काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिए ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उनीहरूबीच छलफल हुने जनाइएको छ ।
प्रतिपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै उनको राजीनामा मागसहित उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै लामो समयदेखि संसद बैठक अवरोध गर्दै आइरहेको छ । सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले पनि यही विषयमा अडान लिँदै आएको थियो ।
तर, पछिल्लो समय माओवादीले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेससँग सहमति गरेर संसद बैठक अवरोध गर्न छाडेको छ । आजको बैठकमा यी तीन दलका शीर्ष नेताहरुबीच रास्वपा र राप्रपाको अवरोधबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया