरी सञ्चालन गरिने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले जानकारी दिए । सचिव शर्माले यसमार्फत देशका अन्य क्षेत्रहरूमा स्थापना भएका ससाना कृषि बजारहरूको आवद्धता गरी उच्च मूल्य कृषिवस्तुहरूको क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्न सक्ने संभावनासमेत रहेको बताए ।

प्रतिक्रिया