रेड लाइट एरिया माग्ने प्रमुख सचेतकले असभ्य देखे ‘निलो स्कार्फ’

संख्याको बलमा रास्वपालाई पेल्दै सत्तारुढ दल

काठमाडौँ । संख्या र सत्ताको बलमा विपक्षी दलहरूलाई पेल्दै आएका सत्तारुढ दलहरू प्रमुख विपक्षी माओवादी केन्द्रको साथ पाएपछि झन् उग्र बनेका छन् । भिजिट भिसामार्फत् भइरहेको मानव तस्करी जस्तो जघन्य अपराधमा जोडिएपछि गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति माग गर्दै आएको संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सत्तारुढ दलले ‘पेल्ने’ नीति लिएका हुन् ।

पहिले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राखेर माओवादी केन्द्र पनि सदन अवरोधमा उत्रिएको थियो । माओवादी विरोधमा हुँदासम्म सभामुख देवराज घिमिरेले कुनै पनि बैठक अघि बढाएनन् । तर, माओवादी लत्रिएर सत्तासँग २ बुँदे सहमति गरेसँगै रास्वपा र अर्को विपक्षी राप्रपाको विरोधका बाबजुद समामुखले पेलेर सदन अघि बढाउँदै आएका छन् ।

रास्वपा र राप्रपाले भने अझै एजेन्डा छाडेका छैनन् । राप्रपाले कहिले बैठक बहिष्कार गरेर त कहिले उठेर विरोध जनाइरहेको छ । रास्वपाले भने विरोधको नयाँनयाँ शैली प्रयोग गर्दै आएको छ । सोही क्रममा मंगलबारको बैठकमा रास्वपाका सबै सांसद गलामा निलो स्कार्फ लगाएर उपस्थित भए ।

तर, सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ‘असभ्य पोसाक’ भन्दै उनीहरूलाई बैठकबाट निष्कासन गर्न माग गरे । प्रतिनिधिसभा नियमावलीको नियम ३० र ३१ देखाउँदै उनले निष्कासन गर्न माग गरेका थिए । जबकि, उनले देखाएको नियममा भनिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ ।’ यस्तै, नियम ३१ को उपनियम(१)मा भनिएको छ, ‘नियम ३० बमोजिमको आदेश पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ ।’

रास्वपा सांसदहरूले लगाएको निलो स्कार्फ न कुनै अभद्र व्यवहार हो, न त सभामुखले बैठकबाट निकल्नुपर्ने विषय । रास्वपा सांसदहरूप्रति वैरभाव राख्ने घिमिरे तिनै व्यक्ति हुन्, जसले केही समयअघि देशमा पर्यटन विकास र समृद्धिका लागि नेपालमा ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भनेर सदनमै वकालत गरेका थिए ।

यता, रास्वपाले भने निलो स्कार्पm लगाएर मानव तस्करीविरुद्ध सांकेतिक विरोध गरेको जनाएको छ । ‘सांसदहरू जो माइक भाँच्न र कुर्सी भाँच्न पारखी हुनुहुन्छ, उहाँहरूले भनिदिनुपर्यो– निलो स्कार्फ लगाएर आउँदा कहाँनिर असभ्य भयौँ ?’ रास्वपा सांसद तोसिमा कार्कीले भनिन्, ‘हामीलाई माइक भाँच्न र कुर्सी फोर्न आउँदैन । एकअर्कामा हिंसाको क्रियाकलाप गर्न आउँदैन । हामीले गर्ने भनेको शान्त विद्रोह हो ।’

यस्तै, रास्वपा सांसद स्वर्णिम वाग्लेले फेसबुकमा लेखेका छन्, ‘हामीलाई माइक भाँच्न आउँदैन, कुर्सी फोड्न आउँदैन, चिथोर्न आउँदैन, मान्छे कुट्न आउँदैन । तर, आमनागरिकको आवाज बोल्न आउँछ ।’ अर्का सांसद मनिष झा लेख्छन्, ‘आफूले सदनमा रातो लगाउनेहरूलाई आज निलो रङले घोच्दै छ । यो गठबन्धन र सत्ता पुरानो दलको होला । तर, यो देशको भविष्य अब नयाँ पुस्ताको हो । सुशासनका लागि हाम्रो आन्दोलन जारी छ ।’

