काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामा माग गर्दै संसद बैठक अवरोध गर्दै आइरहेको नेकपा माओवादी केन्द्र अन्ततः लचक भएको छ ।
केही दिन अघिबाट संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अन्ततः संसदमा गृहमन्त्री लेखकलाई बोल्न दिनुपर्ने पक्षमा रहेको संकेत गर्दै लचक देखिएको हो ।
बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री लेखकलाई बोल्न दिएर उनको जवाफ सुन्नुपर्ने पक्षमा नेताहरूले धारणा राखेपछि माओवादीले यस्तो संकेत देखाएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले जवाफ दिन्छु भनिरहेकाले यस्तो अवस्थामा उनलाई बोल्न दिएर कुराहरू सुन्नुपर्ने उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । ‘उहाँका कुरामा चित्त बुझेन भने अरु प्रश्न गर्न पाइन्छ’, उनले भने, ‘घटना र उठेका विषयमा कस्तो जवाफ आउँछ भन्ने विषयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।’
उपाध्यक्ष सापकोटाले सत्तापक्षमा रहेका राजनीतिक पार्टीसहित विपक्षीमा रहेका राजनीतिक पार्टीहरूसँग सदनको अवरोध खुलाउने विषयमा छलफल गर्ने बताए ।
‘दुवै पक्षसँग छलफल गर्नुपर्नेछ, आज त्यो कुराकानी हुन्छ’, पदाधिकारी बैठकपछि सापकोटाले भने, ‘हामी सकेसम्म यो महत्वपुर्ण र गम्भीर विषय भएकाले छानबिनका लागि पनि वातावरण बनाउनुपर्छ र सदनमा छलफलको वातावरण पनि बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष छ ।’
केही दिनदेखि संसद बैठक माओवादीसहित प्रमुख प्रतिपक्षी दलहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन् । आज पनि प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ ।
प्रतिक्रिया