युवाको विदेश पलायन र भिजिट भिसा प्रकरण

मोहनविक्रम सिंह

देशमा भविष्य छैन भनेर नयाँ पिँढीले पुरै नै विदेशमा पलायन गर्ने हो भने देशको भविष्य बन्न सक्दैन र देश सधैँ अहिलेको अवस्थामा रहने मात्र होइन, त्यसको झन् पछि झन् बढी अधोगति हुँदै जानेछ । देशको भविष्य पुरै नै अन्धकारमय हुनेछ । त्यस्तो हुन नदिनका लागि नयाँ पिँढी अगाडि आउनुपर्दछ र उनीहरूले देशको वर्तमान अवस्थालाई बदल्नका लागि संघर्ष गर्नुपर्दछ ।

नेपालमा विदेशमा पलायनको सिलसिला धेरै नै बढेर गएको छ । नेपालको श्रमशक्ति मात्र होइन, बुद्धिजीवी र विद्यार्थीमा समेत विदेशमा पलायन गर्ने कार्य धेरै बढेर गएको छ । यो सिलसिला सम्पूर्ण रूपले गलत होइन । अन्य देशका नागरिकहरू पनि रोजगारी वा अध्ययनका लागि विदेश जाने गरेको पाइन्छ । सबै जना देशभित्र नै बस्ने, यहाँको प्रविधिको मात्रै प्रयोग गर्ने, विदेशको शिक्षा पनि नलिने, विदेशको प्राविधिक ज्ञान पनि नलिने गर्ने हो भने देशको विकास हुँदैन । अन्य देशले पनि विदेशबाट शिक्षा लिने गरेका छन् । सबैभन्दा ठुलो समस्या के हो भने विदेशमा जाने मात्रै होइन, प्रवृत्ति त्यहीँ बस्नेछ । त्यहीँको नागरिकता लिने, देशमा नफर्कने, यसरी आम बुद्धिजीवी, विद्यार्थी वा प्राविधिकमा पनि त्यस्तो प्रवृत्ति व्यापक रूपमा देखापरेको छ । देशभक्तिको भावना कम भएर नै त्यस्तो हुने गरेको छ ।

विद्यार्थीले आमरूपमा यो कुरा गुनासो गरेको पाइन्छ कि देशमा बसेर भविष्य छैन । भ्रष्टाचार छ, कुशासन छ, पक्षपात छ । भविष्य छैन भने के गर्ने त ? सबै विदेशमा जाने ? त्यो त होइन । देशको भविष्य राम्रो बनाउन कोशिस गर्नुपर्दछ । आजको भ्रष्ट प्रशासनले, भ्रष्ट राजनीतिक नेतृत्वले र सिद्धान्तहीन राजनीतिक नेतृत्वले गर्दाखेरि देशको विकास हुन सकिरहेको छैन भने हामीमा त्यसका विरुद्ध संघर्ष गर्ने सोचाइ हुनुपर्दछ । देशमा भविष्य छैन भनेर नयाँ पिँढीले पुरै नै विदेशमा पलायन गर्ने हो भने देशको भविष्य बन्न सक्दैन र देश सधैँ अहिलेको अवस्थामा रहने मात्र होइन, त्यसको झन् पछि झन् बढी अधोगति हुँदै जानेछ । देशको भविष्य पुरै नै अन्धकारमय हुनेछ । त्यस्तो हुन नदिनका लागि नयाँ पिँढी अगाडि आउनुपर्दछ र उनीहरूले देशमो वर्तमान अवस्थालाई बदल्नका लागि संघर्ष गर्नुपर्दछ ।

माथि जे भनियो, त्यसको अर्थ विद्यार्थी पढ्नका लागि विदेशमा जानै हुन्न भन्ने होइन तर मुख्य समस्या वा आवश्यकता यो हो कि उनीहरूमा देशप्रतिको भावना हुनुपर्दछ । पहिलेदेखि नै सबै मानिस नेपालमा नै बस्ने गरेको भए वा विदेशमा पढ्नका लागि पनि नजाने गरेको भए देशमा जे जति शिक्षाको विकास भएको छ, त्यो पनि हुन सक्ने थिएन । त्यसैले अध्ययनका लागि विदेश जानुलाई हामीले गलत मान्दैनौँ तर उनीहरूमा पुनः फर्केर देशमा आएर देशको विकास गर्ने वा देशमा भएको कुव्यवस्थाका विरुद्ध संघर्ष गर्ने मानसिकता हुनुपर्दछ । देश राम्रो छैन भने राम्रो बनाउनुपर्दछ । त्यो कार्य व्यक्तिगत भविष्य खोज्नका लागि सबै जना विदेश गएर होइन, उनीहरूमा देशको भविष्य बनाउने स्प्रिट तथा देशभक्तिको भावना भएपछि नै पूरा हुन सक्दछ ।

