काठमाडौँ । यस वर्षको मनसुन गत बिहीबार राति नै नेपाल भित्रिएको छ । सरदरभन्दा १५ दिनअघि नै पूर्वी भागबाट नेपाल प्रवेश गरेको मनसुनी प्रणाली विकसित भएर देशभर फैलिन भने केही दिन अझै लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका अन्य क्षेत्रमा पनि पानी परिरहेको भए पनि त्यो मनसुनी वर्षा नभई पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण भएको विभागले जनाएको छ । मनसुनी वर्षा सुरु भएको कोसी प्रदेशमा भने विपद् सुरु भइसकेको छ । शुक्रबार राति परेको अविरल पानीका कारण आएको बाढीले निर्माणाधीन एसियन हाइवेका ३ वटा डाइभर्सन बगाएको छ ।
झापा मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको एनिमल अन्डरपासको डाइभर्सन बाढीले बगाएको हो । एसियाली विकास बैंकको सहयोगमा १० अर्ब रुपैयाँ लगानीमा एसियन हाइवेको पूर्वीखण्ड स्तरोन्नति भइरहेको छ । राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती हुँदा बर्खामा के होला भन्ने त्रास थपिएको छ ।
यस्तै, झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेका छन् । मानवीय जोखिम नभए पनि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । मोरङको केसलिया खोलाको बाढी पनि बस्तीमा पसेको छ ।
यस्तै, शनिबार बिहानको अविरल वर्षाका कारण कोसी राजमार्गको धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ । सडकको पूरै भाग बगेपछि सडक अवरुद्ध हुँदा धनकुटा हुँदै भोजपुर, संखुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ ।
शुक्रबार रातिदेखि शनिबार बिहानसम्म कोसी प्रदेशका झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको छ । अझै पानी पर्ने सम्भावना रहेको भन्दै ती जिल्लाका साना तथा ठुला खोला र नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पूर्वी नेपालको झापा तथा धरान–धनकुटा सडक क्षेत्रमा बाढी पहिरोका घटना भएको र सो क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको काम भइरहेको बताएका छन् ।
प्रतिक्रिया