काठमाडौं । नेवार समुदायको धेरै चाडपर्व मध्येको एक हो, सिथि नखः पर्व । यो चाड अरूभन्दा भिन्न छ । यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ ।
सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ । नेवारहरुको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन यसरी नै पर्व मनाइन्छ।ग्रीष्म सकिएर वर्षा याम सुरु हुने बेला पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि मा सिथि नखः मनाइन्छ ।
लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने बताइन्छ । सिथि नखःका दिन मुहान सफा गर्यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । सिथि नखः को दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा रहेको छ ।
प्रतिक्रिया