भ्रष्टाचारका कारण राजस्व थोरै उठेकोले कर्मचारी पाल्न पुगिरहेको छैन । ऋण लिएर विकासका लागि छुट्याइएको रकमको ठुलो भाग भ्रष्टाचारमा नै खर्च हुन्छ । तल उपभोक्ता समितिदेखि, जिल्ला र प्रशासन तथा राज्यको उच्च तहसम्म ठुलो पैमानामा भ्रष्टाचार हुने गर्दछ । त्यसैको परिणाम हो कि नेपालमा बहुदलीय व्यवस्था आएको लामो समय भइसक्दा पनि देशको दिगो विकास हुन सकिरहेको छैन । थोरै समयमा धेरै देशले माथिल्लो तहको विकास गरेका छन् तर नेपालमा विकासको प्रक्रिया धेरै पछाडि परेको छ ।

अहिले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरण आएको छ । त्यस्तै, पतञ्जली प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विषय पनि आएको छ । भ्रष्टाचार जुन रूपमा आए पनि, जहाँ आए पनि, जसले ल्याए पनि त्यसका विरुद्ध कडा कारबाही गरिनुपर्दछ । त्यही प्रकारले सहकारीको क्षेत्रमा भएको अपचलन वा ठगीका विरुद्ध पनि हामीले निष्पक्ष छानबिन र अपराधअनुसार कडा कारबाहीका लागि दृढतापूर्वक आवाज उठाउँदै आएका छौँ । त्यसबारे रास्वपाका सभापतिबारे धेरै नै चर्चा हुने गरेको छ तर त्यो मुद्दा अगाडि आउनुभन्दा पहिले वा पछि पनि देशभरिमा सहकारीसम्बन्धी अपचलन वा ठगीका धेरै घटना भएका छन् । जहाँ पनि त्यस्तो हुन्छ, त्यहाँ छानबिन र कारबाही गरिनुपर्दछ ।

निश्चय नै त्यसो गर्दा कुनै पक्षपात, पूर्वाग्रह वा राजनीतिक बदलाको दृष्टिकोणले कसैलाई बचाउने वा फसाउने कार्य गरिनु हुँदैन र त्यस प्रकारका सबै कारबाही निष्पक्षतापूर्वक र न्यायोचित प्रकारले गरिनुपर्दछ । ललितानिवास, सुनतस्करी, भुटानी शरणार्थी, गिरिबन्धु टी स्टेट, सहकारी वा अहिले नयाँ अगाडि आएका भिजिट भिसा वा पतञ्जली प्रकरण समेतबारे हाम्रो त्यही प्रकारको दृष्टिकोण रहेको छ ।

अहिले भिजिट भिसा प्रकरणमा पनि निष्पक्ष र न्यायोचित प्रकारले छानबिन र कारबाही हुनुपर्दछ भन्ने हाम्रो मत रहेको छ । पहिले रास्वपाका अध्यक्षमाथि सहकारीसम्बन्धी रकमको मुद्दा अगाडि आउँदा उनलाई गृहमन्त्रीको पदबाट हटाउनुपर्दछ भन्ने माग संसद्भित्र र बाहिर पनि जोडदार रूपले उठेको थियो तर अहिले भिजिट भिसा प्रकारणमा पनि गृहमन्त्रीको राजीनामाको माग उठेको छ तर पूर्वगृहमन्त्री र अहिलेको गृहमन्त्री दुवै मुद्दा एकै प्रकारका होइनन् । पूर्वगृहमन्त्रीको विषयमा प्रत्यक्ष रूपले नै जनता वा प्रहरी समेतबाट उनका विरुद्ध धेरै उजुरी आएका थिए । त्यो अवस्थामा उनको राजीनामाको माग गर्नु सही नै हुन्थ्यो तर वर्तमान गृहमन्त्रीबारे अहिलेसम्म त्यस प्रकारको उजुरी आएको छैन ।

त्यसैले हामीले उक्त विषयमा जसका विरुद्ध आरोप आएको छ, उनीहरूमाथि निष्पक्ष र न्यायोचित प्रकारले कारबाही गर्नुपर्दछ भन्ने कुरामा जोड दिँदै वर्तमान गृहमन्त्रीले राजनीामा दिनुपर्ने स्थिति उत्पन्न भएको छैन भन्ने हाम्रो मत रहेको छ । त्यस प्रकारको भ्रष्टाचारमा संलग्न भएको आरोप आउँछ भने त्यो अवस्थामा उनले राजीनामा दिएर छानबिनलाई समुचित रूपले अगाडि बढाउन मार्गप्रशस्त गर्नु नै सही हुनेछ ।

जहाँसम्म पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संलग्न भएको कुरा छ, त्यसबारे सर्वप्रथमतः एउटा विदेशी कम्पनीलाई व्यावसायिक कार्यको सञ्चालनका लागि त्यसरी सहुलियत रूपमा त्यति ठुलो पैमानाको जग्गा दिनुलाई हामीले सही मान्दैनौँ । त्योबाहेक जुन प्रयोजनका लागि जग्गा दिइएको थियो, त्यो काममा जग्गा उपयोग नगरीकन हदभन्दा बढीको जग्गा बिक्रीका लागि मन्त्रिमण्डलले स्वीकृति दिने जुन काम गरेको छ, त्यो पनि निश्चित रूपले गलत हो ।

