माओवादी नेतृ अमला रोका ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणको आरोपमा फरार रहेकी नेकपा माओवादीकी नेतृ अमला रोका पक्राउ परेकी छन् । उनलाई आज शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।

उनी ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो । तर, अनुसन्धान ब्यूरो सीआईबीले भने आफ्नो विज्ञप्तिमा ६० किलो सुन तस्करी भनेर उल्लेख गरेको छ ।

उनी सुन काण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ । राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।

१९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो । सीआईबीमार्फत पक्राउ परेकी माओवादी नेतृ अमला रोल्पाकी हुन् । रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए ।

रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको पाइएको पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका थिए । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले उनको समेत बयान लिएको थियो ।

प्रहरीका अनुसार, २०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइकुण्ड गएका थिए । २०७६ को पुसमा नेपालमा बसेर अपराध गरिरहेका चिनियाँ नागरिकमाथि सीआईबीले विशेष अपरेशन चलाएको थियो ।

त्यसबेला उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर प्रहरीले १२२ चिनियाँ नागरिक पक्राउ गरेको थियो । नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाका आधारमा चलाइएको अपरेशनमा पक्राउको सूचीमा रहेका केही शीर्ष तहका व्यक्तिहरु छुटेका थिए ।

प्रतिक्रिया