साँच्चै हामी बलिरहेको पृथ्वीमाथि छौँ । एकातिर रुस र युक्रेनको लम्बिँदै गएको युद्ध अर्काेतिर पश्चिम एसियामा इजरायल र इरान छेडिएको युद्धको परिस्थितिले पृथ्वीमा ताप अझै बढ्ने निश्चित छ । वास्तवमै यो पृथ्वी अर्थात हामी आगोको ज्वालामाथि छौँ ।
पृथ्वीको तापमान बढ्दै गरेको संकेत सन् १९३० देखि नै महसुस हुन थालेको थियो । सन् १९६० तिर आइपुग्दा भूवैज्ञानिक चल्र्स किलिंगले परीक्षण गरी पृथ्वीको हावापानीमा कार्बनडाइअक्साइड बढ्दै गरेको पत्ता लगाइसकेका थिए । त्यतिबेलादेखि नै पृथ्वीमा हरित गृहग्यास बढ्दै गएको र पृथ्वीमा रहेको कोइला प्राकृतिक ग्यासको उत्खनन्, प्रयोगले आर्थिक प्रगति त भयो, तर त्यसको प्रभाव नदीनाला हावा, पानी, बाटो र समुन्द्रसम्म पर्न गयो । यसको व्यवस्थापनमा मानिस चुके र जसको परिणाम संसारको समस्या चरमविन्दुमा पुगेको छ । भविष्यमा बालबालिकाको सुरक्षा कसरी गर्ने ? समुन्द्री तटमा बस्ने मानिसहरूको प्राण कसरी जोगाउने ? जस्ता भयंकर प्राकृतिक विपत्तीको संघारमा आज संसार उभिएको छ ।
यसैकारण विश्वभरिका सरकारहरू एक जुट भएर यो समस्यासँग जुध्न सन् २०१५ मा पेरिस सम्झौता भएको छ । यो धर्ती मानव बसोबासको लागि खतरा भइसकेको छ । हाम्रो प्राकृतिक संरचनामा रहेको जौविक विविधतामानै खल्बली आइसकेको छ । वनजंगलको फडानी खोला नदीको उत्खनन्जस्ता कारणहरूले जलवायु परिर्वतनको गहिराई बढाएको छ । प्राकृतिक संरचनामा रहेका सम्पूर्ण प्राणीका निम्ति संकट संघारमा आइपुगेको खतराबारे छलफल र बहस हुन नितान्त आवश्यक छ । हाम्रा बालबालिका पीडा र छटपटीमा बाँच्नुपर्ने अवस्थाको वर्णन नै गर्ने नसकिने दुःखको कल्पना गरी सो समस्या कसरी हटाउने र रोकथाम गर्नेतर्फ एक दिन पनि समय खेर नफाली सरकार व्यक्ति सबै लाग्नुपर्ने अवस्था छ ।
जलवायु परिवर्तन सम्बन्धमा वैज्ञानिक परीक्षणहरूद्वारा सम्पूर्ण मानव नै यस धर्तीमा समाप्त हुने अवस्था आइसक्दा पनि कतिपय देश यसको रोकथाम नजानेर चुपचाप छन् । यो नेपालको हकमा पनि लागू हुन्छ । आँधी तुफान जस्ता प्राकृतिक प्रकोप पहिले ५०० वर्षमा एकपटक आउँथ्यो भने अहिले महिनामा २ पटक आउन थालेको छ । हाम्रो वरिपरिका सम्पूर्ण वातावरणलाई हरितगृह ग्यासले भरिसकेको छ । तातिसकेको वातावरणलाई साविक अवस्थामा ल्याउन असम्भव भइसकेको छ । समुन्द्रको बनोट नै खल्बलीसकेको छ । हिमाल पग्लिन थालेको छ प्राकृतिक इन्धनको बढी दोहनले तथा दुषित घुलोको कणले मानिसको श्वासप्रश्वासमा समस्या देखिएको छ । प्रदूषण मानिसको मुटु, फोक्सो र दिमागमा छिरेर वार्षिक विश्वमा ७ लाख जनाको मृत्यु हुने गरेको छ ।
सन् २०१० देखि २०१५ सम्म संयुक्त राष्ट्रसंघमा मुख्यसचिवमा रही सन् २०१५ मा पेरिसमा भएको जलवायु परिवर्तन सम्झौतामा निर्णयक भूमिका निभएकी कृष्टिना फिगोरेस र सोही कार्यको राजनीतिक रणनीतिकार टोम राई भेट कारनाम मिली जलवायु परिवर्तनले विश्वमा आउने संकट बारे ‘द फ्यूचर वी चुज’ पुस्तक लेखेका छन् ।
