माओवादी नेता अग्नि सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध अपहरण तथा व्यक्ति हत्या मुद्दामा अनुसन्धान गर्न सरकारलाई आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दामा उत्प्रेषणको आदेश जारी गरेको हो । यससँगै काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ ।

बुधबार रिट निवेदकका तर्फबाट दिनेश त्रिपाठी, राजु चापागाईँलगायत कानुन व्यवसायीले सापकोटालाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्ने माग गरे । उनीहरूले टिआरसीमा पठाउँदा झन् ढिलाइ हुने भन्दै नियमित फौजदारी प्रक्रियाबाटै निरुपण हुनुपर्ने माग गरेका थिए । सापकोटाका कानुन व्यवसायीहरू रमनकुमार श्रेष्ठ, मुक्ति प्रधान, दीनमणि पोखरेललगायतले भने यो मुद्दा द्वन्द्वकालीन समयको र राजनीतिक प्रकृतिको भएकाले टिआरसीबाटै निरुपण हुनुपर्ने जिकिर गरेका थिए ।

यसअघि सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकेर निर्णय सुनाउन मात्र बाँकी रहेका बेला ९ असोज, २०८१ मा पुनः शून्यमा पुगेको थियो । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले १२ वैशाख २०८१ देखि निरन्तर सुनुवाइ गरेर निर्णय सुनाउन मात्रै बाँकी रहँदा मिसिल झिकाउने आदेश गरेको थियो । तर, प्रधानन्यायाधीश श्रेष्ठ त्यसको १० दिनपछि अवकाशमा गएसँगै सो मुद्दामा पुनः सुरुदेखि सुनुवाइ भएको हो ।

माओवादी विद्रोहका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै लामाकी पत्नी पूर्णिमाया लामाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले त्यो जाहेरी तामेलीमा राख्ने निर्णय गरेपछि पूर्णिमाया, मानवअधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए । पूर्णिमायाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै अर्को रिट निवेदन पनि दायर गरेकी थिइन् ।

द्वन्द्वकालमा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर लामालाई बेपत्ता पारेको आरोप छ । लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष थिए ।

प्रतिक्रिया