त्यो बेला माधव नेपाल नै प्रधानमन्त्री थिए । त्यसकारण त्यसको जिम्मेवारीबाट उनलाई अलग राखेर हेर्न मिल्दैन । निश्चय नै त्यो गलत निर्णय पनि मन्त्रीमण्डलद्वारा गरिएको हुनाले त्यो नीतिगत प्रकारको नै गल्ती हो । त्यस प्रकारका नीतिगत गलत निर्णय नेपालका विभिन्न मन्त्रीमण्डलबाट धेरै नै हुने गरेका छन् । त्यस प्रकारका नीतिगत गल्तीका लागि कारबाही वा दण्डसजायका लागि कानुनमा जुन व्यवस्था गरिएको छ वा त्यसबारे अहिलेसम्म जुन अभ्यास गरिँदै आएको छ, त्यसअनुसार नै त्यसबारे छानबिन तथा कारबाही गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

त्यस सन्दर्भमा अर्को विचारणीय प्रश्न यो हो, उक्त विषयमा नीतिगत रूपमा नै कुनै गल्ती गरिएको छ वा व्यक्तिगत रूपमा यो विषयमा कुनै लेनदेन गरेर वा नाजायज फाइदा उठाएर माधव नेपालले भ्रष्टाचार गरेका छन् ? त्यसबारे अहिलेसम्म उनीमाथि कुनै आरोप लगाएको कुरा सार्वजनिक भएको छैन । त्यसबारे सार्वजनिक रूपमा नै कुनै तथ्य बाहिर आएपछि त्यसबारे बताउनु सही र उचित हुनेछ । जे होस्, पतञ्जली जग्गा प्रकरणमा त्यस प्रकारको कुनै भ्रष्टाचार भएको छ भने पनि त्यसबारे निष्पक्ष र उच्चस्तरीय छानबिन र कारबाही गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

राजावादी आन्दोलन तत्कालका लागि तुहिए पनि प्रतिगमनको खतरा टरिसकेको छैन । वास्तवमा राजावादीले के चाहन्छन् ? भन्ने कुरा प्रष्ट छैन । उनीहरूका बीचमा सत्ता र पदको लागि होडवाजी छ । ज्ञानेन्द्र स्वयं राजा बन्न चाहन्छन् । उनका नातिलाई राजा बनाइयो भने पारस असन्तोष हुनेछन् । त्यही कारणले उनीहरूका बीचमा पारस्परिक विरोध वा असन्तोष बढेर गएको छ । उनीहरूले राजतन्त्र ल्याउने कुरा गरिरहेका छन् तर को राजा हुने ? यसबारे उनीहरूका बीचमा बेग्लाबेग्लै प्रकारका महत्वाकांक्षाले काम गरेका छन् । इतिहास साक्षी छ, त्यही कारणले राजतन्त्रभित्र कैयौँपल्ट कैयौँ काण्ड हुने गरेका छन् । नारायणहिटी काण्ड त्यसको एउटा पछिल्लो उदाहरण हो ।

नेपालमा वैधानिक राजतन्त्र थियो, तर राजपरिवारका बीचमा सिंहासनको प्रतिस्पर्धाका कारणले भएको हत्या काण्डको परिणामस्वरूप वैधानिक राजतन्त्र वा राजतन्त्र समाप्त भयो । राजगद्दीका लागि परस्परमा हिंसा वा हत्या राजतन्त्रको वंशानुगत, चरित्र वा विशेषता हो । त्यस प्रकारको प्रवृत्ति अहिले पनि राजपरिवारमा विद्यमान छ । त्यही प्रवृत्ति अहिले राजतन्त्रको पुनस्र्थापना भएपछि पनि उनीहरूमध्येको सिंहासनमाको बस्ने ? त्यो कुराको अहिलेदेखि नै अन्तरकलह देखा पर्न थालेको छ ।

देशमा राजतन्त्रको पुनस्र्थापना भएपछि पनि को प्रधानमन्त्री हुने ? त्यो कारणले पनि राजावादीको बीचमा अन्तर्विरोध देखा परिरहेको छ । राजतन्त्रको पुर्नस्थापनाका सिलसिलामा उनीहरूका बीचमा देखा परिरहेको अन्तर्विरोध वा फुट ? त्यसैको परिणाम हो । राजपरिवारको पहिलेदेखि नै चाकरी गर्ने, दासताको मानसिकता अहिले पनि देखा परिरहेको छ । पञ्चमा पनि त्यही मानसिकताले काम गरेको थियो । राणाशासनको बेलामा पनि त्यही मानसिकताले काम गरेको थियो । त्यही प्रवृत्ति अहिले पनि राजावादीमा देखा परेको छ । उनीहरूका बीचको फुट र अन्तरकलहको कारण त्यही हो ।

प्रतिक्रिया