‘पृथ्वी आगोमाथि छ हामी पृथ्वी जलिरहेको हेर्ने कि अर्काे सुन्दर भविष्यका लागि काम गर्ने ?’ भनेर संसारलाई झकझक्याउँदै यस पुस्तकमा लेख्छन्, ‘अमेरिकाको राजधनी वासिंगटन डिसी मा १२ वर्षकी स्कुलकी बालिका ‘धर्तीलाई आगोको लप्काले घेरिसक्यो’ भन्ने प्ले कार्ड हातमा लिएर हिँडछन् ।’ लन्डनका विद्यार्थीले जलवायु परिवर्तनमा सुधार ल्याउन सरकारलाई दबाब दिन ट्राफिक जाम गर्छन् । कोरियाको राजधानी सियोलमा ‘जलवायु परिवर्तनले हामीलाई आक्रमण गरी सक्यो’ भन्ने कार्ड लिएर सडकमा उत्रिन्छन् । त्यसै गरी बैंककमा ११ वर्षीया बालिका समुन्द्रको सतह बढ्दै छ हामी के गर्ने ? जस्ता कार्ड लिएर संसारलाई झकझक्याइरहेका छन् ।
हामी, हाम्रा वातावरण मन्त्रालय, वातावरण विभाग मस्तनिन्द्रामा छौँ । यस विषयमा न त स्कुल कलेजका विद्यार्थी न त कुनै संघ संस्था, कसैलाई वास्तै छैन । के भएको होला हाम्रो नेपाल ? साँच्चै हामी बलिरहेको पृथ्वीमाथि छौँ । एकातिर रुस र युक्रेनको लम्बिँदै गएको युद्ध अर्काेतिर पश्चिम एसियामा इजरायल र इरान छेडिएको युद्धको परिस्थितिले पृथ्वीमा ताप अझै बढ्ने निश्चित छ । वास्तवमै यो पृथ्वी अर्थात हामी आगोको ज्वालामाथि छौँ ।
अहिले कुसमयमा हुने बाढीपहिरो र समुन्द्री तुफानले मानवको क्षति र विध्वंस मच्चाइरहेको छ । बाढी पहिरो र आँधी तुफानले विश्वमा हरेक वर्ष १२ लाख हेक्टर जमिन गुमाउनु परिरहेको छ । हाम्रो देशमा खोला, नदी, नालाबाट बालुवा गिट्टी निकाल्नाले कति जमिन गुमाइरहेका छौँ ? कसले त्यस्को हिसाबकिताब राखेको छ ? वैज्ञानिकका अनुसार ५० वर्षदेखि सम्पूर्ण युरोप बराबरको जमिन गुमाइसकिएको छ । वैज्ञानिकहरूको पछिल्लो खोज प्रतिवेदनले यस पृथ्वीमा रहने १२ प्रतिशत प्राणीका लागि खतराको घण्टी बजिसकेको छ । बितेको ५० वर्षदेखि समुन्द्रको तापमान ९० प्रतिशत वृद्धि भएको छ । जसको कारण समुन्द्रमा हुने जन्तुहरू आधाजस्तो मरिसकेका छन् । बरफ पग्लेर समुन्द्री सतहको उचाइ हरेक वर्ष २० सेन्टिमिटरको दरले वृद्धि भइरहेको छ ।
सन् २०१५ मा पेरिस सम्झौतामा १८४ देशहरूले हस्ताक्षर गर्दै २ डिग्री सेल्सियस बढेको तापमान घटाएर १ दशमलव ५ डिग्री सेल्सियसमा झार्ने प्रतिवद्धता जाहेर गरेका छन् । माथि उल्लिखित पुस्तकमा लेखिएको छ, ‘जब यस बेला मानव जातिको इतिहास लेख्न बस्दा भोलि आउने दर्दनाक दिनका कथन लेख्नुपर्ने हुन्छ । तर त्यो लेख्न हामीले कलम बन्द गरेका छौँ । हामीले कथा लेख्दा अब आउने सन्ततीको बारे लेख्ने हो कि, मानिसको अस्तित्वको बारेमा लेख्ने हो यसमध्ये हामीले छान्नुपर्ने हुन्छ । हामी निर्णायक मोडमा छौँ । हामी बाँच्ने संसार कस्तो हुनुपर्ने हाम्रो सन्तती बाँच्ने संसार कस्तो हुने छ । हामीसँग अन्य विकल्प छैन ।’ सन् २१०० सम्ममा अहिले भन्दा ३ डिग्री सेल्सियस तपक्रम बढ्नेछ । हावा तातिने छ, जसको परिणाम आँखामा पानी आउने खोकी नरोकिनेजस्ता रोगहरूको सामना गर्नुपर्नेछ । यस किसिमका रोगका लक्षणहरू देखा पर्न थालिसकेका छन् । विषेश गरी दक्षिण एसिया र मध्य अफ्रिकामा दुषित हावाका कारण युरोप र अमेरिकाको तुलानामा धेरै मानिसहरूले ज्यान गुमाउनेछन् । केही मात्र बाहिर खुला हावामा काम गर्न सक्षम हुनेछन् । लाखाँै कार र बसको धुँवाले विश्वकै मानिसहरूलाई श्वासप्रश्वासमा खतराको सामना गर्नुपर्ने छ ।
हावामा जमेको धुलोको दुषित कणहरूलाई कृत्रिम पानी पारेर धनी देशहरूले वातावरण सन्तुलन ल्याउने प्रयास गरे पनि यसको परिणाम राम्रो आउन सकेन । अबको ५ देखि १० वर्षमा तातो हावाले सास फेर्न गाह्रो भएर निस्सासिने छौँ । त्यतिबेला आदिबासी जनजातिहरू ससाना टुक्रा जमिनमा हुनेछन् । समुन्द्र जुन चट्टानको आधारमा बनेको हो, त्यसमा क्षति भइसकेको छ । समुन्द्रमा हुने जल प्राणीलाई बचाउन संसारकै ठुलो एक्युरियम बनाउने प्रयास भयो । अस्टे«लियामा कृतिम जल प्रणाली बनाएर समुन्द्री सतह यथावत राख्ने प्रयास गरे पनि सफल भएन । हाम्रो नेपाल र नेपालीलाई थाहा नभए पनि धनी देशका वैज्ञानिकहरू जलवायु परिवर्तनले ल्याउने संकट कसरी टार्न सकिन्छ भनेर भरमग्दुर कोशिस गरिरहेका छन् । तर सफलता हासिल गर्न सकेका छैनन् र उत्तरी ध्रुर्ब तातिएको कारण अन्टार्टिक सागरको हिऊँ ६ देखि ८ डिग्री सेल्सियले तातिएको छ । सेतो हिउँमा घामको तातो प्रतिबिम्बिद हुन्थ्यो, तर पग्लेर घामको तातोलाई कालो सागरले ग्रहण गर्दा सागर अर्थात समुन्द्र तातिन थालेको छ । यसै कारण समुन्द्रको सतह बढने गरेको छ ।
सन् २१०० सम्ममा समुन्द्री तटमा रहेका कतिपय सहरहरू पानीमुनि पुग्ने डर लाग्दा संकेत यस पुस्तकमा गरिएको छ । समुन्द्रको पानीमा पिएचको मात्रा बढनाले संसारका कतिपय देशले माछाको आयातलाई बन्द गरिसकेका छन् । समुन्द्री सतह बढेर छेउछाउका सहरहरू विध्वंश त हुन्छन् नै, टापुहरूमा तातो हावाले गर्दा मानिसका बस्तीलाई श्मसान बनाइदिनेछ । जंगली जनवार जीवजन्तु दूरको सम्झना मात्र रहने छ । मोरोक्कोको माराकेच र रसियाको भल्गाइर्ड लगायतका सहर मरुभूमिमा परिवर्तन हुनेछन् । खाद्यान्न उत्पादन संसारका सबै कुनामा घट्दो अवस्थामा छ । चीनले खाद्यान्न निकासी बन्द गर्दै छ ।
हामी यति अनिश्चित अवस्थामा बाँचेका छौँ अब हाम्रा कति सन्ततीहरूले दिनको उज्यालो देख्न पाउलान् ? हामीभन्दा पहिलेका पुस्ता यो सोचाइबाट मुक्त थिए, तर हामी भने सोच्न नसकिने प्राकृतिक विनासकारी समयको पखाईमा छौँ । जलवायु परिवर्तनले मानव जीवनको बाँच्ने आधारहरूमा चौतर्फी आक्रमण सुरु भएको छ । विश्वमा यति धेरै हलचल भइसक्दा पनि नेपालका जानकार तन्त्रको कुनै हलचल छैन । जलवायु परिवर्तनले ल्याउने विनासकारी उत्पातबारे तुरुन्तै सूचना पाउन कतिपय देशहरूले प्रविधि जडान गर्न थालिसकेका छन् ।
प्रतिक्रिया