‘भिजिट भिसाको जालो च्यात्नुपर्छ’

रास्वपा सांसद चन्दा कार्कीले भिजिट भिसाको समस्या २०६४ सालदेखिकै भएको भन्दै यसको जालो च्यात्नुपर्ने बताएकी छिन् । छानबिन समिति गठन गरेर दोषीउपर कारबाहीको माग गर्दा सरकारले रोस्ट्रमबाट धम्क्याउनुको अर्थ के हो ? भनी प्रश्न गर्दै उनले भनिन्, ‘यत्रो दिनदेखि सत्य कुरा उठाउँदा पनि सरकार चुप बस्नु, दुई तिहाइको घमण्ड देखाउँदै लोकतन्त्रको मूल्य, मान्यता नै बिर्सिनु कसरी न्यायोचित हुन्छ ?’

यसअघि संसद् बैठकमा कुर्सी हानाहान, माइक भाँच्ने, अर्थमन्त्रीको बजेट वक्तव्यको ब्रिफकेस खोस्ने, अर्धनग्न हुनेसम्मका अराजक र अमर्यादित गतिविधि हुँदा पनि कसैमाथि कुनै कारबाही भएको छैन । तर, निलो स्कार्फ लगाएर बैठकमा उपस्थित हुँदैमा निष्कासनको माग गर्नु लेखकमाथि बढ्दै गएको दबाबका कारण आत्तिएको मानसिकता भएको रास्वपा नेताहरूको बुझाइ छ ।

सभामुखले गरे गृहमन्त्रीसँग छलफल

मंगलबारको बैठक बस्नुअघि सभामुख घिमिरले सत्तापक्ष र माओवादीबीचको २ बुँदे सहमति र रास्वपाको निरन्तरको विरोधबारे गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् । माओवादीले सत्ताकै पक्षमा लागेर फकाउँदा र आफूले प्रमुख दलका सचेतकहरूसँग निरन्तर छलफल गर्दा पनि रास्वपा नगरेपछि गृहमन्त्रीसँगै छलफल गरेका हुन् ।

कांग्रेसले बोलायो आकस्मिक बैठक

रास्वपाले गृहमन्त्री लेखकमाथि दबाब बढाउँदै लगेको र मंगलबार सभामुखले पनि उनीसँग छलफल गरेपछि नेपाली कांग्रेसले आज बुधबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । १५ असारका लागि ‘सेड्युल्ड’ बैठकलाई आकस्मिक रूपमा तानेर आज बिहान साढे ८ बजेका बोलाइएको हो । विद्युत् पिपिएमा टेक एन्ड पे प्रावधानमा कांग्रेसका ऊर्जामन्त्री र एमाले अर्थमन्त्रीबीच फरक मत देखिएको र गृहमन्त्रीमाथिको दबाब तीव्र रूपमा बढिरहेका बेला बोलाइएको आकस्मिक बैठकलाई चासोपूर्वक हेरिएको छ ।

सचिवहरूको दबाबले रोकियो बैठक, बहाना अवरोधको

सोमबारको बैठकबाट संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची थियो । तर, २ बर्से कुलिङ पिरियड राखेर विधेयक पारित नगर्न सचिवहरूले दबाब बढाएपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित गरियो । यसअघि रास्वपाको विरोधका बाबजुद पेलेर सदन चलाएका सभामुखले मंगलबार भने अवरोधको बहाना बनाउँदै बैठक स्थगित गरे । सत्तारुढ दलकै एक सांसद पनि कुलिङ पिरियडमा आएको दबाबकै कारण बैठक कार्यसूचीमा प्रवेश नगराएको स्वीकारे । ‘कुलिङ पिरियडकै विषय मिलाउन सरकारको आग्रहमा बैठक स्थगित गरिएको बुझिएको छ,’ उनले सौर्य दैनिकसँग भने ।

प्रतिक्रिया